Logo

घट्यो लगानी प्रतिवद्धता, ६ महिनामा १ खर्ब ३९ अर्बको लगानी प्रस्ताव

घट्यो लगानी प्रतिवद्धता, ६ महिनामा १ खर्ब ३९ अर्बको लगानी प्रस्ताव



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो ६ महिनामा नेपालमा लगानी प्रतिवद्धता घटेको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पहिलो ६ महिनामा गत आवको सोही अवधिको तुलनामा ५१ अर्ब रुपैयाँ कम लगानी प्रतिवद्धता आएको हो ।

विभागका अनुसार गत आर्थिक बर्षको साउनदेखि पुस मसान्तसम्म १ सय ५५ परियोजनामार्फत १ खर्ब ९० अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको थियो । तर, उक्त लगानी प्रस्ताव चालु आवको सोही अवघिमा घटेर १ सय ४५ परियोजनामार्फत जम्मा १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको मात्र लगानी प्रतिवद्धता आएको छ ।

विभागका अनुसार यस अवधिमा नेपालमा ठुला, मझौला र साना क्रमशः ३९, ४१ र ६५ परियोजना विभागमा दर्ता भएका छन् । यी परियोजनाबाट ९ हजार ८ सय १६ जनाले रोजगारी पाउने प्रस्ताव गरिएको छ ।

यता विदेशी लगानी प्रतिवद्धतामा पनि गत आवको तुलनामा गिरावट आएको विभागको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार चालु आवको पहिलो ६ महिनामा नेपालमा आउने विदेशी लगानी प्रस्ताव गत आवको सोही अवधिको तुलनामा १३ अर्ब २६ करोड रुपैयाँको गिरावट आएको छ । गत आवको पहिलो ६ महिनामा नेपालमा १ सय २९ परियोजनामार्फत ३० अर्ब ५६ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको थियो ।

यो बर्षको पहिलो अर्धबार्षिकमा नेपालमा यस्तो लगानी प्रस्ताव खुम्चिएर १ सय ३१ परियोजनामार्फत जम्मा १७ अर्ब ३० करोड रुपैयाँ बराबरको मात्रै लगानी प्रस्ताव आएको हो । चालु आवको पहिलो ६ महिनामा आएको लगानी प्रतिवद्धतामार्फत ७ हजार ८ सय ४१ जनाले रोजगारी पाउने बताईएको छ ।

चालु आवको अर्धबार्षिक तथ्यांक सार्वजनिक गर्दै उद्योग विभागले यो बर्ष १ हजार ५ सय ५१ ट्रेडमार्क, ८ ओटो डिजाईन र एउटा प्याटेन्ट दर्ता भएको जानकारी दिएको छ । यस्तै यस अवधिमा ट्रेडमार्क सम्बन्धी ५७ ओटा मुद्धामाथि कारबाही भएको विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL