Logo

बैदेशिक लगानी ५ अर्बले बढ्दा खस्कियो स्वदेशी लगानी, फिटा ऐनको प्रभाव स्वदेशी लगानीमा

बैदेशिक लगानी ५ अर्बले बढ्दा खस्कियो स्वदेशी लगानी, फिटा ऐनको प्रभाव स्वदेशी लगानीमा



काठमाडौं । पछिल्लो समय मुलुकमा वैदेशिक लगानी थप आकर्षित भएपनि स्वदेशी लगानी भने घटेको छ । गत आर्थिक बर्षको पहिलो ४ महिनाको तुलनामा चालु आवको सोही अवधिमा स्वदेशी लगानी प्रतिवद्धता घटेको हो । सरकारले लगानी आकर्षित गर्न विभिन्न कार्यक्रम, सम्मेलन आयोजना गरेपनि स्वदेशी लगानीमा भने त्यसको असर नकारात्मक देखिएको छ ।

उद्योग विभागका अनुसार चालु आवको कार्तिक मसान्तभित्र ६९ अर्ब ४५ करोड रुपैयाँको स्वदेशी लगानी प्रतिवद्धता आएको छ । तर गत आवको सोही अवधिमा ७० अर्ब ७९ करोड रुपैयाँ बराबरको स्वदेशी लगानी प्रतिवद्धता आएको थियो । जुन सवा १ अर्बले बढी हो ।


सरकारले औद्योगिक व्यवसायय ऐन र वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी ऐन (फिटा) लागु गर्दा स्वदेशी लगानीमा असर परेको उद्योग विभागका प्रवक्ता विनोद खड्काले जानकारी दिए । उनका अनुसार सरकारले उक्त ऐन लागु गर्दा साना उद्योग दर्ता हुने क्रम केही मात्रामा घटेकाले त्यसको प्रत्यक्ष असर स्वदेशी लगानीमा परेको हो । सोही ऐनका कारण ६ अर्बभन्दा माथि लगानी भएका उद्योगहरु लगानी बोर्डमार्फत जाँदा प्रतिवद्धता कम आएको जस्तो देखिएको उनको भनाई छ । यस्तै विभागमा हाल ५ अर्बभन्दा कम लगानीका उद्योगहरु पनि दर्ता हुने क्रम घटेको उनले जानकारी दिए ।

स्वदेशी लगानी प्रतिवद्धतामा आकर्षण घटेपनि वैदेशिक लगानी प्रतिवद्धतामा भने निराशाजनक अवस्था नरहेको उनको भनाई छ । गत आवको पहिलो ४ महिनामा ११ अर्ब ९३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएकोमा चालु आवको सोही अवधिमा उक्त प्रतिवद्धता ५ अर्बले बढेको छ । चालु आवको कार्तिक मसान्तसम्म नेपालमा १७ अर्बको वैदेशिक लगानी प्रतिवद्धता आएको छ ।

विभागका अनुसार चालु आवको पहिलो ४ महिनामा वैदेशिक लगानी पर्यटन क्षेत्रमा आकर्षित भएको छ । कार्तिक मसान्तसम्म पर्यटन क्षेत्रका ४६ ओटा उद्योगमार्फत मात्रै ६ अर्ब ८५ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको छ । यस्तै गत बर्षको सोही अवधिमा यो क्षेत्रका ५५ ओटा उद्योगमार्फत ४ अर्ब ९४ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL