Logo

कोरोना प्रभावित देशबाट दुई महिनामा भित्रिए साढे ३६ हजार पर्यटक, सामान्य चेकजाँचकै भर

कोरोना प्रभावित देशबाट दुई महिनामा भित्रिए साढे ३६ हजार पर्यटक, सामान्य चेकजाँचकै भर



काठमाडौं । विश्व नै कोरोना भाइरसको त्रासमा रहिरहेको समयमा नेपालमा भने कोरोना प्रभावित देशबाट दुई महिनाको अवधिमा साढे ३६ हजार पर्यटक नेपाल भित्रिएका छन् ।

चीनको उहानबाट ल्याइएका १ सय ७५ जना नेपालीलाई १४ दिन क्वारेन्टाईनमा राखेको सरकारले प्रभावित देशबाट आउने पर्यटकलाई भने सामान्य चेकजाँचको भरमा छोडिरहेको छ । जसका कारण कोरोना प्रभावित देशबाट आएका पर्यटक काठमाडौंलगायत देशका बिभिन्न स्थानमा खुलेआम घुमिरहेका छन् ।

पछिल्लो समय कोरोना अति प्रभावित चीनबाट १५ हजार ४ सय ५४ जना, कोरियाबाट ५ हजार १ सय ५७ जना, जापानबाट ४ हजार ५ सय ५४ जना, इटालीबाट १ हजार २ सय ६५ जना र इरानबाट २ सय १२ जना पर्यटक नेपाल भित्रिएका छन ।

तर, उनीहरु कहाँ के गर्दै छन्, कति नेपालमै छन् वा कति आफ्नै देश फर्किए भन्ने विषयमा सरकार भने बेखबर देखिन्छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले पछिल्लो समय भित्रिएका प्रभावित देशका भनिएका पर्यटकबारे मन्त्रालयलाई जानकारी नभएको बताए ।

सरकारले उनीहरुको स्वास्थ्य जाँच गर्नुपर्ने र उनीहरुलाई नेपाल भित्रिए पछि क्वारेन्टाईनमा राख्नु पर्ने भएपनि विदेशी पाहुनालाई क्वारेन्टाईनमा राख्नको लागि कुनै व्यवस्था नभएको प्रवक्ता तामाङले जानकारी दिए । उनले भने, ‘त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सामान्य चेकजाँच पछि उनीहरु कता जान्छन, के गर्छन, केही थाहा हुँदैन, ती पर्यटकहरुलाई क्वारेन्टाईनमा राख्न पनि सकिँदैन । हामीसँग प्रभावित क्षेत्रबाट आउने पर्यटकलाई राख्नु पर्छ भनेर त्यस्तो केही व्यवस्था छैन ।’

तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य समन्वय महाशाखाका प्रमुख बिकास दवकोटाले भने ती पर्यटकहरु आउने बेलामा नै कोरोना भाईरस संक्रमित नभएको सर्टिफिकेट लिएर आउने भएकाले क्वारेन्टाईनमा राख्नु नपर्ने बताए । जुन देशबाट पर्यटकहरु नेपाल आएपनि संक्रमित नभएको सर्टिफिकेट लिएर मात्रै नेपाल प्रवेश गर्ने भएकाले नेपालमा कुनै खतरा नभएको देबकोटा बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL