काठमाडौं । पहलगाम आक्रमणपछि पाकिस्तानसँग बढ्दो तनावका बीच भारतले बुधबार जवाफी कारबाही गर्दै पाकिस्तानी विमानका लागि आफ्नो ‘एयरस्पेस’ हवाई क्षेत्र बन्द गरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार यो बन्द १ मेदेखि २३ मेसम्म लागू हुनेछ । यस सम्बन्धमा बुधबार साँझ एयरपोट्र्स अथोरिटी अफ इण्डिया (एएआई) ले एक नोटम (नोटिस टू एयरमेन) जारी गरेको छ ।
यो बन्द पाकिस्तानमा पञ्जिकृत विमान, पाकिस्तानी एयरलाइन्स र अपरेटरका तर्फबाट चल्ने, यसको स्वामित्व, या भाडामा दिइएका विमान भारतीय हवाई क्षेत्रमा प्रवेश गर्न पाउने छैनन् । यो प्रतिबन्द पाकिस्तानी सैन्य विमानमा पनि लागू हुने एक वरिष्ठ सरकारी अधिकारीले पीटीआईसँग भनेका छन् ।
भारत र पाकिस्तानबीच सिधा उडान छैन । पाकिस्तानी एयरलाइन्स सिंगापुर, मलेशिया र अन्य पूर्वी एशियाली देशमा आफ्नो उडानका लागि भारतीय हवाई क्षेत्रको प्रयोग गर्छन् । २२ अप्रिलमा पहलगाममा भएको आतंकवादी आक्रमणपछि पाकिस्तानविरुद्ध भारतले २३ अप्रिलमा कयौं कदम उठाएको थियो । यसमा सिन्धु जल सम्झौता निलम्बित, अटारीमा एक मात्र सञ्चालनमा रहेको क्रसिङ बोर्डर बन्द र राजनीतिक सम्बन्धलाई कम गरिएको थियो ।
यसको जवाफमा पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्दै तेस्रो देशमार्फत् भारतसँगको सबै व्यापार सम्बन्ध निलम्बित गरेको थियो । सिन्धु जल सम्झौतालाई लिएर पाकिस्तानले यदि पानी रोकियो भने त्यसलाई युद्धको सुरुवात मानिने चेतावनी दिएको छ ।