Logo

नयाँ स्टक र ब्रोकर लाइसेन्स दिने ‘कमिटमेन्ट’ पछि बोर्डमा अध्यक्ष नियुक्त हुँदै

नयाँ स्टक र ब्रोकर लाइसेन्स दिने ‘कमिटमेन्ट’ पछि बोर्डमा अध्यक्ष नियुक्त हुँदै



काठमाडौं । धितोपत्र बजारको नियमन गर्ने नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अध्यक्ष नियुक्तिका लागि प्रतिस्पर्धाबाट छानिएका तीन जनाको नाम मन्त्रिपरिषदमा पुगेको छ । तर अध्यक्षको नियुक्ति विवादरहित भने बन्न सकेको छैन ।

नयाँ अध्यक्षका लागि पुँजीबजारका तमाम समस्या समाधान गर्नुपर्ने चुनौती त छन नै सङ्गै अध्यक्ष नियुक्त भएबापत गरिएका सम्झौता पूरा गर्नुपर्ने बाध्यता पनि छ । अहिले चर्चामा रहेको बिषय भने नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सको हो । नयाँ स्टक एक्स्चेञ्ज र ठूलो संस्यामा ब्रोकर लाईसेन्स वितरण गर्ने कमिटमेन्ट पछि नयाँ अध्यक्ष नियुक्त हुने बाटो खुला भएको हो ।

समाचार स्रोतका अनुसार बोर्डमा अध्यक्ष कसलाई नियुक्त गर्ने भन्ने सम्पूर्ण अधिकार प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई रहेको छ । यस अघि नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृत नियुक्ती अर्थमन्त्री एवं सरकारमा सम्मिलित दल माओवादीको कोटामा परेका कारण धितोपत्र बोर्डको अध्यक्ष भने नेपाली कांग्रेसको कोटामा परेको हो । सोही अनुरुप बोर्डको अध्यक्षमा अहिलेनै रमेश हमाल नियुक्त हुने निश्चितजस्तै भैसकेको उक्त स्रोतको दावी रहेको छ ।

धितोपत्र बोर्डमा अध्यक्ष पदमा आवेदन दिए देखिनै रमेश हमाल नियुक्त हुने पक्का जस्तै भएको सेयर बजारसँग सम्बद्ध स्रोतहरुले बताउँदै आएका थिए । अध्यक्ष पदका लागि १५ जना व्यक्तिले आवेदन दिएका थिए । जसमध्ये ५ जनाको सर्ट लिस्ट गर्ने जिम्मा विज्ञको रुपमा बोर्डकै पूर्व अध्यक्ष डा. रेवतबहादुर कार्कीलाई दिइएको थियो । उनले पनि ५ जनाको लिस्टमा हमाललाई राखेर सिफारिस गरेका थिए । सोही अनुरुप सोमबार बसेको सिफारिस समितिले ५ जनाबाट ३ जना सिफारिस गरेको छ । जसमा हमाल सहित कृष्णराज पोखरेल र डा. गोपाल भट्ट रहेका छन् ।

बोर्डका तत्काल अध्यक्ष भिष्म ढुंगानालाई पदमै रहेर स्वार्थ बाझिने गरी छोरीको नाममा सेयर किनेको भन्दै बर्खास्ती गरिएको थियो । त्यसयता उक्त पद खाली रहँदै आएको छ । अब बस्ने मन्त्रिपरिषद्को बैंठकले बोर्डको अध्यक्ष नियुक्त गर्ने समेत उक्त समाचार स्रोतले जानकारी दिएको छ ।

केही समय अघिसम्म बोर्डको अध्यक्षमा भट्ट नियुक्त हुने चर्चा रहेपनि अन्नतः हमाल नियुक्त हुने पक्का जस्तै भएको सम्बद्ध समाचार स्रोतले जानकारी दिएको छ । हमाल थाईल्याण्डका गैर आवासीय नेपालीका संस्थापक मध्येका एक हुन् । उनी यस अघि थाईल्याण्डमै रियल स्टेट व्यवसाय गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL