Logo

कम्युनिष्ट नेतृत्वको सरकार गठनसँगै चिनियाँ नाका खुल्नु नेतृत्व परिवर्तनको प्रभाव कि संयोग ?

कम्युनिष्ट नेतृत्वको सरकार गठनसँगै चिनियाँ नाका खुल्नु नेतृत्व परिवर्तनको प्रभाव कि संयोग ?



काठमाडौं । पछिल्ला केहिदिनयता नेपालले चिनतर्फ गर्ने निर्यातका लागि बाटो खुलेको छ । गएको ३१ महिनादेखि निर्यात वन्द रहेका रसुवागढी र तातोपानी नाकाबाट चीनले वस्तु आयात तथा निर्यात खुला गरिदिएको छ । त्यतिमात्रै होईन हुम्लाको हिल्सा नाका पनि बुधबारदेखि संचालमा आएको छ भने चिनियाँ कम्पनीले ठेक्का पाएका आयोजनामा चिनियाँ कामदारहरु फर्किन थालेका छन् । चीनले पछिल्लो ४ दिनदेखि गरिरहेका यस्ता क्रियाकलापलाई कतिपयले नयाँ राजनीतिक नेतृत्वमो प्रभाव मानेका छन् । अर्थात, कांग्रेस गठबन्धनको सरकार हुँदासम्म नेपाललाई अवज्ञा गरिरहेको चीनले कम्युनिष्ट सरकार गठन भएसँगै खुसी भएको संज्ञा दिईरहेका छन् कतिपयले । तर, जानकारहरु भने यसलाई संयोग मात्रै मान्छन् ।

२०७८ को चैतदेखि विश्वभर फैलिएको कोरोना महामारीको संकटका कारण चीनले उत्पादनदेखि आयात निर्यातमासमेतमा ठुलो प्रतिवन्ध लगाएको थियो । विश्व अर्थतन्त्रकै ठुलो हिस्सा ओगट्ने चीनले व्यापार ठप्प गरेपछि विश्व अर्थतन्त्रमै खलबली मच्चियो, त्यसको असर अझै पनि देखिईरहेकै छ ।

अझ नेपालको असल छिमेकी र वैदेशिक व्यापारका हिसावले दोस्रो ठुलो मानिएको चीनले नेपालतर्फ हुने निर्यातमा कोटा प्रणाली र आयात ठप्प पारेपछि नेपालको वैदेशिक व्यापारमा ठुलो असर परेको थियो । नेपाली निर्यातकर्ताहरुले चीनतर्फ निर्यात गर्ने वस्तुहरु उत्तरी नाकाबाट निर्यात गर्न पाएनन्, भारतको बाटो हुँदै समुद्रबाट निर्यात गर्दा वस्तुको लागत नै महंगो पर्ने भएपछि चीनतर्फको निर्यात व्यापार ठप्प प्राय थियो ।

तर, प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नियुक्त भएको भोलीपल्टै रसुवागढी नाकाबाट निर्यात सुरु भयो, तातोपानी नाका पनि भव्यताका साथ खुल्यो । तर, यो चीनको पहिल्यैदेखिको तयारी भएको पूर्व वाणिज्य सहसचिव रविशंकर सैंजु बताउँछन् । उनका अनुसार करिव १० दिन अघि नै चीनतर्फको लजिस्टिक कम्पनीका एक अधिकारीले आफूलाई फोन गरेरै अब चीनले नेपालतर्फका नाका खुल्न लागेको बताएका थिए । चीनले यस्ता निर्णय गर्नूपूर्व अध्ययनसँगै धेरै तहको छलफलपछि मात्रै निर्णय गर्ने हुनाले नयाँ सरकार आएको भोलीपल्टै नाका खुल्नु संयोग मात्रै भएको उनको भनाई छ । ‘कोरोनाले थिलथिलिएको चीनले नाका खोल्ने कुराको निर्णय एकैदिन गर्नै सक्दैन,’ उनले भने, ‘यो त उनीहरुको पहिल्यैदेखिको योजना थियो, सोही अनुसार नाका खुलेपछि नेपालमा भने संयोगजस्तो भयो ।’

यता नेपाल चेम्बर अफ कमर्शका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठ पनि चीनले कोरोनामा गरिएका प्रतिवन्धहरु खुकुलो पार्ने नीतिको उपज नाका खुल्नु भएको बताए । चीनले अब अर्थतन्त्र चलायमान गर्नका लागि भन्दै विश्वभरका पर्यटकहरुका लागि क्वारेन्टाईनमा वस्नुपर्ने व्यवस्थामा खुकुलोसमेत गरिदिएको छ । केहि प्रान्तहरुमा कोरोना महामारीको त्रास बाँकी रहेपनि चीनमा नागरिकस्तरबाट कोरोना प्रतिवन्धहरु खुकुलो गर्नुपर्ने गरी सडक आन्दोलन पनि चर्किँदै गएका छन् । जसका कारण चीन सरकारले हालसम्म लगाएका कोरोना प्रतिवन्धहरु खुकुलो पार्ने क्रममा नेपालतर्फका पनि नाका खुलेको उनको भनाई छ ।

तर नेपाललाई चीनले अझै पनि व्यापारको लागि प्राथमिकतामा राख्न नखोजेको उनको भनाई छ । अझै पनि उताबाट आयात हुने कन्टेनरको कोटा प्रणाली खारेज भएको छैन, निर्यात हुने वस्तुमा पनि धेरै कडा नियमहरु लागू नै छन् यी सबै क्रियाकलापका कारण चीनले नेपाललाई हेर्ने व्यापारिक दृष्टकोणमा नै परिवर्तन गर्नुपर्ने उनको भनाई छ । तर, हाल एकाएक खोलिएको भनिएका नाकाहरु खोल्न चीनले पहिल्यै धेरै कसरत गरिरहेको उनले बताए । ‘हामीले १५ दिन अघि नै चीनले अब नाका खोल्दैछ भन्ने संकेत पाईसकेका थियौं,’ उनले भने, ‘राजनीतिक परिवर्तनसँगै चीनतर्फका नाका खुल्नु संयोग मात्रै हो ।’

चीनले २०७२ सालको भुकम्पपश्चात विभिन्न बहाना देखाउँदै उत्तरी नाकाबाट हुने व्यापारमा बाधा सिर्जना गर्दै आएको थियो । कहिले पुल बनाउनुपर्ने, कहिले पूर्वाधार नपुगेको त कहिले आवश्यक शर्त नमानेको बताउँदै नेपालमा हुने आयात र नेपालबाट हुने निर्यातमा पनि बाधा उत्पन्न हुँदै आएको छ ।

अझै पनि चीनका केहि प्रान्तहरुमा कोरोनाका प्रतिवन्ध बाँकी नै भएकाले कुन दिन चीनले पुनः नाका बन्द गर्ने हो एकिन नभएको पूर्व वाणिज्य सहसचिव सैँजु बताउँछन् । अझै पनि नेपाली निर्यातकर्ताहरुले चीनले भनेबमोजिक शर्तहरु पालना गरेरै निर्यात क्रियाकलाप अगाडी बढाउनुपर्ने चुनौति रहेको उनले बताए ।

यता नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत स्थल यातायात तथा पारवाहन समितिका सभापति प्रकाश सिंह कार्की पनि चीनले नाका खोल्ने बारे पहिल्यै जानकारी दिईसकेको बताउँछन् । असल छिमेकी भनेर सबैतिरबाट च्याप्ने नीति लिएको चीनले नेपालतर्फका नाका खोलिदिँदा उद्योगी व्यापारीलाई धेरै सहज भएको उनले बताए । ‘धेरै लामो समयदेखि चीनतर्फका नाकाहरु बन्द हुँदा असल छिमेकीको परिभाषा नै परिवर्तन हुन लागेको जस्तो थियो,’ उनले भने, ‘अब केहि सहजता भएको महशुस भएको छ ।’

राजनीतिक परिवर्तनकै संयोगमा नाकाहरु खुल्नुले नेपालको राजनीतिकप्रति चीन सकारात्मक भएकोजस्तो देखिएपनि अझै चीनले गर्ने गरेको व्यवहारका कारण उद्योगी व्यवसायीहरु हैरान खेप्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL