Logo

विशेष आर्थिक क्षेत्र प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच सम्झौता, पाँचखाल र सिमरा सेजमा लगानीको व्यवस्था गरिँदै

विशेष आर्थिक क्षेत्र प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच सम्झौता, पाँचखाल र सिमरा सेजमा लगानीको व्यवस्था गरिँदै



काठमाडौं । विशेष आर्थिक क्षेत्र प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच सम्झौता भएको छ । निजी क्षेत्रको सहभागिता वा सार्वजनिक निजी साझेदारीमार्फत औद्योगिक पूर्वाधारमा लगानी, सोको विकास, निर्माण तथा संचालनका लागि आवश्यक सहकार्य गर्दै औद्योगिक विकास प्रवर्द्धनका लागि २ निकायबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उक्त समझदारीपत्रको मुल उद्देश्य पाँचखाल विशेष आर्थिक क्षेत्र तथा बारा जिल्लाको सिमरामा अवस्थित विशेष आर्थिक क्षेत्र ब्लक ‘बी’ र ‘सी’ को प्राविधिक र आर्थिक प्राबिधिक विश्लेषण, परियोजनाको बजारीकरण र विकासकर्ता छनौटका लागि आवश्यक सहयोग, बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुंजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट विशेष आर्थिक क्षेत्रहरुको विकास तथा कार्यान्वयन गर्नु रहेको छ ।

उद्योग सचिव अर्जुन प्रसाद पोखरेलको उपस्थीतिमा प्राधिकरण र बैंकका अधिकारीहरुको सहभागितामा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो । उक्त अवसरमा विशेष आर्थिक क्षेत्र प्राधिकरणको तर्फबाट कार्यकारी निर्देशक बलराम रिज्याल र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL