काठमाडौं । बैंक तथा वित्तीय संस्थाको खराब कर्जाको अवस्थामा अझै सुधार आउन सकेको छैन । पछिल्लो १ वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा समग्रमा ०.७६ प्रतिशत विन्दुले बढेको छ । नेपाल राष्ट्र बैंकको साउन मसान्तसम्मको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरुको समग्रमा खराब कर्जा ४.६२ प्रतिशत रहेको छ । विसं २०८१ को साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ३.८६ प्रतिशत थियो ।
२०८२ को साउन मसान्तमा वाणिज्य बैंकको खराब कर्जा ४.४४ प्रतिशत, विकास बैंकको ५.०३ प्रतिशत र फाइनान्स कम्पनीहरुको खराब कर्जा ११.०५ प्रतिशत रहेको छ । २०८१ को जेठमा वाणिज्य बैंकको खराब कर्जा ३.७६ प्रतिशत, विकास बैंकको खराब कर्जा ३.६२ प्रतिशत र फाइनान्स कम्पनीहरुको खराब कर्जा ९.८७ प्रतिशत थियो । तथ्यांकहरुले बैंकहरुको खराब कर्जा अनुपात वर्षेनिजसो बढ्दै गएको देखाएको छ । पछिल्ला वर्षहरुमा अर्थतन्त्रमा आएको मन्दीले चौतर्फी असर गरेको छ । यसको प्रभाव बैंकिङ क्षेत्रमा पनि देखिएको हो ।
नेपालमा बैंक तथा वित्तीय संस्थाले छोटो समय अवधिदेखि लामो समय अवधिसम्मको लागि ऋण गर्ने गरेका छन् । पछिल्लो केहि वर्षयता मुलुकको अर्थतन्त्रमा आएको सुस्तताको कारण कर्जा प्रवाह हुन सकेको छैन । बैंक तथा वित्तीय संस्थाले गरेको ऋण लगानी समयमा उठाउन नसकेको बैंकरहरु बताउँछन् । यसको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जामा परेको छ ।
