Logo

नेपालमा जनसंख्याभन्दा बढीमा टेलिफोन सेवाको पहुँच, ७४ प्रतिशत नेपालीमा पुग्यो ब्रोडब्याण्ड ईन्टरनेट

नेपालमा जनसंख्याभन्दा बढीमा टेलिफोन सेवाको पहुँच, ७४ प्रतिशत नेपालीमा पुग्यो ब्रोडब्याण्ड ईन्टरनेट



काठमाडौं । नेपालमा जनसंख्याभन्दा बढीमा टेलिफोन सेवाको पहुँच पुगेको छ । नेपालमा दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणका अनुसार हाल नेपालभर १ सय २६ दशमलव ७२ प्रतिशत नेपालीले टेलिफोन सेवा लिईरहेका छन् । प्राधिकरणले सार्वजनिक गर्ने एमआईएस रिपोर्टमा गत असारसम्म नेपालमा जनसंख्याभन्दा बढी व्यक्तिले टेलिफोन सेवा लिईरहेको उल्लेख छ ।

प्राधिकरणका अनुसार विसं २०६८ सालको जनगणनाको आधारमा गरिएको जनसंख्याका तुलनामा झण्डै २७ प्रतिशत बढी जनसंख्यामा टेलिफोन सेवा पुगिसकेको छ । जसमध्ये सरकारी स्वामित्वको दूरसंचार सेवाप्रदायक नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का मात्रै १ करोड ९९ लाख ४८ हजार १ सय ८ टेलिफोन प्रयोगकर्ता रहेका छन् ।

जसमा सबैभन्दा बढी ग्राहकले नेपाल टेलिकमको जीएसएम सेवा प्रयोग गरिरहेका छन् । प्राधिकरणका अनुसार गत असारसम्म १ करोड ७४ लाख ८० हजार जनाले टेलिकमको जीएसएम सेवा प्रयोग गर्ने गरेका छन् ।

साथै नेपालमा निजी क्षेत्रबाट दूरसंचार सेवा उपलब्ध गराइरहेको एनसेलका भने टेलिफोन प्रयोगकर्ताको संख्या १ करोड ५७ लाख ६१ हजार ९ सय ३ रहेको छ । यसरी नेपालभर कुल टेलिफोन प्रयोगकर्ताको संख्या हाल ३ करोड ७८ लाख ५९ हजार ९ सय ९६ रहेको छ जुन नेपालको कुल जनसंख्याको तुलनामा झण्डै २७ प्रतिशतले बढी हो । विसं २०६८ सालको जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९८ लाख ७६ हजार ५ सय ३१ रहेको छ ।

ब्रोडब्याण्ड पहुँच प्रभावित

सरकारले २ बर्षपहिले सरकारले डिजिटल नेपाल फ्रेमवर्कअन्तरगत सन २०२० सम्ममा सबै स्थानीय तहमा ब्रोडब्याण्ड ईन्ष्टरनेट पुर्याउने घोषणा गरेको थियो । तर हालसम्म पनि उक्त घोषणा घोषणामै सिमित भएको छ ।

नेपाल दूरसंचार प्राधिकरणका अनुसार हालसम्म ७४ प्रतिशत नेपालीसम्म मात्रै ब्रोडब्याण्ड ईन्टरनेटको पहँुच पुगेको छ । जसमध्ये ५५ दशमलव ३० प्रतिशतसम्म मोबाईल ब्रोडब्याण्ड पुगेको छ भने १८ प्रतिशतसम्म फिक्स्ड ब्रोडब्णण्ड सेवा पुगेको छ ।

प्राधिकरणका अनुसार नेपाल टेलिकमले उपलब्ध गराउने ईन्टरनेट सेवा चलाउने सेवाग्राहीको संख्या मात्रै हाल १ करोड ८ लाख २५ हजार ८ सय ५४ रहेको छ । जसमध्ये ८६ लाख २६ हजार जनाले थ्रीजी सेवा चलाउँछन् भने ८ लाख ४३ हजार ९ सय ६९ जनाले टेलिकमको फोरजी सेवा चलाउँछन् ।

यस्तै निजी सेवाप्रदायक एनसेलको ईन्टरनेट सेवा चलाउनेको संख्या पनि ६७ लाख १० हजार ४ सय ८८ रहेको छ । जसमध्ये २९ लाख ६३ हजारले एनसेलको थ्रीजी सेवा चलाउँछन भने ३७ लाख ४६ हजारले फोरजी सेवा चलाईरहेका छन् । नेपाल टेलिकमको फोरजी प्रयोगकर्ताको संख्या एमआईएस रिपोर्टमा फरक भएपनि खास प्रयोगकर्ताको संख्या हालसम्म ५७ लाख बढी पुगिसकेको टेलिकमले जानकारी दिएको छ ।

यसरी अन्य ईन्टरनेट सेवाप्रदायकहरुले उपलब्ध गराएको ईन्टरनेट सेवाको प्रयोग गर्नेहरुको संख्यासमेत हाल ४४ लाख ९८ हजार ७७ पुगेको छ । यसरी नेपालभर ईन्टरनेट ब्रोडब्याण्डको पहुँच २ करोड २२ लाख ३७ हजार ५ सय ६७ जना नेपालीसम्म पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL