Logo

निजी क्षेत्रका ३ प्रमुख संस्थाको एकै स्वर : एमसीसी तत्काल पारित गरौं

निजी क्षेत्रका ३ प्रमुख संस्थाको एकै स्वर : एमसीसी तत्काल पारित गरौं



काठमाडौं । निजी क्षेत्रका ३ ठुला संघले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन –एमसीसी) तत्काल पारित गर्नुपर्ने बताएका छन् । बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले एमसीसी राष्ट्रिय हितमै भएकाले संसदबाट तत्काल पारित गरी कार्यान्वयन गर्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा संघीय संसदबाट सम्झौता अनुमोदन गर्नुपर्ने पूर्वशर्त पूरा नभएका कारण द्विपक्षीय सम्झौता भएको ४ वर्षसम्म पनि एमसीसी कार्यान्वयन नहुनु आश्चर्य भएको उल्लेख छ ।

यस्तै, नेपालको विकासमा रणनीतिक महत्व राख्ने विद्युत प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्नेसमेत विज्ञप्तिमा उल्लेख छ । कोभिड १९ को महामारीपछि अर्थतन्त्रको सुधारका लागि पर्याप्त लगानी आवश्यक भएको र दीर्घकालमा विद्युत निर्यात एवं प्रविधि हस्तान्तरणको अवसर एमसिसीबाट प्राप्त हुने सम्भावना भएकाले राष्ट्रिय हित हेरी संसदबाट तत्काल पारित गरी कार्यान्वयन गर्न नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल एवं सरोकारवालाहरू समक्ष निजी क्षेत्रले आग्रह गरेको छ ।

कोभिड १९ ले सिर्जित परिस्थितिका कारण आन्तरिक स्रोत खुम्चिएको छ भने वैदेशिक सहायता पनि अपेक्षाकृत बढ्न सकेको छैन । चालु आर्थिक वर्षको पहिलो महिनामा वैदेशिक लगानी ४९ प्रतिशतले घटेको छ । यस परिस्थितिमा ५० करोड अमेरिकी डलरको सहायता नेपालका लागि महत्वपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रसारण लाइनको अभावमा उत्पादित विद्युत खेर जाने अवस्था सिर्जना हुँदै गएको भन्दै निजी क्षेत्रले कमजोर सडक पूर्वाधारले नेपालको औद्योगिक र व्यावसायकि लागत वृद्धि गरिरहेको जानकारी दिए ।

एमसिसी अन्तर्गतका आयोजना सुरु भएको ५ वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्थाले विकास सुशासनका लागि समेत नमुना बन्न सक्ने निजी क्षेत्रको धारणा छ । युरोप, एसिया, ल्याटिन अमेरिका र अफ्रिकाका ३० भन्दा धेरै मुलुकमा एमसिसि अन्तर्गत परियोजना निर्माण भइसकेकाले नेपालमा पनि सहज कार्यान्वयन हुने निजी क्षेत्रले विश्वास व्यक्त गरेको छ ।

नेपाल र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बीच सन् २०१७ सेप्टेम्बर १४ मा भएको सम्झौताअनुसार विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतको काम अभैm अघि बढ्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL