काठमाडौं । जनावरीमा ९२ हजार जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन । अध्यागमन विभागका अनुसार सन् २०१९ को जनावरीमा मात्रै विभिन्न देशबाट ९१ हजार ७ सय ९३ जना विदेशी पर्यटक नेपाल आएका हुन ।
अध्यागमन विभागको पछिल्लो तथ्यांक अनुसार १ महिनामा हवाई मार्गमार्फत ७७ हजार ३ सय जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी स्थलमार्गबाट १४ हजार ९ सय ९३ जना पर्यटक नेपाल भ्रमणमा आएका छन । यो संख्या सन २०१८ को सोही अवधिको तुलनामा २५ दशमलव ४ प्रतिशतले बढी हो ।
जनावरी महिनामा भारतबाट मात्रै १४ हजार ६ सय जना पर्यटक नेपाल भित्रिएका छन । यो संख्या अघिल्लो बर्षको जनावरीको तुलनामा २० दशमलव ६ प्रतिशतले बढी हो ।
सो अबधिमा सार्क राष्ट्रबाट आउने पर्यटकको संख्यामा अघिल्लो बर्षको सोही अवधिको तुलनामा ११ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । यो बर्षको जनवरीमा सार्क राष्ट्रहरुबाट १७ हजार ४ सय ३२ जना पर्यटक नेपाल भित्रिएका छन ।
यसैगरी चिनियाँ पर्यटक आगमनमा पनि १४ प्रतिशतले वृद्धि भएको छ भने थाइल्याण्डबाट नेपाल आउने पर्यटक भने उल्लेख्य मात्रामा वृद्धि भएका छन । अघिल्लो बर्षको जनावरीको तुलनामा थाईल्याण्डबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा ६९ दशमलव ८ प्रतिशतले वृद्धि भएको छ ।
यही संख्यामा नेपालमा विदेशी पर्यटक भित्रिदा भ्रमण बर्ष २०२० मनाउन कुनै किसिमको वाधा नहुने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले जानकारी दिए । उनले विभिन्न प्रकारका पर्यटनसम्बन्धी सरोकारवालाहरुले सोही अनुसारको पर्यटक आगमन वृद्धिमा सकारात्मक भुमिका खेलेको जानकारी दिएका छन ।