Logo

अर्थमन्त्रीको आडैमा गोल्छाको आह्वान, एमसीसी पास गरौं, एकपटकलाई कर नतिरेको सम्पत्ति अभिलेखिकरण

अर्थमन्त्रीको आडैमा गोल्छाको आह्वान, एमसीसी पास गरौं, एकपटकलाई कर नतिरेको सम्पत्ति अभिलेखिकरण



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सम्पत्ति अभिलेखिकरण गर्न पाउनुपर्ने बताएका छन् । महासंघद्वारा आयोजित कार्यक्रममा गोल्छाले अर्थमन्त्री जनार्दन शर्मालाई सँगै राखेर उद्योगी व्यवसायीले सम्पत्ति अभिलेखिकरण गर्न पाउनुपर्ने बताएका हुन् । ‘हामीले कालोधनलाई शुद्धिकरण गर्न चाहेको हैन,’ उनले भने, ‘तर हामीसँग पहिलेदेखि भएको धनसम्पत्तिलाई अभिलेखिकरण गर्न पाउनुपर्छ ।’

laxmi

पछिल्लो समय उद्योगी व्यवसायीसँग पहिलै देखिको ठूलो मात्रामा धन सम्पत्ति रहेको र उक्त सम्पत्ति भित्री रुपमा रहेको भन्दै त्यसलाई अभिलेखिकरण गर्न अध्यक्ष गोल्छाले पटक पटक माग गर्दै आएका छन् । ‘व्यवसायीको लुकेर बसेको सम्पत्ति बाहिर ल्याउन पनि सम्पत्ति अभिलेखिकरण आवश्यक छ,’ उनले भने । तर सरकारले भने पछिल्लो समय सिमित व्यवसायीसँग कर छली गरेको ठूलो रकम रहेको भन्दै त्यसलाई स्वतः सम्पत्ति अभिलेखीकरण गर्न नदिने अडान राख्दै आएको छ ।

यसैगरी उनले अमेरिकी सहयोग परियोजना एमसीसी समेत तत्काल पास गर्न अर्थमन्त्री समक्ष आग्रह गरेका छन् । ‘अहिले नेपाली अर्थतन्त्र पेचिलो बन्दै गएको छ भने बाहिरी सहयोग पनि आउन बन्द भएको छ,’ उनले भने, ‘यस्तो अवस्थामा हामीले एमसीसी सहज रुपमा स्वीकार गर्नुपर्छ ।’ पछिल्लो समय सरकारमा सम्मिलित राजनीतिक दलहरुनै एमसीसी पास गर्ने र नगर्ने पक्षमा रहेको अवस्थामा गोल्छाले भने पटक पटक एमसीसी नेपालको हितमा रहेको भन्दै तत्काल पास गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

यसैगरी पछिल्लो समय सरकारले आयातलाई निरुत्साहित गर्ने नीति लिएको भन्दै त्यसो गर्न नहुने उनको भनाई थियो । ‘आयात रोक्न सजिलो छ तर त्यो झन बढी घातक छ,’ उनले भने, ‘हाम्रो भारततर्फको निर्भरता बढ्दै गएको र अबका दिनमा तरलता समस्या समाधानका लागि पनि आयातलाई प्रतिस्थापन गर्नेतर्फ केन्द्रित हुनुपर्छ ।’ साथै सरकार गठन भएको ५ महिना वितिसक्दा पनि सरकारले उद्योग मन्त्री नियुक्त नगरेको भन्दै सरकार अर्थतन्त्रप्रति उदासिन देखिएको उनको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL