Logo

२ महिनामै ३३ अर्बको वैदेशिक लगानी प्रतिवद्धता, कृषिमुलक क्षेत्रमा उल्लेख्य आकर्षण

२ महिनामै ३३ अर्बको वैदेशिक लगानी प्रतिवद्धता, कृषिमुलक क्षेत्रमा उल्लेख्य आकर्षण



काठमाडौं । चालु आर्थिक बर्षको पहिलो २ महिनामा नेपालमा ३३ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता (एफडीआई) आएको छ । उद्योग विभागले हालै सार्वजनिक गरेको तथ्यांकलाई आधार मान्दा गएको साउन र भदौ महिनाभरी ३३ अर्ब ९ करोड २० लाख ५४ हजार रुपैयाँ बराबरको एफडीआई आएको हो ।

विभागका अनुसार यस अवधिमा स्वचालित मार्गमार्फत १ अर्ब ३६ करोड ८२ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आउँदा रेगुलर रुटमार्फत ३१ अर्ब ७२ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यस अवधिमा उक्त लगानी बराबरका २ सय ३६ परियोजना दर्ता भएका छन् ।

उद्योग विभागको तथ्यांकलाई आधार मान्दा यस अवधिमा आएको विदेशी प्रतिवद्धतामध्ये सबैभन्दा बढी कृषि क्षेत्रमा आएको देखिन्छ । साउन र भदौमा कृषि क्षेत्रका ९ परियोजनामार्फत २१ अर्ब ५९ करोड रुपैयाँ बढीको लगानी प्रतिवद्धता आएको हो । यो यस अवधिमा आएको कुल लगानी प्रतिवद्धताको ६५ प्रतिशत बढी हो । यता परियोजनाका आधारमा सबैभन्दा धेरै परियोजना भने संचार तथा सूचना प्रविधितर्फ १ सय २० परियोजना दर्ता भएका छन् । तर, यो क्षेत्रमा जम्मा ५६ करोड २७ लाख रुपैयाँ बराबरको मात्रै लगानी प्रतिवद्धता आएको देखिन्छ ।

यस्तै कृषि क्षेत्रपछि सबैभन्दा बढी लगानी प्रतिवद्धता आएको क्षेत्रमा पर्यटनमुलक क्षेत्र परेको छ । पछिल्लो २ महिनामा यो क्षेत्रका ७९ परियोजनामार्फत ६ अर्ब ६९ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता भित्रिएको देखिन्छ ।

उद्योगको आकार अनुसार यस अवधिमा सबैभन्दा धेरै परियोजना साना लगानीका छन् । पछिल्लो २ महिनामा नेपालमा दर्ता भएका परियोजनाहरुमध्ये साना लगानीका परियोजनामार्फत २ सय २५ बढी छन् ।

प्रतिक्रिया दिनुहोस्