Logo

नेपालमा ५२ देशबाट भित्रियो वैदेशिक लगानी, उत्पादनमुलक र जलविद्युतमा सबैभन्दा बढी, यी हुन बढी लगानी भित्र्याउने १० देश

नेपालमा ५२ देशबाट भित्रियो वैदेशिक लगानी, उत्पादनमुलक र जलविद्युतमा सबैभन्दा बढी, यी हुन बढी लगानी भित्र्याउने १० देश



काठमाडौं । नेपालमा आर्थिक बर्ष २०७६/७७ मा विभिन्न ५२ देशबाट प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक सर्वेक्षण जारी गर्दै विभिन्न ५२ देशबाट १ खर्ब ९८ अर्ब ५२ करोड रुपैयाँ लगानी भित्रिएको बताएको हो । राष्ट्र बैंकको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण २०७६/७७ अनुसार भारत, चीन, सेन्ट किस्टस एण्ड नेभिस, आयरल्याण्ड, सिंगापुरलगायत ५२ देशबाट उक्त लगानी भित्रिएको हो । यसमध्ये सबैभन्दा धेरै वैदेशिक लगानी भने भारतबाट भित्रिएको देखिन्छ ।

laxmi

प्रतिवेदन अनुसार भारतबाट मात्रै उक्त बर्ष ६२ अर्ब ४५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । यस्तै नेपालमा धेरै लगानी ल्याउने देशहरुमा क्रमशः चीन (३० अर्ब १७ करोड), सेन्ट किस्टस एण्ड नेभिस (१५ अर्ब २७ करोड), आयरल्याण्ड (१२ अर्ब ९३ करोड), सिंगापुर (१२ अर्ब ४३ करोड) रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको हो ।

यस्तै अष्ट्रेलिया (१० अर्ब ८२ करोड), दुबई (७ अर्ब १६ करोड), दक्षिण कोरिया (७ अर्ब ९ करोड), अमेरिका (६ अर्ब ९ करोड) र बंगलादेशबाट (५ अर्ब ३ करोड) रुपैयाँ बराबरको लगानी भित्रिएको छ । राष्ट्र बैंकका अनुसार उक्त बर्ष अघिल्लो बर्षको तुलनामा वैदेशिक लगानी ५ दशमलव ८ प्रतिशतले बढि भित्रिएको हो ।

सबैभन्दा बढि औद्योगिक क्षेत्रमा

आर्थिक बर्ष २०७६/७७ मा भित्रिएको कुल वैदेशिक लगानीमध्ये सबैभन्दा बढि लगानी औद्योगिक क्षेत्रमा लगानी भएको देखिन्छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार उक्त बर्ष १ खर्ब ९८ अर्ब ५२ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिएको थियो । त्यसमध्ये ५६ प्रतिशत औद्योगिक क्षेत्रमा र ४३.९ प्रतिशत सेवा क्षेत्रमा भित्रिएको देखिन्छ । औद्योगिक क्षेत्रमध्ये पनि २८ दशमलव ३ प्रतिशत लगानी उत्पादनमुलक क्षेत्रमा आउँदा २७ दशमलव ५ प्रतिशत लगानी भने उर्जा क्षेत्रमा आएको देखिन्छ ।

यस्तै सेवा क्षेत्रमा भित्रिएको कुल वैदेशिक लगानीमध्ये २७ दशमलव ३ प्रतिशत लगानी भने बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL