काठमाडौं । देशभर भइरहेको आन्दोलन र प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख प्रकट गरेको छ। आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको महासंघले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।
महासंघले एक विज्ञप्ति जारी गर्दै सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी र राजश्वको सदुपयोगजस्ता विषयमा युवापुस्ताले देखाएको चासोलाई विवेकपूर्ण रूपमा सम्बोधन गर्दै मुलुक समुन्नतितर्फ अघि बढ्ने अपेक्षा व्यक्त गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘नवनिर्माण र पुनर्निर्माणका लागि निजी क्षेत्र प्रमुख स्रोत हो, त्यसैले उद्यम व्यवसाय निर्वाध रूपमा सञ्चालन गर्न शान्ति–सुरक्षाको प्रबन्ध आवश्यक छ।
पछिल्लो घटनाक्रममा कतिपय उद्यमी व्यवसायीका उद्योग, कार्यालय र निवासमा तोडफोड तथा आगजनी भएका घटनाको महासंघले भर्त्सना गरेको छ। साथै व्यक्तिगत तथा व्यवसायिक सम्पत्तिमा आक्रमण नदोहोरिने सुनिश्चितताका लागि सबैलाई ध्यानाकर्षण गराएको छ। प्रारम्भिक मूल्याङ्कनअनुसार यसबाट अर्बौं रुपैयाँ बराबरको क्षति भएको र यसले राजश्व तथा कुल गार्हस्थ्य उत्पादनमा गम्भीर असर पार्ने चेतावनी दिइएको छ।
महासंघले निषेधाज्ञा वा कर्फ्यूका समयमा औषधि, खाद्यान्न, दूध, पानी, फलफूल–तरकारी, पेट्रोलियम पदार्थजस्ता अत्यावश्यक वस्तुको आपूर्ति अबाध राख्न माग गरेको छ। साथै, यसका लागि केन्द्र, प्रदेश र जिल्ला स्तरका सुरक्षा समितिमा महासंघका प्रतिनिधिलाई सहभागी गराउन पनि आग्रह गरेको छ।
त्यस्तै, गुणस्तरीय सामानको नियमित आपूर्ति सुनिश्चित गर्न उद्यमी व्यवसायीलाई आव्हान गर्दै महासंघले बजारमा अभाव सिर्जना हुन नदिने प्रतिबद्धता जनाउन अनुरोध गरेको छ। हाल अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भए पनि धेरै भन्सार नाका बन्द भएकाले अत्यावश्यक वस्तुको आयात–निर्यात सहज बनाउन नाकामा सुरक्षा व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ।
महासंघले स्मरण गराएको छ कि निजी क्षेत्रको योगदान ८१ प्रतिशत अर्थतन्त्रमा, ८० प्रतिशत राजश्वमा र ८६ प्रतिशत रोजगारीमा रहेको छ। स्थिरता, सुशासन र स्वतन्त्र व्यवसायिक वातावरणमार्फत मात्र लगानी, रोजगारी प्रवद्र्धन र समुन्नत समाज निर्माण सम्भव हुने भन्दै महासंघले सरकार, व्यवसायी र सम्पूर्ण पक्षलाई सहकार्यको आव्हान गरेको छ।