Logo

निर्यात व्यापार र जीडिपी अनुपात २० प्रतिशत पुर्याउने योजना, एनटीआईएसमा थपिए गाँजा र ढुंगा गिट्टी

निर्यात व्यापार र जीडिपी अनुपात २० प्रतिशत पुर्याउने योजना, एनटीआईएसमा थपिए गाँजा र ढुंगा गिट्टी



काठमाडौं । सरकारले आगामी ५ बर्षमा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा निर्यात व्यापारको अनुपात २० प्रतिशत पुर्याउने योजना अघि सारेको छ । हाल वस्तु तथा सेवा निर्यात र जीडीपीको अनुपात ६.३ प्रतिशत मात्रै छ । सोही अनुपातलाई बढाउन सरकारले नेपाल व्यापार एकिकृत रणनीति (एनटीआईएस) २०८० तर्जुमा गरी अघि बढाएको हो ।

यसका लागि सरकारले यसअघिको एनटीआईएस २०१६ लााई संशोधन र परिमार्जन गर्दै मन्त्रिपरिषदबाट स्वीकृत गरिसकेको छ । बैशाख २६ गते मन्त्रिपरिषदबाट स्वीकृत भएको उक्त रणनीतिमा निर्यात सम्भावना भएका विभिन्न वस्तुहरुको पहिचान, प्रवद्र्धन र बजारीकरण गरी निर्यात वृद्धि गर्ने उद्धेश्य राखिएको छ ।

आगामी ५ बर्षमा ४ खर्ब ६३ अर्ब २५ करोड रुपैयाँ बढी लगानी गर्ने योजना बनाईएको उक्त रणनीतिमा ३२ वस्तुहरुको निर्यात प्रवद्र्धन गरिने उल्लेख छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले कार्यान्वयन अघि बढाईसकेको उक्त रणनीतिका लागि आगामी आर्थिक बर्षको बजेटमार्फत आगामी आवका लागि करिव ४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

रणनीतिले निर्यात प्रवद्र्धन गर्नुपर्ने वस्तुको सूचीमा वर्तमान वस्तुहरु कृषिजन्य ५ र वनजन्य ३ गरे कुल ८, ठुला उद्योगले उत्पादन गर्ने ४, साना तथा घरेलु उद्योगबाट उत्पादित ५, उदियमान वस्तुहरु ११ र भविष्यमा सम्भावना हुन सक्ने नयाँ ४ वस्तुहरु यसमा समावेश गरिएका छन् ।

आगामी आर्थिक बर्षको बजेटमा व्यवस्था गरिएका औषधिय र औद्योगिक प्रयोगका लागि गाँजा, ढुंगागिट्टीलाई पनि यसमा समावेस गरिएको मन्त्रालयका सहसचिव गोविन्द कार्कीले बताए । उनका अनुसार गाँजा, अल्लो वा गाउँघरमा पाईने अन्य रेसादार वुट्यानबाट बन्ने कच्चापदार्थहरुको निर्यातलाई प्रवद्र्धन गरिनेछ ।

यस्तै यसपल्टको एनटीआईएसमा फलाम तथा स्टिल, लोक्ताबाट बनेको हातेकागज, गहना, पास्ता, पानी, मसला, कफी, छुर्पी, मह, बहुमूल्य पत्थर र ढुंगागिट्टी पनि समावेश गरिएको छ ।

यस्तै एनटीआईएसमा निर्यात सम्भाव्य सेवा क्षेत्रमा पर्यटन, सूचना प्रविधि, जलविद्युत, निर्माण सेवा र दक्ष तथा अर्धदक्ष कामदार पनि समावेस गरिएको छ । चालु आर्थिक बर्षको बजेटमा उल्लेख गरिएको नेपाली निर्माण व्यवसायीलाई विदेशमा पनि सेवा प्रवाह गर्न सक्ने गरी गरिएको व्यवस्थालाई पनि यसले समेटेको मन्त्रालयका उपसचिव बुद्धि प्रसाद उपाध्यायले बताए ।

यसको कार्यान्वयका लागि आवश्यक खर्च विभिन्न दातृ निकायहरु, सरकार तथा अन्य स्रोतबाट जुटाउने लक्ष्य लिईएको उनको भनाई छ । हाल नेपालको जीडीपी र व्यापार अनुपात ४८.१ प्रतिशत छ । आगामी ५ बर्षमा यो एनटीआईएसको कार्यान्वयपश्चाछ उक्त अनुपात ५५ प्रतिशत पुर्याउने लक्ष्य लिईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL