काठमाडौं । भोटेकोशी नदीको बहाव बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ । चीनको तिब्बत हुँदै रसुवागढी आइपुग्ने भोटेकोशी नदीमा एक्कासी बहाव बढेको हो ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बुधबार बिहान २ बजेतिरबाटै नदीमा पानीको बहाव बढेको जानकारी दिएका छन् । ‘नदीमा बहाव बढेकाले हामीले तल्लो तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्कता अपानाउन सूचना जारी गरिसकेका छौँ,’ उनले भने ।
नदीमा आएको बाढीले रसुवागढी नाकामा चिनियाँ पक्षले बेलिब्रिज राख्नका लागि बनाउँदै गरेको बाटो पनि बगाएको उनले जानकारी दिए । मंगलबार राति पानी परे पनि अहिले भने रसुवामा पानी नपरेको सहायक प्रजिअ अधिकारीले जानकारी दिए । बाढीले टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाँटा पनि बगाएको छ । बाढीले सडकमार्गमा व्यापक क्षति गरेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी हेमबहादुर शाहीले जानकारी दिए ।
‘गएको असार २४ गते आएको जत्रै ठूलो बाढी आएको छ,’ डीएसपी शाहीले सुनाए, ‘बाढीले ७/८ ठाउँमा सडक बगाएको छ ।’ बाढीले सडक बगाउँदा पासाङ ल्यामु सडकखण्ड अवरुद्ध भएको उनले बताए । ‘स्याप्रुवेसीदेखि टिमुरे–रसुवागढीसम्मका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ,’ शाहीले भने, ‘अहिले यो सडकखण्ड पूर्णरुपमा सडक अवरुद्ध । झण्डै सात–आठ ठाउँमा सडक बगाएको छ । क्षतिको सम्पूर्ण विवरण आइसकेको छैन ।’
‘गए राति रसुवा क्षेत्रमा ठूलो परेको छैन,’ उनले भने, ‘तिब्बततिर भएको वर्षाले यो बाढी आएको हो कि हिमताल फुटेर आएको हो, अहिले भन्न सकिने अवस्था छैन । तर, बाढी असार २४ कै जत्रो छ। तिब्बत क्षेत्रमा कतै हिमताल फुटेको पनि हुनसक्छ ।’
जिल्ला प्रशासन कार्यालय नुवाकोटले पनि त्रिशूली नदीमा जलसतह बढेको र आकस्मिक बाढी आएको रसुवाबाट जानकारी प्राप्त भएको उल्लेख गर्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय रसुवाले एक सूचना जारी गर्दै रसुवा भई बहने भोटेकोशी, त्रिशूली, लाङटाङ र चिलिमे खोलामा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको थियो ।
बाढीले नुवाकोट र रसुवाको सीमानामा पर्ने उत्तरगया धाम डुबानमा परेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग र चिनियाँ पक्षबाट समेत आगामी केही दिन यस क्षेत्रमा भारी वर्षाका कारण नदीमा बहाव बढ्न सक्ने जानकारी आएको उल्लेख गर्दै प्रशासनले सावधानी अपनाउन आग्रह गरेको थियो ।
यसअघि असार २५ गते पनि ल्हेन्दे खोलामा बाढी आउँदामा जनधनको ठूलो क्षति पुगेको थियो । असार २५ गते बिहान भोटेकोशी नदीमा बाढी आउँदा रसुवागढी तहसनहस भएको थियो । चीनको तिब्बत हुँदै बग्ने केरुङ र ल्हेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिंदा विनाशकारी रूप लिएको थियो । २५ गतेको भोटेकोशी नदीको बाढीमा परेर ११ शव तथा मानव अंग भेटिएका छन् । चिनियाँ नागरिक र सुरक्षाकर्मी सहित १७ जना बेपत्ता छन् ।