Logo

रसुवागढी नाकाबाट २४ अर्ब रुपैयाँ राजस्व संकलन, एक हप्तामै उठ्यो साढे ३० करोड

रसुवागढी नाकाबाट २४ अर्ब रुपैयाँ राजस्व संकलन, एक हप्तामै उठ्यो साढे ३० करोड



काठमाडौं । रसुवागढी नाकाबाट २४ अर्ब ६६ करोड ७१ लाख ५० हजार रुपैयाँ राजस्व संकनल भएको छ । उक्त नाकाबाट सामान आयात निर्यात हुन थालेपछि प्राप्त राजस्वको यकिन तथ्याङ्क सार्वजनिक भएको छ ।

laxmi

विसं २०७२ मङ्सिर १५ देखि २०७६ मङ्सिर ७ सम्मको कूल भन्सार शुल्क तथा मूल्य अभिवृद्धि करसमेतको राजस्व २४ अर्ब ६६ करोड ७१ लाख ५० हजार रुपैयाँ संकलन भएको हो ।

नेपाली बजारका लागि चीनबाट आयात हुने मालवस्तुमा जुत्ता, चप्पल, बच्चाका खेलौना, थर्मस, यान्त्रिक पार्टपुर्जा, विद्युतीय सामान, लत्ताकपडा तथा खाद्यान्नलगायत सामग्रीको शुल्कवापत उक्त राजस्व प्राप्त भएको भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिएका छन ।

यसैगरी नेपालबाट चीनतर्फ बाँसबाट निर्मित मुढा, हस्तकला, क्युरियोका सामान, तामाका भाँडाकुँडा र गलैँचा रसुवागढी नाकाबाट जाने गरेको छ । चालु आवको साउनदेखि कात्तिक मसान्तसम्म हेर्दा लक्ष्यभन्दा ४६ प्रतिशत राजस्व वृद्धि भएकोे छ । सामान आयातको परिमाण बढेपछि भन्सार शुल्कसमेत दिनप्रतिदिन बढ्दै गएको छ ।

चिनियाँ सामग्री बोकेर भन्सार प्रवेश गरेका मालवाहक ट्रकमध्ये सरदर दैनिक ६०/७० वटा जाँच हुने गरेको छ । छिटोछरितोे जाँच परीक्षणका लागि ३० जाँचकी अहोरात्र खटिरहेको भन्सार कार्यालयले जनाएको छ । कर्मचारीको मेहनेतबाटै मङ्सिरको पहिलो हप्तामै ३० करोड ६० लाख रुपैयाँ भन्सार शुल्क असुली गर्न सफल भएको कार्यालयले जनाएको छ ।

पूर्वाधारको कमी, सडक जीर्ण र चाडपर्वका बेला ल्याइने सामान काठमाडाँै पुर्याउन राजमार्गमा हुने बाढीपहिराको समस्या जस्ता चुनौती भए पनि सडक सुधार र स्तरोन्नति तथा एकीकृत भन्सार तथा सुख्खा बन्दरगाह निर्माण अगाडि बढिरहेकाले अबको केही समयपछि नेपालको उत्तरी नाका व्यवस्थित र आकर्षण हुने अपेक्षा गरिएको प्रमुख भन्सार अधिकृत खड्काले बताए ।

घरेलु प्रयोजनका लागि भन्दै सानातिना पोके व्यापारीले दिनानुदिन बोकेर ल्याउने क्रम बढेपछि भन्सार शुल्क बेगरको सामान ल्याउन रोक लगाएको छ । जुन व्यापारीले व्यावसायिक प्रयोजनका लागि ल्याउने सबै प्रकारका सामानको परिमाणका आधारमा निर्धारित दररेटअनुसारको भन्सार शुल्क तिर्नुपर्ने र राजस्व चुहावट रोक्न सशस्त्र प्रहरी २१ नं गुल्मले पहरा दिइरहेको भन्सार कार्यालयले जनाएको छ ।

राजस्व चुहावट रोक्न नाकाको अलावा सम्भावित गौँडा र भन्सारको हातामा समेत आफ्नो गुल्मले गस्ती दिइरहेको सशस्त्र प्रहरी भन्सार सुरक्षा एवं राजस्व गस्ती २१ नं गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक लक्ष्मण थापाले बताए/रासस

प्रतिक्रिया दिनुहोस्
MBL