Logo

इन्टरनेट कम्पनीका ग्राहक साढे १३ लाखको हाराहारीमा, प्रतिस्पर्धामा कुन कम्पनी अगाडि ?

इन्टरनेट कम्पनीका ग्राहक साढे १३ लाखको हाराहारीमा, प्रतिस्पर्धामा कुन कम्पनी अगाडि ?



काठमाडौं । पछिल्लो समय नेपालमा इन्टरनेट सेवालाई अत्यावश्यक सेवाको रुपमा घोषणा गरिसकिएको छ । सोहीअनुसार नेपालमा इन्टरनेट सेवाग्राहीको संख्या पनि बढिरहेको छ ।

laxmi

नेपाल दूरसंचार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार गत मंसीरसम्म नेपालमा इन्टरनेटको पहुँचमा रहेको जनसंख्या २ करोड ४३ लाख ४७ हजार बढी छ । नेपालको कूल जनसंख्याको ८१ प्रतिशत जनसंख्या ब्रोडब्याण्ड इन्टरनेटको पहुँचमा पुगिसकेको प्राधिकरणको तथ्यांक छ ।

जसमा सबैभन्दा बढी सेवाग्राही नेपाल टेलिकमका रहेको पाईएको छ । नेपाल टेलिकमले फिक्स्ड, वायर्ड र मोबाइल ब्रोडब्याण्डमा आधारित इन्टरनेट सुविधा प्रदान गर्दै आएको छ । जसमा सबैभन्दा बढी सेवाग्राहीले मोबाइल ब्रोडब्याण्ड अन्तर्गत रहेको थ्रीजी सेवा उपयोग गरिरहेका छन् । प्राधिकरणका अनुसार नेपाल टेलिकमको थ्रीजी सेवाका सेवाग्राहीहरु ८४ लाख ७० हजार बढी पुगेका छन् । यस्तै टेलिकमका फोरजी सेवा उपभोग गर्ने सेवाग्राहीको संख्या २२ लाख ५५ हजार बढी रहेको छ ।

यस्तै अर्को दूरसंचार सेवाप्रदायक एनसेलले भने आफुले प्रदान गर्ने इन्टरनेट प्रयोगकर्ताको संख्या ६७ लाख ५२ हजार २ सय ३३ पुर्याएको छ । एनसेलले मोबाइल ब्रोडव्याण्डमा आधारित थ्रीजी र फोरजी सेवा मात्रै दिँदै आएको छ ।

नेपालमा इन्टरनेट सेवाप्रदायक (आइएसपी) ले प्रदान गर्ने इन्टरनेट प्रयोगकर्ताको संख्या भने १३ लाख ३५ हजार ६ सय १ जना पुगेको छ । जसमा सबैभन्दा बढी ग्राहक भने वर्ल्डलिंक कम्युनिकेशनका रहेका छन् । प्राधिकरणका अनुसार गत मंसीरसम्ममा वल्र्डलिंकले आफ्ना ग्राहकको संख्या ४ लाख २८ हजार ४ सय ८८ जना पुर्याएको छ । यस्तै धेरै ग्राहकहरु इन्टरनेट सेवाप्रदायकको दोस्रो स्थानमा भने नेपाल टेलिकम नै परेको छ । टेलिकमका फाईबर, वायर र वायरलेस सेवाका सेवाग्राहीहरु २ लाख ६८ हजार जना रहेका छन् ।

त्यसपछि धेरै ग्राहक हुने इन्टनरेट सेवाप्रदायकमा सुविसु केवलनेट, भायानेट कम्युनीकेसन र क्लासिक टेक रहेका छन् । उक्त कम्पनीहरुका हाल सेवाग्राहीको संख्या क्रमशः १ लाख ७४ हजार, १ लाख २६ हजार र १ लाख २३ हजार रहेका छन् ।

नेपालमा १ सय २७ ओटा कम्पनीले नेपाल दूरसंचार प्राधिकरणबाट इन्टरनेट सेवा सूचारु गर्नका लाग लाईसेन्स लिएका भएपनि हाल सक्रिय रुपमा सेवा दिने कम्पनीको संख्या भने ४० मात्रै छ ।

गुनासो सुनुवाइ कमजोर

दिनप्रतिदिन इन्टरनेट सेवाग्राहीहरु बढिरहे पनि प्रायजसो सेवाग्राहीहरु भने इन्टरनेट सेवाको गुणस्तर शूल्क सम्बन्धमा गुनासो बढिरहेको छ । यो क्षेत्रको नियामक निकायका रुपमा रहेको नेपाल दूरसंचार प्राधिकरण भएपनि गुनासो सुनुवाई भने नभएको सेवा्रही बताउँछन् ।

जसका कारण सेवाप्रदायक र नियममक निकायबाटै सेवाग्राहीहरु ठगिने गरेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष माधव तिमिल्सिना बताउँछन् । उनका अनुसार सेवाग्राहीहरुले सेवाप्रदायकविरुद्ध प्राधिकरणका उजुरी दिईरहेका भएपनि मिलेमतो गरेजस्तो सुनुवाई नै नगर्ने प्रचलन पछिल्लो समय बढ्दै गएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL