Logo

सस्तीयो नेपालीको भान्सा, एक महिनामै २.१२ प्रतिशतले घट्यो मूल्यवृद्धि

सस्तीयो नेपालीको भान्सा, एक महिनामै २.१२ प्रतिशतले घट्यो मूल्यवृद्धि



काठमाडौं । एक महिनामै वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.१२ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार असोज महिनासम्म ७.५० प्रतिशत रहेको यस्तो मुद्रास्फीति कार्तिक महिनासम्म आउँदा ५.३८ प्रतिशतमा पुगेको हो । यस्तै गत आर्थिक बर्षको यहि अवधिको तुलनामा भने यस्तो मुद्रास्फीति ३.३ प्रतिशतले घटेको छ ।

laxmi

राष्ट्र बैंकका अनुसार कार्तिक महिनामा नेपालमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ ।

यसअघि असोज महिनामा यी दुबै समुहको मुद्रास्फीति क्रमशः ८.३८ र ६.८१ प्रतिशत थियो । यता कार्तिकमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क गत आवको सोही अवधिको तुलनामा ३६.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४.५९ प्रतिशत, फलफूलको १४.०१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.०० प्रतिशतले बढेको छ ।

यस्तै यसै अवधिमा घ्यू तथा तेल र तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क क्रमशः १४.२३ प्रतिशत र ५.३५ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १०.७६ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरुको ५.२७ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको छ । कार्तिकमा यातायात उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.८६ प्रतिशतले घटेको छ ।

२०८० कात्तिक महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०० प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ६.०७ प्रतिशत र हिमालको ८.७९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.५६ प्रतिशत, ८.५२ प्रतिशत, ८.०३ प्रतिशत र ६.६८ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL