Logo

खाने तेलको मूल्यमा झेल : मूल्य बढेको एक बर्ष वित्दापनि सरकारको दृष्टि परेन, महँगो मूल्यले उपभोक्ता समस्यामा

खाने तेलको मूल्यमा झेल : मूल्य बढेको एक बर्ष वित्दापनि सरकारको दृष्टि परेन, महँगो मूल्यले उपभोक्ता समस्यामा



काठमाडौं । पछिल्लो एक बर्षयता नेपालीको भान्छाका लागि अत्यावश्यक सूचीको रुपमा रहेको खाने तेलको मूल्य १ सय प्रतिशतदेखि १५० प्रतिशत सम्मले महँगो भएको छ । ब्राण्ड र बजार हेरेर अहिले उपभोक्ताले भान्छामा बढी प्रयोग हुँदै आएका सनफ्लावर ९सूर्यमुखी० र सोयाविन ९भट्टमास० को तेलको मूल्यमा एक वर्षको अवधिमा प्रतिलिटर १ सयदेखि १ सय ५० रुपैयाँ बढी मूल्य तिर्नु परिरहेको छ । बजार विश्लेषक तथा सरकारी निकायकै कतिपय अधिकारीहरुले मूल्यमा सामान्य उतारचढाव आएपनि यति ठूलो अन्तर नआउनुपर्ने र यो अन्तरको मूल्यवृद्धिको कारण उद्योगीको मनोमानी, सरकारको वेवास्ता र सरकारी निकायकै साँठगाँठ रहेको बताउँदै आएका छन् । मूल्यवृद्धिले नेपाली संर्वसाधारणको भान्सामा समस्या श्रृजना गरेपनि यो अवधिमा सरकार भने उद्योगीले जे भन्छन त्यही नै प्रतिक्रिया दिदैं बसिरहेको छ ।

laxmi

अहिले उद्योगीहरुले डिलहरहरुलाई नै तेलको मूल्य बढाएर बेचेपछि बजारमा तेल महँगो भएको सम्बन्धितहरु बताउँछन् । गत बर्षको भदौ महिनादेखि तेलको मूल्य लगातार बढिरहेको भएपनि अनुगमन र कारबाही गर्ने निकाय वाणिज्य विभाग मौनजस्तै छ । अर्थात गत बर्षदेखि नै उद्योगीसँग छलफल गर्ने र स्पष्टीकरण साध्ने गरेको भन्दै विभाग पन्छिने गरेको छ ।

गत बर्षको भदौ महिनादेखि प्रतिदिन खानेतेलको मूल्य अचाक्ली बढेर हाल प्रतिलिटर २ सय ७० देखि ८० रुपैयाँसम्म पुगेको छ । तर, वाणिज्य विभाग उद्योगीहरुका अगाडि नतमस्तक भएकाले लगातार मूल्य बढ्दा पनि न अनुगमन न कारबाहीको अवस्था आएको उपभोक्ता अधिकारकर्मीहरुले बताउँदै आएका छन् । गत बर्षको भदौ महिनामा प्रतिलिटर १ सय ३० देखि १ सय ४० रुपैयाँसम्म पर्ने खाने तेलको मूल्य बढिरहँदा विभिन्न निकायमा आन्तरिक छलफल र चर्चा हुने गरेको छ । तर, उद्योगीकै दबाबका कारण सम्बन्धित निकायले केही एक्सन लिन सकेका छैनन् ।

बजारमा खाने तेल महंगिएपछि साना तथा खुद्रा व्यापारीले गाली खानुपरेको नेपाल खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्य बताउँछन् । उनका अनुसार उद्योगीहरुले लगातार तेलको मूल्य बढाएर बजारमा पठाउँदा केही नहुने, वाणिज्य विभागले पनि नहेर्ने तर, यही मूल्यका आधारमा बजारमा बेच्दा साना तथा खुद्रा व्यवसायीहरुले कारबाहीको भागिदार हुनुपर्ने अवस्था आएको छ । ‘ठूला उद्योगीहरुले उपभोक्तासँग अर्बौै लुट्ने र पक्राउ पर्ने अनि करोड रुपैयाँ धरौटी दिएर छुट्ने व्यवस्थाको अन्त्य नभएसम्म उपभोक्ता लुटिईरहने छन्’, उनले बताए । वाणिज्य विभागले भने साना र कमजोर व्यवसायीलाई मात्रै आफ्नो निशानामा पार्ने गरेको उनको भनाई छ ।

झारा टार्दै वाणिज्य विभाग

उद्योगीहरुले लगातार तेलको मूल्य बढाउँदा मौन बसेको वाणिज्य विभागलाई गत बैशाखमा उद्योगीहरुले आफै स्पष्टीकरण दिए । जसमा विभिन्न देशमा कच्चा तेलको मूल्य बढेपछि र कोरोनाका कारण ढुवानीमा अवरोध पैदा भएपछि खानेतेलको मूल्य बढेको उल्लेख छ । उक्त स्पष्टीकरणपश्चात वाणिज्य विभागले कच्चा तेलको वास्तविक मूल्य र नेपालमा कच्चा तेलको हुनुपर्ने मूल्यका बारेमा अध्ययन गर्ने बताएको थियो ।

त्यसको प्रतिवेदन र उद्योगीहरुसँग भएका छलफलहरुको बिषमा चाँडै निष्कर्षसहितको जानकारी सार्वजनिक गर्ने तयारी गरिहेको वाणिज्य विभाग बताउँछन् । विभागका प्रवक्ता शिवराज सेँढाईका अनुसार गत शुक्रबार पनि १९ जना तेल उद्योगीहरुसँग विभागले छलफल गरेको थियो । नेपालमा हालसम्म २२ ओटा तेल उद्योग दर्ता भएका छन् । त्यसमध्ये २ ओटा निर्माणाधिन छन भने एउटा उद्योगका पदाधिकारी भने छलफलमा उपस्थित भएका थिएनन् ।

विभागले खानेतेल उत्पादक उद्योगीहरुलाई खानेतेलको मूल्य बढ्नुको कारणबारे केही स्पष्टीकरणलगायत सोधेको थियो । जसमा उद्योगीहरुले अन्तरराष्ट्रिय बजारमै तेलको कच्चा पदार्थको मूल्य बढेकाले नेपालमा बढेको बताएका थिए । ‘उद्योगीहरुले ५ देखि ६ प्रतिशत मात्रै नाफा राखेर बजारमा खानेतेल पठाईएको बताउनुभएको छ,’ सेढाईले भने, ‘तर अचाक्ली बढ्नुको कारण र बढाउने कोहो भन्नेबारे अझै अध्ययनमा छौं ।’

यसअघि पनि वाणिज्य विभागले तेल उद्योगीहरुलाई बोलाएर यसका बारेमा छलफल गरेको थियो । तर, त्यसबेला पनि उद्योगीहरुले अन्तरराष्ट्रि बजारमै मूल्य बढेकाले यसको मूल्य बढेको बताएका थिए । यसरी उद्योगीहरुकै भनाईमा सहमति जनाउने र विभागले उद्योगीको साथ दिएजस्तै गरेर अनुगमन, अध्ययनलगायत कार्यमा ध्यान नदिने गरेको उपभोक्ताकर्मी बताउँछन् । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकै भएपनि यति धेरै प्रश्न उठ्दा वाणिज्य विभागले हालसम्म कुनै स्पष्टीकरण नदिनु विभागको दोष भएको साना तथा खुद्रा व्यापारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL