Logo

भ्रमण बर्ष २०२० : सरकारलाई पहिलो गाँसमै ढुंगा, उद्घाटनमा ४० देशका पर्यटनमन्त्री ल्याउने उद्घोष, आउने भए ४ देशका मात्र

भ्रमण बर्ष २०२० : सरकारलाई पहिलो गाँसमै ढुंगा, उद्घाटनमा ४० देशका पर्यटनमन्त्री ल्याउने उद्घोष, आउने भए ४ देशका मात्र



काठमाडौं । ‘नेपाल भ्रमण बर्ष २०२०’ यही बुधबारदेखि औपचारिक रुपमा सुरु हुँदैछ । भ्रमण वर्षमा एक वर्षभित्रै २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएको छ । तर, भ्रमण वर्षको उद्घाटन समारोह नै सरकारलाई ‘पहिलो गाँसमा ढुंगा’ बन्ने देखिएको छ ।

laxmi

दशरथ रंगशालामा बुधबार हुने भ्रमण बर्षको उद्घाटन समारोहमा ४० देशका पर्यटन मन्त्री ल्याउने उद्घोष गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईको लागि उद्घाटन समारोह अन्तराष्ट्रिय सहभागिता र उपस्थितिका हिसाबले निराश हुने भएको छ ।

४० देशका पर्यटनमन्त्रीको उपस्थितिमा भव्य उदघाट्न समारोह गर्ने भनिएपनि बुधबार हुने उद्घाटन समारोहमा बिदेशबाट पर्यटन मन्त्री, राज्यमन्त्री तथा सहायक मन्त्री गरेर जम्मा २२ जनाको टोली आउने भएको छ । जसमध्ये ४ ओटा मुलुक भारत, चीन, म्यानमार र जमैकाका पर्यटन मन्त्री आउने कार्यक्रम तय भएको नेपाल पर्यटन बोर्ड स्रोतले जानकारी दिएको छ । ४ देशका पर्यटन मन्त्री र अन्य ३ देशका पर्यटन परिषदका निर्देशकहरु आजै काठमाडौं आईपुग्ने बोर्डले जानकारी दिएको छ ।

स्रोतका अनुसार उदघाटन समारोहमा सहभागी हुन भुटान पर्यटन परिषदका निर्देशक काठमाडौं आईसकेका छन् भने कम्बोडियाबाट मन्त्रीका सल्लाहकार आउनेछन् । त्यस्तै कतारको पर्यटन परिषदका निर्देशक आउन बताइएको । भ्रमण बर्षको उद्घाटनमा ४० देशका पर्यटन मन्त्री ल्याउने उद्घोष गरिए पनि पछिल्लो समयमा भने सरकार आफैं पछि हटेको छ ।

पर्यटन मन्त्री भट्टराईले सार्वजनिक कार्यक्रममा नै ४० देशबाट घटाएर हाल १० ओटा देशको मात्रै पर्यटन मन्त्री ल्याउने बताउँदै आए पनि अन्त्यमा ४ देशका मात्रै पर्यटनमन्त्री आउने भएसँगै मन्त्रालयको तयारीप्रति नै प्रश्न उठेको छ । ‘४० देशका पर्यटनमन्त्री आउने भन्ने कुरा सहज विषय होइन, यसमा हाम्रो कुटनितीक क्षमता र तयारी सो अनुरुप हुनु पर्थ्यो । देशभित्र हुने कार्यक्रममा घोषणा मात्रै गर्दै हिडेर हुँदैन,’ बोर्डका एक अधिकारीले भने ।

सरकारले तय गरेको भ्रमण बर्ष २०२० लाई सफल बनाउन पछिल्लो समयमा भ्रमण बर्ष अवधिभर बिभिन्न संघसंस्थाहरु ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ (एनएमए) लगायतले भ्रमण बर्ष अवधिभर आउने पर्यटकलाई बिशेष छुटको समेत घोषणा गरिसकेका छन् ।

त्यस्तै सरकारले भ्रमण बर्ष सफल बनाउन पूर्वधारमा केन्द्रित हुनुपर्ने भए पनि त्यस्तो नदेखिएको पर्यटन ब्यवसायीहरुको गुनासो रहँदै आएको छ । ‘सरकार आन्तरिक छलफलमा मात्रै ब्यस्त देखियो । अहिलेसम्म सरकारले पहिचान गरेका गन्तब्यमा समेत के–कस्तो भईरहेको छ भनेर अनुगमनसमेत भएको देखिँदैन,’ एक व्यवसायीले भने ।

पर्यटन मन्त्री भट्टराईले भने भ्रमण बर्षमा राम्रो काम गर्ने व्यवसायीलाई सम्मान गर्ने बताउँदै सहयोग गर्न आग्रह गरिरहेका छन् । तर, व्यवसायीहरुले भने सरकार विमानस्थलसँगसँगै अन्य पूर्वधारमा समेत लाग्नुपर्नेमा अहिलेसम्म प्रचारमा मात्र व्यस्त रहँदा २० लाख पर्यटक नेपाल भित्रिने अवस्था तयार नभएको बताउँछन् । इमेज ट्राभल एण्ड टुरका प्रमुख विजय दाहालले भने, ‘विमानस्थल एउटा पाटो हो, तर त्यो भन्दा पहिले बाटोघाटो राम्रो हुनु पर्यो ।’

अझै काठमाडौं वरिपरिका पर्यटकीय क्षेत्रमा पुग्ने बाटो समेत राम्रो छैन कसरी पर्यटकलाई लोभ्याउनु ?’ उनले भने, ‘सधै एउटैमात्र गन्तव्यमा मात्र पर्यटक लगेर हुँदैन, पर्यटकको चाहाना अनुसार नयाँ–नयाँ गन्तब्यमा लैजानुपर्छ, तर नेपालमा भने कतिपय पर्यटकहरु बाटो हेरेरै आधाबाटोबाट फर्कने गरेको तीतो यर्थाथ छ ।’ सरकारले विमानस्थलसँगसँगै अन्य पूर्वधारमा पनि ध्यान दिन सके मात्रै २० लाख पर्यटक आउने उनको भनाई रहेको छ ।

त्यस्तै व्यवसायीहरु भने भ्रमण वर्ष भनेर यति लाख पर्यटक भित्र्याउने भन्दै सरकारले घोषणा गरेको कार्यक्रम नै गलत भएको बताउँछन् । पर्यटन क्षेत्रका जानकारहरुका अनुसार विश्वभर नेपालको एयर कनेक्टिभिटी बिस्तार, नेपालमा पर्यटकका लागि उपयुक्त पूर्वाधार, अन्तराष्ट्रिय फोरममा नेपाली पर्यटनको प्रवर्द्धन र नेपाल भित्रिने पर्यटकलाई उपयुक्त सुविधा दिन सके नेपालमा सहजै ५० लाख पर्यटक भित्रिन सक्ने बताउँछन् ।

जानकारहरु पर्यटन वर्ष जस्ता अभियानले संख्यामा मात्र जोड दिंदा नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउनुपर्छ भन्ने विषय छायाँमा परेको बताउँछन् । ‘संख्याले मात्र नेपाली पर्यटन उँभो लाग्दैन, अहिलेको मुख्य प्रश्न नेपाल भित्रिने पर्यटकले नेपालमा कति खर्च गरे र त्यसले देशको अर्थतन्त्रमा कति योगदान दियो भन्ने हो’, एक व्यवसायीले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL