Logo

नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सव सम्पन्न, बार्षिक अन्तरराष्ट्रिय हवाई यात्रु ४१ लाख पुग्ने

नेपाल नागरिक उड्डयन प्राधिकरणको २१ औं वार्षिकोत्सव सम्पन्न, बार्षिक अन्तरराष्ट्रिय हवाई यात्रु ४१ लाख पुग्ने



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले २१ बर्ष पूरा गरेको छ । प्राधिकरणले २१ बर्ष पूरा गरेको अवसरमा प्राधिकरणका महानिर्देशक राजन पोखरेलले प्राधिकरण आगामी दिनमा अझ सुरक्षित, स्तरीय तथा समुन्नतितर्फ उन्मुख हुने बताएका छन् । उनले २०१९ को नोभेम्बरसम्ममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रियतर्फ कुल ३७ लाख ६७ हजार ९ सय १३ जनाको आवागमन भएको बताएका छन ।

laxmi

उक्त तथ्याङ्क हेर्दा यो बर्ष करिब ४१ लाखको हाराहारीमा हवाई यात्रुको आवागमन हुने प्राधिकरणको अनुमान छ । त्यस्तै आन्तरिक तर्फ अक्टोवर २०१९ सम्म कुल २७ लाख ३७ हजार १ सय ७२ जना यात्रु आवागमन भएकाले बर्षको अन्त्यमा ३३ लाख हवाई यात्रु आवागमन हुने अनुमान रहेको छ ।

पछिल्लो समयमा अन्तरराष्ट्रिय उडानमा हवाई यात्रु घट्नुको कारण भने नेपालमा उडान गरिरहेका ठूला वायुसेवा कम्पनीको उडान बन्द हुनु, मलेशियामा श्रम रोजगारमा समस्या देखिनु र त्रिभुवन विमानस्थलको धावनमार्ग तथा ट्याक्सीमार्ग मर्मत सम्भार रहेको प्राधिकरणको भनाई रहेको छ । सन् २०१९ भित्रै नेपाल वायुसेवा निगमले जापानको ओसाकामा नियमित उडान गरेको छ भने हिमालय एयरलाइन्सले बंगलादेशको ढाका र चीनको बेजिंगमा नियमित उडान गरेको छ ।

त्यस्तै कुवेतको जजिरा एयरले कुवेत काठमाडौं हवाई सेवा संचालन गरेको छ, भारतको भिस्ताराले काठमाडौं र नयाँ दिल्लीबीच यही जनवरी १५ देखि उडान भर्नेछ, भने भारतको इण्डिगो एयरले नयाँ दिल्ली र काठमाडौंबीच दैनिक १ उडान गर्दै आएकोमा अहिले ३ उडान थप गरी दैनिक ४ उडान गरेकाले २०२० मा करिब थप २ हवाई यात्रु बढ्ने अनुमान गरिरहेको छ ।

विमानस्थल पूर्वाधार विकास

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल अहिले निर्माणको अन्तिम चरणमा रहेको छ । हाल उक्त विमानस्थलको निर्माणकार्य ८५ प्रतिशत सम्पन्न भएको छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई व्यावासायिक तथा दक्षता पूर्वक संचालन गर्न विश्वमा ठूला विमानस्थल संचालनको लागि अपनाइएको अवधारणा अनुरुप सरकार–सरकारबीचको सम्झौताबाट विदेशी विमानस्थल संचालक संस्था म्युनिख अन्तरराष्ट्रिय विमानस्थल कम्पनीसँग संचालन र व्यवस्थापनको लागि प्रकृया अघि बढाइएको छ । त्यस्तै पोखरा अन्तरराष्ट्रिय विमानस्थलको भौतिक प्रगति करिब ५४ प्रतिशत रहेको छ ।

सरकारले सार्वजनिक निजी सहभागिताको मोडेलमा निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माण गर्ने निर्णय गरे अनुरुप नेपाल लगानी बोर्डमार्फत स्वीट्जरल्याण्डको ज्युरिच एयरपोर्ट इन्टरनेशनल छनौट भई विस्तृत प्रस्ताव माग्ने तयारीको चरणमा रहेकोे छ । विमानस्थलको वातावरणीय प्रभाव मूल्यांकन बन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भई अहिले विमानस्थल क्षेत्रको दक्षिण तर्फबाट १९ सय हेक्टरमा पहिलो चरणको विमानस्थल निर्माण कार्यका लागि आवश्यक पर्ने रुख विरुवा कटान गर्न बन तथा बातावरण मंत्रालयमा अनुरोध गरिएको छ ।

विमानस्थल क्षेत्रमा पर्ने कुल ११० विगाहा निजी जग्गा मध्ये ६६ विगाहा जग्गा अधिग्रहण भइसकेको छ भने विमानस्थल क्षेत्रमा ५५ किलोमिटर तारवार लगाउने तथा २२ सय ५० मिटर नदी नियन्त्रणका लागि पर्खाल लगाउने कार्य सम्पन्न भएको बताएको छ । त्यस्तै ठूला आन्तरिक विमानस्थल र साना विमानस्थलहरुको स्तारोन्नती निरन्तर भईरहेको समेत पोखरेलले जानकारी दिएका छन ।

उडान सुरक्षा

प्राधिकरणले उडान सुरक्षालाई मध्ये नजर गर्दै केही महिना अघि एभिएशन सेफ्टि रिपोर्ट २०१९ समेत जारी गरेको अवस्था रहेको छ । उक्त रिपोर्टबाट नेपालको उडान सुरक्षा अवस्था निरन्तर सुधारोन्मुख रहेको प्राधिकरणको भनाई रहेको छ । नेपाल यस्तो रिपोर्ट जारी गर्ने विश्वका केही सीमित मुलुकभित्र पर्ने प्राधिकरणको दाबी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL