काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ५ अर्ब रुपैयाँ बराबरको उर्जा ऋणपत्र निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पहिलोपटक एक सूचीकृत कम्पनीलाई हरित ऋणपत्र निष्कासन गर्न अनुमति प्रदान गरेको हो ।
सात वर्ष अवधि रहेको उक्त ऋणपत्रमार्फत ५ अर्ब रुपैयाँ बराबरको पुँजी संकलन गरिनेछ, जुन वातावरणमैत्री परियोजनाहरूमा प्रयोग गरिनेछ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ अन्तर्गत प्रदान गरिएको स्वीकृति अनुसार संकलित रकम जलवायु परिवर्तनको नकारात्मक असर न्यूनीकरण, स्वच्छ ऊर्जा प्रवर्द्धन र दिगो विकासमा योगदान पुर्याउने उद्देश्यले प्रयोग गरिनेछ।
उक्त ऋणपत्रबाट उठाइएको रकम नेपाल राष्ट्र बैंकद्वारा जारी ‘नेपाल हरित वित्तीय वर्गीकरण २०८०’ र अन्तर्राष्ट्रिय पूँजी बजार संघको ‘हरित ऋणपत्र सिद्धान्त’ अनुरूप परिचालित गरिने सेबोनले जनाएको छ।
हालका दिनहरूमा विश्वभर हरित अर्थतन्त्र प्रवर्द्धनका लागि पूँजी बजारको प्रयोग तीव्र रुपमा बढिरहेको छ। यसै सन्दर्भमा नेपालमा पहिलोपटक हरित ऋणपत्र निष्कासनको अनुमति दिइएपछि नेपालको पूँजी बजारले वातावरणीय उत्तरदायित्वसहितको आर्थिक विकासमा थप योगदान दिने अपेक्षा गरिएको छ।
यस कदमले सरकारद्वारा तय गरिएका नेट–जिरो उत्सर्जन लक्ष्य र दिगो विकास लक्ष्यहरू (एसडीजी) प्राप्त गर्न महत्वपूर्ण टेवा पुर्याउने विश्वास गरिएको छ।