Logo

रसुवागढी नाका भदौभित्रै सञ्चालनमा आउने, सुख्खा बन्दरगाह अन्तै सार्ने तयारी

रसुवागढी नाका भदौभित्रै सञ्चालनमा आउने, सुख्खा बन्दरगाह अन्तै सार्ने तयारी



काठमाडौं । असार पहिलो साता रसुवाको ल्हेन्दे खोलामा आएको बाढीले बगाएको मितेरी पुलको काम भदौसम्ममा सम्पन्न हुने भएको छ । चिनियाँ पक्षले पुलका लागि धमाधम काम गरिरहेको र अबको एक महिनामा निर्माण सम्पन्न हुने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

चीनतर्फको सडक, नेपालतर्फको सडक, मितेरी पुल र नेपालको बन्दरगाहमै बाढीले वितण्डा मच्चाएपछि उक्त नाकामा हाल आवतजावत ठप्प छ । यो नाकाबाट गत आर्थिक बर्षमा मात्रै ८२ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने २ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

नेपालमा हुने कुल आयातको ४ प्रतिशत हिस्सा ओगट्ने यो नाका नै हाल तहसनहस भएपछि आयात निर्यात दुबै अवरुद्ध छ । हाल चिनियाँ पक्षले लगातार बेलिब्रिज निर्माणको काम गरिरहेको छ । यता नेपालतर्फको सडक मर्मतको कामपनि सोहीअनुसार अघि बढिरहेको गजुरेलले बिजखबरलाई बताए । ‘बेलिब्रिज र नेपालतर्फको सडक मर्मतको काम भदौ अन्तिमसम्ममा मात्रै सम्पन्न हुन्छ होला,’ उनले भने, ‘चिनियाँ पक्षले बेलिब्रिजको काम धमाधम सुरु गरिसकेको छ ।’

तातोपानी नाकाले हाइसन्चो

बेलाबेलामा विभिन्न कारणले बन्द भइराख्ने यो केरुङ नाका यसपटक प्राकृतिक प्रकोपका कारण बन्द भयो । मितेरी पुल बगाउने बेलासम्म नेपाल भित्रिनका लागि चीनतर्फ आइसकेका कन्टेनरहरु उतै थन्किए । तर, दशैं तिहारलगायतका लागि आयात गरिएका वस्तुहरु बढी नै भएपछि व्यापारीहरुले ती कन्टेनरहरु केरुङबाट फर्काएर तातोपानी नाकाबाट भित्र्याइसकेका छन् । यसरी केरुङ नाकाका कन्टेनर तातोपानी नाकामा ल्याउँदा केही ढुवानी लागत बढेपनि त्यति असहज भने नभएको नेपाल चेम्बर अफ कमर्शका पूर्व अध्यक्ष राजेन्द्र मल्ल बताउँछन् ।

रसुवागढी नाका ठप्प हुँदा पनि तातोपानी नाका संचालनमै भएका कारण हाइसन्चो भएको उनको भनाई छ । बाढीका कारण रसुवागढीको मितेरी पुलमा समस्या आएपनि नेपाल आयात हुन लागेका केहि कन्टेनरहरु चीनतर्फ रोकिएका थिए । उक्त कन्टेनरहरुलाई पनि हाल त्यहाँबाट फर्काएर तातोपानी नाकाबाट नेपाल भित्र्याइसकेको उनले बताए । त्यसबेला केरुङमा रहेका कन्टेनरमा भएको सामान तातोपानी नाकाबाट ल्याउँदा केहि लागत महंगो भएपनि अब सिंगात्सेबाट सिधै तातोपानीकै लागि कन्टेनर छुट्ने भएपछि लागतमा पनि केहि फरक नपर्ने उनको भनाई छ ।

‘रसुवागढी नाका विग्रँदैमा खासै ठुलो तात्विक फरक भने परेको छैन’ उनले भने, ‘त्यसको विकल्पमा तातोपानी नाका भएकाले त्यहाँ केहि चाप भने पक्कै छ ।’ उनले तातोपानीजस्तै अन्य कोरला, हुम्लाको हिल्सालगायतका नाकाहरु पनि संचालनमा ल्याउन पहल गर्नुपर्ने बताए । ‘एउटा नाकामा केहि समस्या परे अर्काे नाकालाई विकल्पका रुपमा प्रयोग गर्न सकिनेगरी अन्य नाकाहरु पनि सुचारु गर्न सकिए झन राम्रो हुने हो,’ उनले भने, ‘यसका लागि सरकारले आन्तरिक योजनासँगै कुटनीतिक वार्ताको आवश्यकता पर्दछ त्यो तत्काल गर्नुपर्ने देखिन्छ ।’ उनले चाडपर्वको सिजन नजिकिँदै गर्दा चीनबाट आउनुपर्ने सामानहरु आउने भएकाले तातोपानी नाकामा भने चाप परेको बताए । यद्यपी यहि समयमा केरुङ नाका चाँडोभन्दा चाँडो संचालनमा ल्याउन सके तातोपानी नाकाको चाप कम गर्न सकिने उनले बताए ।

बन्दरगाह अन्तै सार्ने तयारी

ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुलमात्रै बगाएन नेपालतर्फको सुक्खा बन्दरगाह पनि ध्वस्त बनायो । व्यापारीहरुले आयात गरेको लाखौं बराबरको सामानका कन्टेनर र स्वयं बन्दरगाह नै बगाएपछि अब बन्दरगाह त्यहाँ उचित नहुने भन्दै चिनियाँ पक्षले नेपाललाई सुझाव दिएको छ । बाढी आइरहने र पहिरोको पनि खतरा हुने भन्दै चिनियाँ पक्षले नेपाललाई उक्त बन्दरगाहका लागि उपयुक्त स्थान खोज्न सुझाव दिएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

सोही सुझावअनुसार समितिले पुरानो बन्दरगाहको सट्टा नयाँ बन्दरगाह निर्माणका लागि उचित स्थान खोजिरहेको उनले बताए । ‘चिनियाँ पक्षले अहिले बन्दरगाह रहेको स्थान आगामी दिनका लागि उपयुक्त नहुने सुझाव दिएको छ,’ उनले भने, ‘हामीले सोही अनुसार एक कार्यदल बनाएर नयाँ स्थान खोज्न सुरु गरिसकेका छौं ।’ अब बन्दे नयाँ बन्दरगाहका लागि नयाँ स्थान खोजिका लागि टोलि खटिइसकेको उनले बताए ।

रसुवागढी नाकाबाट नेपालले जलविद्युत आयोजनाका लागि आवश्यक उपकरण, तयारी पोशाक, गार्मेन्ट उद्योगका लागि कच्चा कपडा, गाडी, खाद्यान्नमा ओखर, लसुन, स्याउलगायतका वस्तुहरू आयात गर्छ । चाडपर्वको समयमा विद्युतीय सामग्री, ड्राइफ्रुट्सजस्ता वस्तुहरूको आयात यो नाकाबाट झनै बढ्छ ।

यी वस्तुहरू नेपाली बजारमा विशेष माग हुने र चाडपर्वको समयमा उपभोक्ताहरूको आवश्यकता पूरा गर्ने भएकाले यो नाका आर्थिक दृष्टिकोणले अझ महत्त्वपूर्ण बन्छ । तर, बाढीले मितेरी पुल मात्र नभई नेपालतर्फको करिब १२ सय मिटर सडक र विभिन्न १० स्थानमा बाटो भत्काएको छ । यसले नेपाली व्यापारीहरूले आयात गरेका र निर्यातका लागि तयार पारिएका कन्टेनरहरूलाई समेत ठूलो क्षति पुर्याएको छ । बाढीले लत्ताकपडा, जुत्ताका लागि आवश्यक कच्चा पदार्थलगायत करोडौँ मूल्यका सामानहरू नष्ट भएका छन्, जुन दसैँका लागि आयात गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्