Logo

नेप्सेमा निरन्तरको गिरावटले उच्च दबाबमा लगानीकर्ता, कारोबार करोडमा खुम्चिदा पेनिक बन्दै बजार

नेप्सेमा निरन्तरको गिरावटले उच्च दबाबमा लगानीकर्ता, कारोबार करोडमा खुम्चिदा पेनिक बन्दै बजार



काठमाडौं । पछिल्लो समय नेप्से परिसुचक सुस्त गतिमा घट्दा लगानीकर्ता भने बढी तनावमा देखिन थालेका छन् । नेप्से परिसुचक ३२ सय अंकबाट ओरालो लाग्दै १८ सय आसपास झर्दा धेरैजसो लगानीकर्ताले आफ्नो पोर्टफोलियोमा ५० प्रतिशतभन्दा बढी गुमाउन पुगिसकेका छन् । नेप्से बढ्दा आफ्नो पोर्टफोलियोमा सामान्य वृद्धि हुने तर घट्दा उच्च रुपमा गिरावट आउँदा लगानीकर्ताहरु थप निरास बन्न पुगेका हुन् ।

लामो समयदेखि गिरावट आएको नेप्से केही समयअघि सामान्य बढ्न पुगेको थियो । कतिपय लगानीकर्ता तथा विश्लेषकले बजारमा शुरु भएको वियरिस सकिएर बजारले बुलिस लय समात्न लागेको विश्लेषण गरेपनि नेप्से भने ठिक त्यसको विपरित घट्न थालेको छ । धेरैजसो लगानीकर्ताको नेप्से परिसुचक २ हजार अंक माथि रहँदै पोर्टफोलियोमा ५० प्रतिशतभन्दा बढीले गिरावट आएको र पछिल्लो समय सामान्य अंकले घट्दा पनि बढी पेनिक बनाउने गरेको सम्बद्ध लगानीकर्ताहरु नै बताउँछन् ।

‘हेर्दा नेप्से परिसुचक ८.१० अंकले घटेको जस्तो लाग्छ तर नेप्से उच्च अंकमा पुगेको समयको आफ्नो पोर्टफोलियोसँग तुलना गर्नेहो भने काहालीलाग्दो अवस्था छ,’ एक लगानीकर्ताले भने, ‘दैनिकजसो नेप्सेमा भैरहेको गिरावट र बैंकको मार्जिन कल तथा असोज मसान्तको प्रेसरले गर्दा हामी लगानीकर्ता ठूलो दबाबबाट गुज्रिरहेका छौं ।’

बैंकहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्मलाई लक्षित गरेर किस्ता तथा ब्याज असुलीलाई प्राथमिकता दिँदा त्यसको प्रत्यक्ष असर सेयर बजारका लगानीकर्तालाई पर्न गएको छ । पछिल्लो समय सेयर मुल्यमा उच्च गिरावट आउँदा भएको मार्जिन कलको दबाब र असोज मसान्तको दबाबले गर्दा लगानीकर्ताहरुमा एकपछि अर्को समस्या थपिएको एक लगानीकर्ताले जानकारी दिए ।

सोमबार बैंकिङ र उत्पादनमुलक समुहको उपसमुहमा सामान्य वृद्धि भएपनि अन्य सबै परिसुचकहरु ओरालो लागेका छन् । नेप्से परिसुचक ९।६९ अंकले घट्दै १८ सय ६० अंकमा झर्दा कारोबार रकम ८० करोड रुपैयाँमा खुम्चिएको छ ।

संघ तथा प्रदेशको चुनावका कारण बजार बढ्ने आस गरिए पनि बजारमा भएको लगानी योग्य रकमको अभाव, उच्च ब्याजदर तथा समग्र देशको आर्थिक स्थिती राम्रो नरहेका कारण सेयर बजारमा नयाँ लगानी भित्रिन सकेको छैन । बजारमा दैनिकजसो खस्किदो कारोबार रकम र घट्दो नेप्सेका कारण लगानीकर्ताहरु बढी तनावमा परेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL