Logo

सार्क राष्ट्रका अर्थमन्त्रीहरुको बैठक सम्पन्न, अर्थतन्त्र उकास्न सबै देश मिलेर जानुपर्नेमा जोड

सार्क राष्ट्रका अर्थमन्त्रीहरुको बैठक सम्पन्न, अर्थतन्त्र उकास्न सबै देश मिलेर जानुपर्नेमा जोड



काठमाडौं । परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले सार्क राष्ट्रको आर्थिक जनजिवन माथि उकास्न सबै देशहरु मिलेर अघि बढ्नुपर्ने बताएका छन् । बुधबार सार्क राष्ट्रका अर्थमन्त्रीहरुको १५ औं अनौपचारिक बैठकमा बोल्दै उनले उक्त कुराको जानकारी दिएका हुन् । उनले पछिल्लो ७ महिनादेखि विश्वभर फैलिएको कोरोना भाईरसको महामारीले सार्क क्षेत्रकै अर्थतन्त्रमा ठुलो संकट सिर्जना गरेको बताउँदै सबै राष्ट्र मिलेर जानुपर्ने बताए ।

उक्त बैठकमा उद्घाटन मन्तव्य दिँदै उनले कोभिड–१९ का कारण विश्व अर्थतन्त्रसंगै दक्षिण एशियाको अर्थतन्त्रमा पनि गम्भीर असर परेको र यसबाट मुक्त हुन सार्क राष्ट्रबीच पारस्परिक सहयोग र साझेदारीको महत्व बढेको बताए ।

उनले यस्तो संकटको समयमा स्रोत परिचालन, सहकार्य र साझेदारीले मात्रै सार्क क्षेत्रका जनताको स्वास्थ्य तथा आर्थिक जीवनको रक्षा गर्नु सम्भव हुने बताएका छन् । यसका लागि सार्कका आर्थिक संयन्त्रहरुलाई क्रियाशील बनाउदै आर्थिक पुनर्उत्थानका रणनीति तय गर्नुपर्ने, गरिब र मूलतः रोजगार गुमाएका श्रमिकको आर्थिक अवस्थामा सुधार ल्याउनु पर्ने र उनीहरुको मनोसामाजिक समस्या समेत सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

उक्त बैठकमा सार्कका महासचिव इसाला विराकुन, एशियाली विकास बैंकका उपाध्यक्ष शिसिन चेनले उदघाटन मन्तव्य राखेका थिए । ‘कोभिड–१९ र दक्षिण एशियाली अर्थतन्त्र’ विषयमा एशियाली विकास बैंकका प्रमुख अर्थशास्त्री यासायुक्ती सावादाले प्रस्तुति दिएका थिए । उक्त बैठकमा सार्क राष्ट्रका अर्थमन्त्रीहरु र प्रतिनिधीमण्डलका प्रमुखहरुले सार्कका औपचारिक संयन्त्रहरुलाई क्रियाशील बनाई दक्षिण एशियाली अर्थतन्त्रलाई गतिशील बनाउनु पर्ने धारणा व्यक्त गरेका छन् ।

प्रधानमन्त्री तथा अर्थमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्री ज्ञवालीले नेपाली प्रतिनीधिमण्डलको नेतृत्व तथा उक्त बैठकको अध्यक्षता गरेका थिए । एशियाली विकास बैंक र सार्क सचिवालयको समन्वयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको उक्त बैठक एशियाली विकास बैंकको वार्षिक बैठकको अवसरमा आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL