Logo

पर्यटनमा कुल बजेट ३५ अर्बको : नयाँ कार्यक्रम नआउने, पुरानै कार्यक्रमलाई निरन्तरता

पर्यटनमा कुल बजेट ३५ अर्बको : नयाँ कार्यक्रम नआउने, पुरानै कार्यक्रमलाई निरन्तरता



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी आवका लागि कुनै पनि नयाँ कार्यक्रम नल्याउने भएको छ ।

सरकारले आगामी आवमा नयाँ कार्यक्रम नल्याउन दिएको आदेश अनुसारनै नयाँ कार्यक्रम नराखेको र भईरहेकै कार्यक्रमलाई निरन्तरता दिने गरि बजेट माग गरिएकोे मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए ।

उनका अनुसार हाल सञ्चालनमा रहेका कार्यक्रमहरुका लागि करिब ३५ अर्ब रुपैयाँ बजेट माग गरिएको छ । हवाई पूर्वधार, पर्यटकीय गन्तव्य विस्तारलगायतका कार्यक्रमसहित कुल ३५ अर्ब रुपैयाँ बजेट माग गरिएको अधिकारीले बिजखबरलाई जानकारी दिए ।

‘पर्यटन पूर्वाधारमा मात्रै ३ अर्ब रुपैयाँ बजेट माग गरिएको छ भने तिन ठूला अन्तरराष्ट्रिय विमानस्थल (पोखरा, भैरहवा र निजगढ) का लागि कुल साढे १८ अर्व रुपैयाँ माग गरिएको छ । बाँकी अन्य नियमित कामकै लागि हा’,े अधिकारीले भने ।

सरकारले आगामी आवमा संचालनमा ल्याउने गरि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल भैरहवा र पोखरा अन्तरराष्ट्रिय विमानस्थलको लागि १६ अर्ब रुपैयाँ माग गरेको छ । तर, बजेट विगतमा भन्दा पनि कम आउने संकेत पाएको मन्त्रालयले रकम पनि घटेर आउन सक्नेबारे परामर्श गरिरहेको छ ।

यस्तै मन्त्रालयले निजगढ अन्तरराष्ट्रिय विमानस्थलको काम अघि बढाउनका लागि साढे २ अर्ब रुपैयाँ माग गरेको छ । चालु आवको लागि भने सरकारले गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल भैरहवाको लागि ३ अर्ब ३४ करोड रुपैयाँ र पोखरा विमानस्थल निर्माणको लागि ८ अर्ब रुपैयाँ छुट्टयाएको थियो ।

सरकारले आगामी आर्थिक बर्षका लागि बजेट विनियोजन विद्येयक २०७७ का सिद्धान्त र प्राथमिकतामा होटल रेष्टुँरा, एयरलाईन्स, ट्राभल, ट्रेकिङ, पर्वतारोहणलगायतलाई प्राथमिकतामा राखेको छ । तर, पर्यटन ब्यवसायीहरुले भने आफुहरुको माग सम्बोधन नभएको भन्दै ति विषयहरुलाई बजेटले सम्बोधन गर्न मन्त्रालयलाई बिभिन्न चरणमा सुझावहरु पेश गर्दे आईरहेका छन ।

आगामी आवमा मन्त्रालयले नयाँ कार्यक्रम नल्याए पनि भईरहेको पर्यटन गन्तब्य र वस्तुलाई विविधिकरण गर्नुका साथै पर्यटन पूर्वाधारको विस्तार गर्ने, विमानस्थल निर्माण र स्तरोन्नति कार्य अगाडि बढाउने योजना बनाएको छ । सरकारले आगामी बजेट घटाएर ल्याउने तयारी भईरहेको बेला नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत गत बर्षहरुझै बजेट प्राप्त गर्न नसक्ने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL