काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको गैर–बैंकिङ सम्पत्ति १५ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्ष बैंक तथा वित्तीय संस्थाको गैर–बैंकिङ सम्पत्ति ५० अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा ४२.३६ प्रतिशत धेरै हो । अघिल्लो वर्षको यसै अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको गैर–बैंकिङ सम्पत्ति ३५ अर्ब ५० करोड रुपैयाँ थियो ।
बैंक तथा वित्तीय संस्थाहरुमा खराब कर्जा (एनपीएल) बढेसँगै त्यसको असर गैर–बैंकिङ सम्पत्तिमा परेको हो । पछिल्लो एक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा झण्डै एक प्रतिशत विन्दुले बढेको छ । अघिल्लो वर्ष औसत ३.८६ प्रतिशत रहेको बैंक तथा वित्तीय संस्थाको खराब कर्जा यो गत वर्ष ४.६२ प्रतिशत कायम भएको छ ।
खराब कर्जा, गैरबैंकिङ सम्पत्ति बढ्नुले बैंक तथा वित्तीय संस्थाहरुको कर्जा असुलीमा अझै सुधार हुन बाँकी रहेको संकेत गर्छ । तथापि, पछिल्लो समय आर्थिक गतिविधिमा सुधारको संकेत देखिएकाले आगामी दिनमा यसमा सुधार हुँदै जाने जानकारहरुको भनाई छ ।
एक वर्षमा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ४१.७५ प्रतिशतले बढेर ४२ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, विकास बैंकको खराब कर्जा ४ अर्ब ६८ करोड रुपैयाँ र फाइनान्स कम्पनीको गैरबैंकिङ सम्पत्ति ३ अर्ब ९ करोड रुपैयाँ छ । यता, यस अवधिमा वाणिज्य बैंकको औसत खराब कर्जा ४.४४ प्रतिशत, विकास बैंकको ५.०३ प्रतिशत र फाइनान्स कम्पनीको ११.०५ प्रतिशत रहेको छ ।

वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति साढे १२ अर्ब रुपैयाँले बढ्यो
एक वर्षको अवधिमा वाणिज्य बैंकहरुको मात्रै गैर–बैंकिङ सम्पत्ति १२ अर्ब ५९ करोड रुपैयाँले बढेको छ । गत आर्थिक वर्षसम्म आइपुग्दा वाणिज्य बैंकहरुको गैर–बैंकिङ सम्पत्ति ४२ अर्ब ७७ करोड कायम भएको छ । यो अघिल्लो वर्षकोभन्दा ४१.७५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष वाणिज्य बैंकहरुको गैर–बैंकिङ सम्पत्ति ३० अर्ब १७ करोड रुपैयाँ थियो ।
सबैभन्दा धेरै गैर–बैंकिङ सम्पत्ति हुनेमा ग्लोबल आइएमई बैंक रहेको छ । यसको गैर–बैंकिङ सम्पत्ति २०.१९ प्रतिशतले बढेर ६ अर्ब ५ करोड ७९ लाख रुपैयाँ कायम भएको छ । सबैभन्दा धेरै कर्जा प्रवाह गर्ने बैंक पनि यहि हो । त्यस्तै, हिमालयन बैंकको गैर–बैंकिङ सम्पत्ति १३४.५७ प्रतिशतले बढेर ५ अर्ब ६६ करोड पुगेको छ । एक वर्षको अवधिमा माच्छापुछ«े र सिद्धार्थ बैंकबाहेक अरु सबै बैंकको गैर–बैंकिङ सम्पत्ति बढेको छ ।
