काठमाडौं । विश्वमा चलिरहेका दुई युद्ध रुस–युक्रेन युद्ध र इजरायल–हमास युद्धले हामीलाई अप्रत्याशित नतिजा दिएर चकित बनाइरहेको छ।
एकातिर सन् २०२४ इजरायलका लागि युद्धको वर्ष थियो भने अर्कोतर्फ हतियार अर्थतन्त्रका लागि ‘बम्पर नाफा’को वर्षको रूपमा इतिहास कायमसमेत गरेको थियो ।
विश्वव्यापी आलोचनाका बिचमा गाजा युद्ध, लेबनान र सिरियाको द्वन्द्वका बावजुद इजरायलले यस वर्ष हतियार बजारमा धेरै देशलाई उछिन्दै १४=८ बिलियन अमेरिकन डलरको हतियार बिक्री गरेको छ । कुनै समय विश्वको दोस्रो ठूलो हतियार निर्यातकर्ता रहेको रुस यस दौडमा ९२ प्रतिशतले पछि परेको छ।
इजरायलको रक्षा मन्त्रालयको प्रतिवेदन अनुसार २०२४ मा रक्षा निर्यातमा १३ प्रतिशतले वृद्धि भएको छ । जसअनुसार सन् २०२३ मा निर्यात १३ बिलियन डलर रहेकोमा सन् २०२४ मा १४=८ बिलियन डलर पुगेको छ । तर, जेम्सटाउन फाउन्डेसनले रिपोर्ट गरेको छ कि रूसको हतियार बिक्री २०१९–२०२१ को बीचमा आधा र २०२१–२०२४ बीच ९२ प्रतिशतले घटेको छ।
सन २०२४ मा इजरायलको हतियार बिक्री ५४ प्रतिशत त युरोपमा मात्रै थियो, जुन २०२३ मा ३५ प्रतिशतमा सिमित थियो। सबैभन्दा ठूलो सम्झौता एरो–३ मिसाइल रक्षा प्रणालीको लागि जर्मनीसँग ३=८ बिलियनमा सम्झौता भएको थियो, जसले युरोपमा इजरायली प्रविधिको ढोका खोलेको थियो । युरोपेली देशहरूले आफ्नो सुरक्षा र सैन्य क्षमता बलियो बनाउन रुसको सट्टा इजरायलबाट हतियार लिन थालेका छन् ।
जसअनुसार युद्दको बिचमा पनि इजरायलले मिसाइल, वायु रक्षा प्रणाली र रकेट ४८=५ प्रतिशत, बख्तरबंद सवारीसाधन ९ प्रतिशत, मानवसहित विमान ८ प्रतिशत, साइबर र खुफिया प्रणाली ४ प्रतिशत, ड्रोन र युएभीएस १ प्रतिशतलगायत निर्यात गरेर नयाँ रेकर्ड कायम गरेको छ।
विश्व बजारमा इजरायलको हिस्सा ३ दशमलव १ प्रतिशत मात्रै भए पनि यसको वृद्धिदर सबैभन्दा छिटो भएको मानिएको छ । गाजा, सिरिया, लेबनानजस्ता धेरै मोर्चामा लड्दा पनि इजरायलले आफ्नो सुरक्षा मात्र कायम राखेको छैन, विश्वभर हतियार बेचेर ठूलो नाफा पनि कमाइरहेको तथ्यांकले देखाएको छ । तुलनात्मक रूपमा रूस पनि युद्धमा फसेको छ तर सँगसँगै यसको हतियार बजार भने संकुचित भइरहेको छ।