Logo

हामी कसैको दुष्प्रचार गर्दैनौं, जित सुनिश्चित छः उमेशलाल श्रेष्ठको अन्तरवार्ता

हामी कसैको दुष्प्रचार गर्दैनौं, जित सुनिश्चित छः उमेशलाल श्रेष्ठको अन्तरवार्ता



नेपाल उद्योग वाणिज्य महासंघमा रहेर सरकारसँग स्पष्ट रुपमा व्यवसायीक मुद्दा उठाउने व्यक्ति हुन महासंघको वस्तुगततर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठ । निर्भिक, निडर र सरकारसँग स्पष्ट रुपमा व्यवसायीक आवाज उठाउने शैलीकै कारण मतदाताहरुले उनलाई रुचाउने गरेका छन् । लामो समयदेखि व्यवसायमा संलग्न रहँदै साना देखि ठूलो व्यवसायसम्म सफलता पूवर्कक संचालन गरेका कारण पनि आफुहरुलाई सबैखालका उद्योगी व्यवसायीको समस्यामा वारेमा जानकार रहेको सोही अनुरुप सधामानका लागि सरकारसँग लविङ गर्दै आएको बताउँछन् । उनै श्रेष्ठसँग महासंघको आसन्न निर्वाचनको विषयमा केन्द्रित रहेर बिजखबरले गरेको कुराकानीको सार :

laxmi

एक भएर निजी क्षेत्रको आवाज उठाउनुपर्ने महासङ्घमा सधै चुनावको समयमा चरम ध्रुवीकरण देखिन्छ । नेतृत्वको सवालमा महासङ्घभित्र कहिलै सहमति हुनै नसक्ने भएको हो ?

महासङ्घमा यो मेरो पाँचौं निर्वाचन हो । महासङ्घमा ध्रुवीकरणभन्दा पनि हरेक तीन बर्षमा महाकुम्भ मेला जस्तै भएर आउँछ, निर्वाचन । मन मिल्ने साथीहरु एकातिर बस्छौं । तर त्यसो भन्दैमा अर्को पक्षका साथीहरुसँग मन नमिल्ने भन्ने चाहिँ होइन । जहाँसम्म पूर्वअध्यक्षहरुको कुरा छ मेरो विचारमा उहाँहरु एकदमै निष्पक्ष हुनुहुन्छ । तर उहाँहरुको पनि महासङ्घभित्र केही इच्छा छ होला । पूर्वअध्यहरुकै मेहेनतबाट महासङ्घ बनेको छ । आजसम्म १८ जना अध्यक्ष भैसक्नुभयो भने पर्सिबाट १९ जना अध्यक्ष महासङ्घको नेतृत्वमा पुग्नुहुन्छ । संस्थाका पूर्व अध्यक्ष भनेको मालामा जडित रत्नआभुषण जस्तो हो । अहिलेको समयमा पूर्व अध्यक्षहरु ध्रुवीकरण हुनखोज्नु भएको होइन केही व्यक्तिहरुले अनावश्यक विवादमा ल्याउन खोजेको मात्रै हो । त्यस विषयमा विवादमा तान्ने व्यक्तिहरुलाई नै सोध्दा उचित होला कि ।

महासङ्घको वरिष्ठ उपाध्यक्ष जो निष्पक्ष बस्नुपर्छ भनेर भन्दै आउनु भएको छ । यद्यपि तपाईहरुको आरोप छ कि वरिष्ठले कुनै एउटै टीमलाई बोकेर हिड्दा विधानको मर्म मर्यो । हुनुपर्ने चाहिँ के हो ?
विधानमा प्रष्टसँग लेखिएको छैन कि हुनेवाला अध्यक्ष वा वरिष्ठ उपाध्यक्षले कसैको पक्ष लिन हुँदैन भनेर । तर, विधान संसोधनको मर्मचाहिँ अध्यक्षको प्रत्यक्ष निर्वाचन हुँदा पक्ष विपक्ष हुने हुँदा सबैलाई समेटेर लैजाने उद्देश्य अनुरुप तीन बर्षको कुलिङ पिरियड राखेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको हो । यसमा वरिष्ठ उपाध्यक्षले विधानको मर्म नबुझेको जस्तो लाग्छ । अझै पनि त्यसो नगर्न म स्वत अध्यक्षः हुने व्यक्तिलाई आग्रह गर्दछु ।

हामीले निर्वाचनबाटै शेखर गोल्छा भनेको सक्षम व्यक्ति भनेर चुनेर ल्याएको व्यक्ति हो । तर तीन बर्षपश्चात उहिँ व्यक्ति खत्तम भयो भनेर त भन्न मिल्दैन । उहाँको क्षमतामा हामीलाई कुनै शंका छैन । आफ्नो व्यापार व्यवसाय सफलतापूर्वक चलाएर आएको व्यक्तिले महासङ्घको नेतृत्वमा रहेर पनि सोेही अनुरुप प्रोफेसनल्ली काम गर्नुहुन्छ भन्ने हामीलाई विश्वास छ । तसर्थ भोलीका दिनमा हाम्रो चन्द्र ढकाल नेतृत्वको टीमले बहुमत जितेर आएपनि शेखर गोल्छालाई काम गर्न समस्या पार्ने छैनौं । किनकि महासङ्घको अध्यक्ष असफल हुनु भनेको महासङ्घ असफल हुनु हो । र महासङ्घ असफल हुनु भनेको त्यहाँभित्र रहेका हामी सबै असफल हुनु हो । एकआपसका सानातिना कारणले हामीले महासङ्घलाई असफल हुन त दिँदैनौं नि । हामी त्यतिपनि विवेक नभएका व्यक्ति त होइनौं नि । शेखरजीलाई के समस्या पर्यो होला त्यसैले कसैको पक्ष लिनु भयो हो । म खुला हृदयको व्यक्ति हुँ त्यसमा मेरोतर्फबाट उहाँलाई छुट छ । यसमा मेरो भन्नु केही छैन ।

महासङ्घको निर्वाचनमा तपाईकै उम्मेदवारीको विषयलाई लिएर केही समस्या उत्पन्न भयो । के त्यो साँच्चिकै समस्या थियो कि त्यतिकै समस्या उत्पन्न गराईयो ?

विधानमा जे लेखेको छ हामीले त्यहि गरेका हौ । विधानमा प्रष्ट छ कि बस्तुगत संघहरुले दुईजना उम्मेदवार दिन चाहेमा एक जना अतिरिक्त सहित ३ जना प्रतिनिधि पठाउन सक्नेछ । त्यसमा विवाद झिक्नुपर्ने कारण नै छैन । तर कोही व्यक्तिको नेचरनै झगडा गर्ने सधैं विवादमै रमाउने खालको हुँदो रहेछ । यस विषयमा निर्वाचन कमिटिले त सहि निर्णय गरिदियो नि । यस विषयमा निर्वाचन कमिटिले मलाई पनि बोलाएर प्रश्न सोध्नु भएको थियो । मैले जे विधानमा छ त्यहिं देखाईदिए । यदि मेरो उम्मेदवारी अवैधानिक थियो भने त मेरो उम्मेदवारी नै खारेज भैहाल्थ्यो नि ।

तपाईं माथिको आरोप भनौं कि चुनावी एजेण्डा । तपाईले महासङ्घको नेतृत्वमा रहेर काम गर्न सकेन भन्ने आरोप पनि लगाउन थालेका छन् नि ?

मेरा प्रतिस्पर्धी मित्रहरुले यो विषय उठान गर्नुभएको छ । तर म कसरी र किन असफल भई भनेर देखाउन सकेका छैनन् । मैले आफुले गरेको कामको धेरै बखान गर्दिन । तर यसबीचमा मेरो समय कि महासङ्घमा कि त सिंहदरबारमै व्यवसायीका समस्या समाधान गर्न ढुकेर गयो । जसले भवानी राणा सफल अध्यक्ष, अन्य उपाध्यक्षहरु सफल भन्दै आएको छ, त्यहिं व्यक्तिले मलाई चाहिँ असफल घोषित गरेका छन । कसरी भयो त ? यदि कामको आधारमा मूल्याङ्कन गर्ने हो भने त सबैभन्दा बढी काम मैले नै गरेको जस्तो लाग्छ ।

‘चुनावी प्रचारको क्रममा अनर्गल प्रचार वा कसैको दुष्प्रचार गर्न हुँदैन भन्ने मेरो मान्यता हो । यदि कुनै व्यक्ति अरुको दुष्प्रचारमा लाग्छ भने त्यो हारको मनस्थिती हो । यस्ता विषयमा हामी एकदमै संयमीत छौं त्यसैले त हाम्रो टीमको जीत सुनिश्चित छ ।’

उदाहरणका लागि डेरीको समस्या पर्यो म नै खटेर समाधान गरे । महासङ्घका लागि मेरै नेतृत्वमा विर्तामोडमा ८ विगाहा जग्गा लिएका छौं । जसमा पूर्वी क्षेत्रका वनस्पतीहरु प्रशोधन गरिनेछ । मैले काम गरेको सयौं ओटा फेहरिस्त छ । तर सबै भनेर साध्य पनि छैन । जसले मलाई असफल भयो भन्दै आउनु भएको छ उहाँहरु पनि हाम्रै टीममा हुनुहुन्थ्यो त । तर उहाँहरुले व्यवसायीक हितका लागि के गर्नु भयो ? तसर्थ चुनावी प्रचारको क्रममा अनर्गल प्रचार वा कसैको दुष्प्रचार गर्न हुँदैन भन्ने मेरो मान्यता हो । यदि कुनै व्यक्ति अरुको दुष्प्रचारमा लाग्छ भने त्यो हारको मनस्थिती हो । यस्ता विषयमा हामी एकदमै संयमीत छौं त्यसैले त हाम्रो टीमको जीत सुनिश्चित छ । अरुको अनावश्यक दुष्प्रचार गरेर हामी हाम्रो टीमको जीत खेर फाल्न चाहदैनौं ।

अहिलेको निर्वाचनमा स्पष्ट दुई प्यानलमा चुनावी मैदानमा होमिनु भएको छ । यस्तो अवस्थामा आफ्नो टीमको जित सुनिश्चित गराउने आधार चाहिँ कसरी सुनिश्चित गर्दै हुनुुहुन्छ ?

मेरो अनुभव र महासङ्घभित्र रहेर १२ बर्षमा गरेको कामको आधार नै मुख्य हो । यसभन्दा अघि हामी तीन जना साथीहरु एउटै पदमा निर्वाचनमा भिडेका थियौं । तर मलाई ५० प्रतिशत मत दिएर जिताउनु भयो । म दुई चोटी कार्यसमिति सदस्यमा अत्याधिक मतले विजयी भएको थिए । मैले महासङ्घमा रहेर व्यवसायीक हकहितका लागि जे काम गरे त्यसैको मूल्याङकनको आधारमा मत दिनु भएको होइन र । यदि कसैले नेतृत्वमा रहेर व्यवसायीक हकहितभन्दा व्यक्तिगत हित हेर्छ भने त त्यस्ता व्यक्तिलाई साथीहरुले निर्वाचनकै माध्यबाट बहिष्कार गरिदिनुहुन्छ नि । एउटा स्तरभन्दा तल झरेर कसैको पनि दुष्प्रचार गर्नुहुँदैन, यो हाम्रो व्यवसायीक धर्म हो । तसर्थ म र मेरा टीमका साथीहरुले त्यस्ता काम गरेका छैनौं । हामी सबै एउटै डुङ्गामा सयर गरेका मित्र होइनौं र । चुनावमा दुई पक्षमा विभाजन भयौं भन्दै जे मन लाग्यो त्यहि भन्न मिल्छ र ?

अर्को कुरा मेरा टीममा रहेका साथीहरु धेरै अनुभवी हुनुुहुन्छ । १४ जना सदस्यमा ६ जना पुराना र ८ जना नयाँ सदस्यहरुलाई समेटेका छौं । अर्को क्षेत्रगत रुपमा पनि सबैलाई समावेश गरेका छौं । हाम्रो टीममा व्यवसायीक तथा जातीय हिसाबमा समेत वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षदेखि सदस्यहरुमा समेत समावेशिता छ । अर्को कुरा हाम्रो टीमको नेता वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल र मेरो जीवनको शुरुवाती कालखण्ड उस्तै उस्तै खालको छ । हामीले संघर्षमय जीवन विताएर यो अवस्थामा आईपुगेका छौं । यसबीचमा साना, मझौलादेखि ठूला व्यवसायीका समस्यासमेत राम्रोसँग बुझेका छौं ।

संघर्षका कुरा गर्दा आफ्नो जीवनमा कसरी व्यवसायीक संघर्षमा सफलता हातपार्दै महासङ्घको नेतृत्वसम्म आईपुग्नु भयो ?

मैले सुरुमा ६÷७ बर्ष नेपालको एरिया म्यानेजर भएर औषधि कम्पनीमा काम गरे । त्यहिं दौरानमा व्यापार पनि सुरु गरें । तर त्यसैबीचमा रोजगारी तथा व्यापार मात्रै गरेर केही हुँदैन भनेर बिहे भएको तेस्रो दिनमै रोजगारीबाट राजीनामा दिए । त्यसो गर्दा मेरो श्रीमती छक्क पर्नुभयो । के गरेको भनेर प्रश्न पनि आयो । तर मैले अब उद्योगमा प्रवेश गर्छु भनेर सन् १९८७ मा औषधि उद्योग नै स्थापना गरे । तर त्यसलाई धेरै समय सञ्चालन गरिन । यसबीचमा अरु व्यवसाय पनि गरे त्यति चित्त बुझेन । त्यसपछि फ्लोर हिमालनय भन्ने आयुर्वेद कम्पनी खोले जुन अहिले पनि छ विरगञ्जमा । तर मलाई बानी लागेको त एलोपेथिक औषधि बेच्ने नै हो । त्यसपछि १९९९ मा क्वेष्ट फर्मास्युटिकल्स भन्ने कम्पनी खोले । त्यसपछि अन्य व्यवसायमा पछाडि फर्केर हेरिन । मलाई लाग्छ यो कम्पनीको साख एकदमै राम्रो छ । यसका साथै आयात व्यापार पनि गर्दै आएको छु । तर म पैसाको धेरै भोको मान्छे पनि होइन । र महासङ्घमा पैसाको लोभ गर्ने व्यक्ति जानुपनि हुँदैन ।

महासङ्घमा तपाईले ४ कार्यकाल बिताई सक्नुभयो । आफै भन्दै हुनुहुन्छ महासङ्घमा गएर कमाउने पनि होइन तर महासङ्घको नेतृत्वमा जानका लागि चाहिँ के कुराले उत्प्रेरित गर्छ ?

महासङ्घको मेरो प्रवेश मेरो ईच्छामा भएको थिएन । मेरो संघ (नेपाल औषधि उत्पादक संघ) संस्थापक अध्यक्षले मलाई महासङ्घमा चुनाव लडाउन पठाउनुभयो । पहिलो निर्वाचनमै राम्रो मत ल्याएर जिते । धेरै साथीहरुले माया गर्नु भयो भने मैले पनि व्यवसायीक हितका लागि धेरै काम गरे । त्यसपछि नशाजस्तै लाग्न थाल्यो । साथीभाईहरुले मेरो स्वभाव बानी व्यहोराको कदर गर्दै महासङ्घभित्र निडर निर्भिक रुपमा व्यवसायीका समस्या राख्नसक्ने व्यक्तिलाई नेतृत्वमा पुर्याउनुपर्छ भने गत निर्वाचनमा उपाध्यक्ष पदमा उठाउनुभयो र जितेपनि ।

महासङ्घ नेतृत्वमा रहेका आफ्ना मतदाताका मर्म र भावनालाई कसरी सम्बोधन गर्नुभयो त ?

हाम्रो काम भनेको मतदाताको समस्या समाधान गर्ने हो । हामी बस्तुगत सदस्यको दुईथरी काम हुन्छ । एउटा आफ्नै संघको राम्रोसँग व्यवस्थापन गर्ने । वृहत रुपमा हेर्ने हो भने समग्र निजी क्षेत्रको आर्थिकस्तर सुधार गर्दै देशको आर्थिक विकासमा सहयोग पुर्याउने । मलाई लाग्छ यस्ता विषयमा म कहिले पनि पछाडि हटेको छैन । अहिले मलाई थुप्रै साथीहरुले सोध्नुहुन्छ तपाईहरुको चुनावी एजेण्डा के हो ? हाम्रो चुनावी एजेण्डा भनेकै व्यवसायीक हित हो । कुनै व्यवसाय तथा व्यवसायीलाई कुन समयमा कस्तो समस्या पर्छ त्यसबेला खटेर समस्या समाधान गर्न सक्नु नेतृत्वमा हुनुपर्ने गुण या क्षमता हो । महासङ्घमा रहेर आजका मितिसम्म मैले व्यक्तिगत कामका लागि कोहीसँग गएको छैन र जान्न पनि । यदि सामुहिक काम छ र त्यसले समग्र व्यवसायी तथा संगठनको हित गर्छ भने जहाँ पनि जान तयार छु र गएको पनि छु । यहि नै मेरो सफलता हो ।

प्रतिक्रिया दिनुहोस्
MBL