Logo

युट्युव, टीकटक तथा इकमर्शबाट आर्जन गरिएको विदेशी मुद्रा बैंकिङ प्रणालीमार्फत ल्याउन सकिने, यस्तो छ प्रक्रिया

युट्युव, टीकटक तथा इकमर्शबाट आर्जन गरिएको विदेशी मुद्रा बैंकिङ प्रणालीमार्फत ल्याउन सकिने, यस्तो छ प्रक्रिया



काठमाडौं । अबका दिनमा ई–कमर्श, युट्युवट, फेसबुक लगायतका सामाजिक संजालमार्फत आर्जन भएको विदेशी मुद्रा बैंकिङ प्रणालीमार्फत ल्याउन पाईने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक निर्देशन जारी गर्दै ई–कमर्श लगायतका कारोबार वापत अनलाईन वित्तीय सेवामार्फत विदेशबाट नेपालमा विदेशी मुद्रा रकमान्तर गर्न सकिने गरी निर्देशन जारी गरेसँगै त्यसरी आर्जन गरेको रकम सहज रुपमा विदेशबाट ल्याउन सकिने भएको हो ।

हाल त्यसरी आर्जन गरेको विदेशी मुद्रा बैंकिङ प्रणालीमार्फत ल्याउन कठिन भएको र जसका कारण अनौपचारिक माध्यमबाट भित्रिरहेको गुनासो आएपछि त्यसलाई सहज बनाउन बैंकिङ प्रणालीमार्फत ल्याउने वातावरण बनाईएको नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले जानकारी दिए ।

‘अबका दिनमा त्यसरी आर्जन गरिएको रकम नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त बैंकहरु, अनुमतिपत्रप्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकहरुमार्फत ल्याउन सकिने छ,’ उनले भने, ‘विशेषतः सूचना प्रविधि सम्बद्ध दक्षता विज्ञताको निकासी विकी वापत प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामग्रीहरु राखिए वापस प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तरराष्ट्रिय व्यावसायिक व्यापारिक कारोबार वापत प्राप्त हुने रकम लगायतका रकमहरु यसरी भित्र्याउन मान्य हुनेछन् ।’

त्यसरी भित्र्याईएको विदेशी मुद्रा स्वदेशी बैंकको खातामा प्राप्त भए पश्चात् भुक्तानी सेवा प्रदायक बैंक तथा वित्तीय संस्था समेतले सञ्चालन गरेको ग्राहकको वालेट लगायत भुक्तानीका उपकरणमा तोकिएको सीमा सम्मको रकम स्वदेशी मुद्रा रकमान्तर गर्न सकिनेछ ।

साथै त्यसरी आर्जन गरिएको विदेशी मुद्रा आर्जन गर्ने क्रममा तोकिए बमोजिमको शुल्क, रोयल्टी लगायत आवश्यक परी सो को भुक्तानी विदेशमा पठाउनु पर्ने भएमा यस समेत राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी निर्देशनको पालना गरी पठाउन सकिने भएको छ ।

तर त्यसरी आर्जन गरिएको विदेशी मुद्रा ओसारपसार गर्दा सम्पत्ति शुद्धीकरण तथा आतंकबादी कृयाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ऐन एवम् प्रचलित अन्य ऐन, कानून तथा निर्देशिका अनिवार्य पालना गर्नुपर्ने छ । साथै इजाजत प्राप्त भुक्तानी सेवा प्रदायमले त्यस्तो रकमको कारोवारहरुको मासिक विवरण तोकिएको ढाचामा महिना समाप्त भएको मितिले १५ दिन भित्र राष्ट्र बैंकमा पेश गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL