Logo

नगद कारोबार बढेसँगै राष्ट्र बैंकको एक्सन, अब हरेक अन्तरबैंक एटीएम ट्रान्जेक्सनमा शुल्क लाग्ने

नगद कारोबार बढेसँगै राष्ट्र बैंकको एक्सन, अब हरेक अन्तरबैंक एटीएम ट्रान्जेक्सनमा शुल्क लाग्ने



काठमाडौं । अबका दिनमा एक बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकको एटीएम मेशिनबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ । यसअघि एक बैंकको एटीएम प्रयोग गरेर अर्को बैंकको एटीएमबाट प्रतिमहिना २ पटकसम्म पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था रहेकोमा राष्ट्र बैंकले त्यसरी रकम निकाल्दा हरेक कारोबारमा शुल्क लाग्ने व्यवस्था गरेको हो ।

laxmi

भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशन २०७९ जारी गर्दै फरक बैंकको एटीएम प्रयोग गर्दा हरेक कारोबारमा शुल्क लाग्ने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले जानकारी दिए । ‘यसअघि राष्ट्र बैंकले कोरोनाको समयलाई मध्यनजर गर्दै एउटा बैंकको एटीएम कार्ड प्रयोगरी अर्को बैंकको एटीएमबाट दुई पटकसम्म पैसा निकाल्दा शुल्न नलाग्ने व्यवस्था गरिएको थियो,’ उनले भने, ‘अहिले कोरोना पनि हेटेको र उक्त व्यवस्थाले नगद कारोबार बढी भएकाले हरेक कारोबारमा शुल्क लाग्ने बनाएका हौं ।’ तर जुन बैंकको एटीएम कार्ड छ सोही बैंकको एटीएम मेशिनबाट रकम निकाल्दा भने शुल्क नलाग्ने उनले जानकारी दिए ।

तर राष्ट्र बैंकले एटीएम कारोबार शुल्क भने घटाएको छ । यसअघि दुई कारोबार पश्चात प्रति कारोबार शुल्क २० रुपैयाँ रहेकोमा हाल त्यसलाई घटाएर १५ रुपैयाँमा झारिएको छ ।

जुनसुकै एटीएम मेशिनबाट पैसा निकाल्दा दुई पटकसम्म निशुल्क हुने व्यवस्थाका कारण नगद कारोबार बढेको समेत राष्ट्र बैंकले जानकारी दिएको छ । ‘राष्ट्र बैंकले हरेक एटीएमबाट दुई कारोबार निशुल्क हुने व्यवस्था गरेसँगै पैसा निकाल्ने क्रम ३० प्रतिशत बढेको छ,’ उनले भने, ‘हामीले डिजिटल नेपालको नारा लिएर अघि बढेका छौं तर नगद कारोबार बढी हुँदा त्यसले राम्रो नतिजा नदिने र ग्राहकलाई पनि डिजिटल कारोबारमा प्रोत्साहन गर्न फरक बैंकको एटीएम मेशिन प्रयोग गर्दा हरेक कारोबारमा शुल्क लाग्ने व्यवस्था गरेका हौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL