काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को वित्तिय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५७२.५१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १४ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी २ अर्ब ६ करोड रुपैयाँ रहेको छ । यो अघिल्लो आवको तुलनामा १७३.०१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीको कुल आम्दानी ७५ करोड ५४ लाख रूपैयाँ रहेको थियो ।
कम्पनीले सिमेन्ट बिक्री गरेर ९ अर्ब ५५ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आवको तुलनामा ४९.८७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ६ अर्ब ३७ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको थियो।
कम्पनीको अन्य आम्दानी ५ करोड ९ लाख रुपैयाँबाट बढेर १६ करोड १९ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो आवको तुलनामा २१८ प्रतिशतले बढी हो ।
कम्पनीको खर्च ६१ करोड ४१ लाख रूपैयाँबाट बढेर ९४ करोड ८१ लाख रुपैयाँ पुगेको छ । ४ अर्ब ९७ करोड रुपैयाँबराबरको चुक्तापुँजी रहेको कम्पनीको रिभ्यालुएसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ५ अर्ब २५ करोड र कुल चालु दायित्व ४ अर्ब २६ करोड रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २०.१९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३०१.९२ रुपैयाँ र तरलता अनुपात १.२३ प्रतिशत कायम भएको छ ।