Logo

सार्क राष्ट्रहरुबीच प्रभावकारी सम्बन्धमा जोड दिन प्रधानमन्त्री प्रचण्डको सुझाव

सार्क राष्ट्रहरुबीच प्रभावकारी सम्बन्धमा जोड दिन प्रधानमन्त्री प्रचण्डको सुझाव



काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)ले सार्क राष्ट्रहरुबीच सुदृढ सम्बन्धमा जोड दिनुपर्ने बताएका छन् । सार्क चेम्बर अफ कमर्शका अध्यक्ष मोहम्मद जशिम उद्दिनको नेतृत्वमा नेपाल आएको व्यापारिक प्रतिनिधिमण्डलसँग भेट्दै उनले यस्तो बताएका हुन् ।

laxmi

दुईदिने भ्रमणका क्रममा सार्क चेम्बर प्रतिनिधिमण्डलले नेपालका परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउँद र सार्कका महासचिव मोहम्मद गोलम सरवारसँग भेट्दै ३९औँ सार्क बडापत्र दिवस र सार्क सीसीआईको कार्यकारिणी समितिको ८२औँ बैठक नेपालमा सम्पन्न गरिसकेको छ ।

उक्त प्रतिनिधिमण्डल र प्रधानमन्त्री प्रचण्डबीचको भेट सार्क संयन्त्रको पुनरुत्थान, ठूला कठिनाइ र उदीयमान चुनौतीका बाबजुद क्षेत्रीय सहयोग सुदृढ गर्ने महत्वमा केन्द्रित भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले विकास लक्ष्यतर्फ दक्षिण एसियाको प्रगति सुनिश्चित गर्न सार्कका सबै सदस्य राष्ट्रहरूले सम्भावना र उदीयमान अवसरहरूको खोजी र काम गर्नुपर्ने बताए । उनले नेपाल सार्कको अध्यक्ष भएकाले यस क्षेत्रका जनताको हितका लागि सार्कको पुनरुत्थानमा सार्कका सबै सदस्य राष्ट्रहरूसँग मिल्नुपर्ने बताएका छन् ।

सार्क सीसीआई (नेपाल) का उपाध्यक्ष चण्डीराज ढकाल र सार्क सीसीआई (बंगलादेश) का उपाध्यक्ष शफकत हैदर आ–आफ्नो देशको प्रतिनिधिमण्डलमा सहभागी थिए ।

यस्तै परराष्ट्रमन्त्री एनपी साउँदले उक्त प्रतिनिधिसँगको भेटमा सार्क राष्ट्रहरूबीच प्रभावकारी बहुपक्षीय सहयोगको महत्वमा जोड दिए । सार्क सीसीआईका अध्यक्ष मोहम्मद जशिम उद्दिनले यस क्षेत्रको आर्थिक लक्ष्य हासिल गर्न दक्षिण एसियाली व्यवसायी समुदायका लागि सरकारले गरेको सहयोगको महत्व उच्च रहेको बताए ।

यस्तै सार्क सीसीआई (नेपाल) का उपाध्यक्ष चण्डीराज ढकाल र सार्क सीसीआई (बंगलादेश) का उपाध्यक्ष शफकत हैदरले सार्कको भिजनलाई अगाडि बढाउन दक्षिण एसियाली राज्यहरूको निर्णायक भूमिका उल्लेख्य हुने बताए ।

एमडब्लुसीसीका अध्यक्ष डा. मरियम शकीलाले सार्वजनिक–निजी साझेदारीलाई बढावा दिन आग्रह गर्दै क्षेत्रीय समृद्धि हासिल गर्न सामूहिक प्रयासको आवश्यकतामा जोड दिए ।सार्क सीसीआईका महासचिव जुल्फिकार बटले सार्कको पुनरुत्थानमा सार्क सीसीआईको अथक प्रतिबद्धतालाई बढवा दिँदै गर्दै क्षेत्रीय विकास, कनेक्टिभिटी र आर्थिक सहयोगमा अप्रयुक्त सम्भावनाहरू खोज्नुपर्ने आवश्यकतामा जोड दिए ।

सार्कका महासचिव एच ई मोहम्मद गोलाम सरवरले दक्षिण एशियामा दिगो विकास लक्ष्यहरूको सामूहिक उपलब्धिमा योगदान पुर्याउने सामाजिक–आर्थिक पहलहरूलाई सहयोग गर्न सार्क सचिवालय पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । उनले उनले सार्क सचिवालयले सार्क समितिका बैठक, मन्त्रीस्तरीय बैठक र सार्क शिखर सम्मेलन सबै सार्क सदस्य राष्ट्रहरूसँग समन्वय गरी आयोजना गर्न आवश्यक पहल गर्ने प्रक्रियालाई तीव्रता दिने बताए ।

प्रतिनिधिमण्डलले सार्क क्षेत्रको विकास लक्ष्यप्रति साझा प्रतिबद्धताको प्रतीकका रूपमा ३९औँ सार्क बडापत्र दिवसको स्मरणमा केक काट्ने कार्यक्रम पनि आयोजना गरेको थियो ।

बैठकसँगै सार्क सीसीआईको ८२औँ कार्यकारिणी समितिको बैठक नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा काठमाडौंको याक एण्ड यति होटलमा सम्पन्न भएको छ ।

बैठकमा बंगलादेश, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकाका कार्यकारी समिति सदस्य तथा महासभा सदस्यहरुको सहभागिता रहेको थियो । बैठकमा बंगलादेश र श्रीलंकाका सार्क युवा उद्यमी मञ्चका सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL