Logo

व्यवसायीका माग पुरा नभए पुनः आन्दोलन गर्ने महासंघको घोषणा, चालु पूँजी कर्जा मार्गदर्शन रोक्नेदेखि सीआरआर घटाउन माग

व्यवसायीका माग पुरा नभए पुनः आन्दोलन गर्ने महासंघको घोषणा, चालु पूँजी कर्जा मार्गदर्शन रोक्नेदेखि सीआरआर घटाउन माग



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्र स्थायीत्वका लागि राखिएका मागहरु सम्बोधन नभए पुनःआन्दोलन गर्ने घोषणा गरेको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले यस्तो बताएको हो । महासंघका अध्यक्ष शेखर गोल्छाले आफ्नो मन्तव्य राख्दै पत्रकार सम्मेलनमा निजी क्षेत्र चलायमान हुने गरि सुधारका कार्यक्रम नआए आर्थिक स्थायित्वका लागि थप कार्यक्रम घोषणा गर्न बाध्य हुने बताए ।

यसअघि महासंघले अर्थतन्त्र धराशायी भएका बेलामा सरकारले निजी क्षेत्रलाई उपेक्षा गरेको भन्दै जिल्ला नगर संघलगायतले आन्दोलनका कार्यक्रम घोषणा गरी धर्नासमेत गरिसकेका छन् । निर्वाचन नजिकिएकाले महासंघले यस्ता धर्ना कार्यक्रमहरु स्थगित गर्न आग्रह गरेको थियो । त्यसपश्चात निजी क्षेत्रका आन्दोलनहरु रोकिएका छन् ।

अझै पनि व्यवसाय नै संचालन गर्न नसक्ने अवस्था रहेको महासंघका अध्यक्ष गोल्छाले बताए । ‘मुलुकमा सम्पत्ति निर्माण गर्ने निजी क्षेत्रका गतिविधि संकुचित हुँदा सबैतिर नराम्रो असर परेको तर्पm सबैले हेक्का राख्न जरुरी छ । उद्यम व्यवसाय चलाउनै नसक्ने अवस्था आएको हुँदा निजी क्षेत्र वाध्य भएर आन्दोलित भएको हो । यो हाम्रो रहर हैन वाध्यता हो । निजी क्षेत्र चलायमान हुने गरि सुधारका कार्यक्रम आउन सकेनन् भने हामी आर्थिक स्थायित्वका लागि थप कार्यक्रम घोषणा गर्न वाध्य हुनेछौ ।’ उनले भनेका छन् ।

हाल नेपालको निजी क्षेत्रका देखिएको माग सन्तुलनको विकृति र यसले निम्त्याएको संकुचनले निजी क्षेत्र धराशायी हुने अवथामा पुगेको महासंघका भनाई छ । हालको यस्तो चंगुलबाट निजी क्षेत्रलाई माथि उकास्न सरकारले बिशेष ध्यान दिनुपर्ने माग महासंघले राखेको छ ।

जसमा चालु पूँजी कर्जा मार्गदर्शन कम्तिमा २ बर्ष स्थगन गर्नुपर्ने, ब्याजदर स्थायित्व र तरलताको सुविधामा विशेष ध्यान दिनुपर्ने, त्यसका लागि पुर्नकर्जा नविकरणको म्यान कम्तिमा १ बर्ष दिनुपर्ने, अनिवार्य नगद अनुपात १ प्रतिशतले कम गर्नुपर्ने, सरकारी ढुकुटिमा रहेको रकम तरलतामा गणना गर्नै, स्थानीय तहको शतप्रतिशत रकमलाई तरलतामा गणना गर्नुपर्ने लगायतका मागहरु राखेको छ ।

यस्तै महासंघले पूँजीगत खर्च बढाउने योजना तत्काल कार्यान्वयन गर्नुपर्ने, वैदेशिक लगानी आकर्षित गर्न तत्काल कार्यविधि बनाउनुपर्ने, तत्काल कन्ट्री रेटिङ गरिनुपर्नेसमेत मागहरु राखेको छ ।

यसरी यी मागहरु तत्काल कार्यान्यनमा गए मात्रै देशको आर्थिक अवस्था र निजी क्षेत्रको अवस्था माथि उठ्न सक्ने महासंघको ठहर छ । तसर्थ यी मागहरुको चाँडै कार्यान्वयन नभए पुनः महासंघ आन्दोलनमा उत्रने बताएको हो ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले समापन मन्तव्य राखेका थिए । कार्यक्रममा महासंघका उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, कार्यकारिणी समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL