Logo

ग्राहक ठगी गर्ने एनसेललाई प्राधिकरणको कारबाही : जरिवाना सहित तिरायो १ अर्ब ११ करोड क्षतिपूर्ति, सेवा बन्द गर्न निर्देशन

ग्राहक ठगी गर्ने एनसेललाई प्राधिकरणको कारबाही : जरिवाना सहित तिरायो १ अर्ब ११ करोड क्षतिपूर्ति, सेवा बन्द गर्न निर्देशन



काठमाडौं । एनसेलले भ्रम पैदा गरी गैर कानूनी रुपमा ग्राहक ठगी गरेको भन्दै नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गरेको छ । एनसेल आजियटा नेपालले दूरसंचार ऐन २०५३ को दफा ४७ विपरित गैरकानूनी कार्य गरेको भन्दै प्राधिकरणले कारबाही गरेको हो । 

laxmi

एनसलले प्राधिकरणको निर्देशन र ऐन विपरित सेवा संचालन गरी ग्राहकसँग १ अर्ब ११ करोड रुपैयाँ गठी गरेको भन्दै कारबाही सहित उक्त रकम क्षतिपूर्ति भराउन निर्देशन दिएको छ । साथै उक्त रकम जुन ग्राहकसँग गठी गरेको हो सोही ग्राहकलाई क्षपूर्ति स्वरुप सम्बन्धित ग्राहककै मोवाईल नम्बर उक्त रकम ३ महिनाभित्र फिर्ता गर्न निर्देशन दिएको छ । ‘एनसेलले गेमलफ्ट, हुवाय एप ग्यालरी, दैनिक नविकरण, ३ दिने नविकरण, साप्ताहित नवीकरण तथा मासिक  नवीकरण प्याकेजगरी खरिद गरेबापत ग्राहकहरूसँग २०७५।०६।१५ देखि २०७७।०२।१८ सम्म १ अर्ब ११ करोड २९ लाख ६७ हजार रुपैयाँ ठगी गरेको भेटियो,’ प्राधिकरणले एनसेललाई कारबाही गरेको पत्रमा उल्लेख छ, ‘प्राधिकरण ऐन २०५३ को दफा ४७ को १ बमोजिम उक्त रकम ग्राहकलाई क्षतिपूर्ति वापत सम्बन्धित ग्राहककै मोबाइलमा फिर्ता गरी त्यसरी फिर्ता गरिएको रकम प्राधिकरणलाई जानकारी गराउनु ।’ साथै त्यसरी रकम फिर्ता लिन आउन ग्राहकलाई उपयुक्त संचार माध्यमहरुबाट जानकारी गराउन समेत उक्त निर्देशनमा भनेको छ । एनसेलले त्यस्ता सेवा संचालन गरी २०७७ जेठदेखि हालसम्म केकति रकम आर्जन गरेको छ सोको विवरण समेत १५ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

त्यसरी ग्राहकको रकम फिर्ता गर्दा ग्राहकको सेवा बन्द भएमा वा अन्य कुनै कारण ग्राहक पहिचान हुन नसकेको अवस्थामा फिर्ता हुन नसकेको रकम छुट्टै कोष खडा गरी उक्त कोषमा रकम जम्मा गरेर जानकारी गराउन समेत प्राधिकरणले निर्देशन दिएको छ । यसका साथै एनसेलले गैरकानूनी काम गरेको भन्दै ५० हजार जरिवाना समेत गरेको छ ।

एनसेलले प्राधिकरणको निर्देशन विपरित गेमलफ्ट, हुवाए एप ग्यालरीलगायत अटो नविकरण हुने सेवाहरु संचालन गरी ग्राहक ठगी गरेको भन्दै त्यस्ता सेवाहरू ७ दिनभित्र बन्द गर्न निर्देशन दिएको छ । साथै सेवा बन्द गर्नुअघि कुनै ग्राहकले त्यस्ता सेवा खरिद गरेका छन् भने सबै ग्राहकहरूलाई उक्त रकम उनीहरूकै खातामा फिर्ता गरिदिन समेत प्राधिकरणले एनसेललाई निर्देशन दिएको छ ।

यसैगरी विभिन्न ‘भास’ सेवा संचालन तथा भ्वाइस, डाटा र योजना संचालन गर्दा भिन्न भिन्न शब्दावली प्रयोग नगरी सामान्य उपझोक्ताले पनि बुझ्ने शब्द प्रयोग गर्न र ग्राहकले चाहेको समयमा सजिलै सेवा बन्द गर्न सक्ने व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ । साथै ग्राहकले कुन कुन भ्यालु एड सेवाहरू खरिद गरेका छन् र सोको दररेट कति लागिरहेको छ सो विषयमा सजिलै हेर्न मिल्ने गरी एनसेल मोबाइल एपमा उपलब्ध गराउनु पर्ने समेत निर्देशनमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्
MBL