Logo

पूर्वाधारमा लगानीको जिम्मा निजी क्षेत्रलाई दिनुपर्नेमा अर्थमन्त्रीको जोड, सीसीडी रेसियोबारे यसो भन्छन गभर्नर

पूर्वाधारमा लगानीको जिम्मा निजी क्षेत्रलाई दिनुपर्नेमा अर्थमन्त्रीको जोड, सीसीडी रेसियोबारे यसो भन्छन गभर्नर



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले निजी क्षेत्रका लगानीकर्तालाई पूर्वाधार तथा विकासमा लगानी गर्ने मौका दिनुपर्ने बताएका छन् । काठमाडौंमा बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफीज)ले आयोजना गरेको आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी विषयक कार्यक्रममा उनले पूर्वाधार क्षेत्रमा पनि निजी क्षेत्रलाई प्राथमिकता दिएर लगानीका लागि आकर्षित गर्नुपर्ने बताएका हुन् । ‘निजी क्षेत्रले अब पूर्वाधारको क्षेत्रमा पनि लगानी गर्न ध्यान दिनुपर्छ,’ उनले भने, ‘यस्तो भएको खण्डमा नेपालमा विकास निर्माणका कामहरु भनबमोजिम मजबुत र तिव्र हुनेथिए ।’ उनले ठुला पूर्वाधारहरुमा निजी क्षेत्रले बिशेष ध्यान दिएर लगानी गर्नुपर्ने बताएका छन् ।

निजी क्षेत्रको नेतृत्वले नेपालको आर्थिक विकासमा ठुलो योगदान पुगिरहेको बताउँदै उनले पुँजीगत खर्च बढाउनेमा ध्यान दिनुपर्ने जानकारी दिए । उनले पछिल्लो समय निजी क्षेत्र र सरकारबीचको आपसी सम्बन्धी बढ्दै गएकाले अब निजी क्षेत्रका हरेक गुनासाहरु सरकारी पक्षबाट सुनुवाई हुँदै आएको समेत बताए । उनले पछिल्लो समय व्याप्त न्युन पूँजीगत खर्चका बारेमा पनि समस्या उत्पन्न भएको बताएका छन् ।

बजेट खर्च र बजेट प्रणाली नै अस्तव्यस्त भएकाले बजेटखर्च भनेबमोजिम हुन नसकेको बताएका छन् । उनका अनुसार नेपालमा कुनै कुराको कमी नभएपनि त्यसको व्यवस्थापन गर्न नजान्द अर्थतन्त्र नै भनेबमोजिम अघि बढ्न नसकेको हो ।

यस्तै कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हटाईएको कर्जा पूँजी निक्षेप अनुपात (सीसीडी) रेसियो पुनः नब्युताउने संकेत दिएका छन् । कार्यक्रममा उनले पछि ओत लाग्ने ठाउँ नै नरहने अवस्था आएपछि सीसीडी रेसियो खारेज गर्नुपरेको बताए । उनले यसले केहि समुहलाई अप्ठ्यारो अवस्था आएपनि दिर्घकालमा सकारात्मक असर पर्ने बताएका हुन् । उनले अर्थतन्त्र जोगाईराख्न भएपनि बैंकको ब्याजदरमा आफूहरुले हस्तक्षेप नगरेको दाबी गरेका छन् । पछिल्लो समय बजारमा सिसीडी रेसियो खारेज र सीडी रेसियो कार्यान्वयनका कारण नै तरलताको अभाव भएको आरोप लाग्दै आएको छ ।

कर्जा पुँजी निक्षेप अनुपात (सीसीडी रेसियो) हटाएर कर्जा निक्षेप अनुपात कार्यान्वयनमा ल्याएकै कारण लगानी योग्य रकम (तरलता) मा समस्या नभएको समेत उनको भनाइ छ । हरेक वर्ष कुनै न कुनै हिसाबले तरलता समस्या देखिने गरेको उनले बताए । तर यस वर्ष अलि धेरै समस्या देखिएको भन्दै उनले बजारमा तरलता सहज होस् भनेर राष्ट्र बैंकले बेलाबेलामा पैसा पठाइरहेको उनले बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यष शेखर गोल्छाले कोरोना पछिको पुनरुत्थानमा नेपाल राष्ट्र बैंकको ठुलो हात रहेको बताए । उनले विश्वका धेरै देशहरुले महामारीका कारण धरापमा रहेका उद्योग व्यवसायलाई आर्थिक प्याकेजको घोषणा गरिरहँदा नेपालले भने त्यो गर्न नसकेपनि चाँडै रिकभर गर्न सकेको छ । नेपाल राष्ट्र बैंकले तरलताको व्यवस्थापन सरल ढंगले गरेकाले यो सहज भएको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL