Logo

जेन जी प्रदर्शनमा भएको क्षतिप्रति महासंघद्वारा दूःख व्यक्त, आर्थिक वातावरण सुधार गर्न सरकार र दललाई आग्रह

जेन जी प्रदर्शनमा भएको क्षतिप्रति महासंघद्वारा दूःख व्यक्त, आर्थिक वातावरण सुधार गर्न सरकार र दललाई आग्रह



काठमाडौं । मुलुकभर जेन जी पुस्ताले विभिन्न सुधारका माग राखी सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षति प्रति नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख व्यक्त गरेको छ । प्रदर्शनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै महासंघले घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ ।

महासंघले मर्यादित रोजगारी, स्वरोजगारी, सर्वसाधारण एवं उद्यमी व्यवसायीले तिरेको राजश्वको सदुपयोग लगायतका विषयमा युवा पुस्ताले देखाएको चासोप्रति संवेदनशील हुन सरकार, राजनीतिक दललगायत सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

‘मुलुकमा थप निराशा र अशान्तिको वातावरण कहीं कतैबाट पनि सिर्जना नहोस् र शान्तिपूर्ण आन्दोलनमा अनावश्यक बल प्रयोग नहोस्,’ महासंघले ध्यानाकर्षण गराएको छ ।

सामाजिक न्यायसहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्याला सहितको मर्यादित रोजगारी सम्भव हुने भन्दै महासंघले आर्थिक गतिविधि चलायमान बनाउन र मुख्य पर्यटकीय समयमा नेपालबाट सकारात्मक सन्देश विश्वभर प्रवाह गर्न आग्रह गरेको छ ।

युवाहरूको चाहना अनुरूप सरकारी सेवामा सहज पहुँच, स्वतन्त्र पेशा–व्यवसाय गर्ने अधिकारको सुनिश्चितता, साथै लगानी एवं रोजगारी प्रवर्द्धनका लागि उपयुक्त वातावरण सिर्जना गर्न महासंघले सरकार र सरोकारवालामा अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्