काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निष्कासन गरेको “निफ्रा ग्रीन इनर्जी बोन्ड ६%–२०८८÷८९” नामको हरित उर्जा ऋणपत्रको बाँडफाँड सम्पन्न भएको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा रहि जेठ १८ गते देखि जेठ २५ गतेसम्मका लागि यो ऋणपत्र निष्कासन भएको हो । बिहीबार एनआइएमबि एस क्यापिटलको लाजिम्पाट, काठमाडौंको प्रांगणमा बाँडफाँड सम्पन्न भएको छ ।
यस हरित ऋणपत्रका लागि रु ५ अर्ब रकम बराबरको ३.८ गुणा भन्दा बढी आवेदन प्राप्त भएको थियो । कूल निष्कासित रकमको ६० प्रतिशत व्यक्तिगत तवर र ४० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको थियो । उक्त निष्कासनमा विभिन्न संघ संस्था तथा सर्वसाधारणहरु मार्फत उत्साहजनक सहभागिता रहेको छ ।
एनआइएमबि एस क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले भने “नेपालको पहिलो हरित उर्जा ऋणपत्रको सार्वजनिक निष्काशनलाई सफलतापूर्वक सम्पन्न गर्न पाउनु हाम्रो लागि निकै गर्वको कुरा हो । यो पहल नविनता र दुरदर्शितामा आधारि हाम्रो सिद्धान्तको स्वभाविक विस्तार हो । एनआइएमबि एस क्यापिटलको तर्फबाट हामी यस्तो ऐतिहासिक पहलमा अग्रसर हुन पाएकोमा उत्साहित छौं । आगामी दिनहरुमा अझै यस्ता अर्थपूर्ण परियोजनाहरु लिएर आउने विश्वास दिलाउन चाहन्छौं ।”
७ वर्षको अवधि रहि वार्षिक ६ प्रतिशत ब्याजदर भएको यस ऋणपत्र नेपालमै पहिलो पटक सार्वजनिक रुपमा जारी गरिएको हरित उर्जा ऋणपत्र रहेको छ । यस हरित उर्जा ऋणपत्र बाँडफाँडमा कम्पनीले यस प्रकृयामा सहयोग पु¥याउने नेपाल सरकार, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सेन्ज, सिडिएस एण्ड क्लियरिङ्ग, विदेशी दातृ निकायहरु, ग्लोबल ग्रीन ग्रोथ इन्ष्टिच्युट र कोरिया इन्टरनेशनल कोअपरेशन एजेन्सी, कम्पनीका सहयोगीहरु तथा पत्रकार वृत्त लगायत सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद दिएको छ ।