Logo

इन्टरनेटको शुल्क बढाउन आन्तरिक छलफलमा आइस्पान, स्पिड भन्दा शुल्क बढाउने प्रवृत्तिले उपभोक्ता सधै मारमा

इन्टरनेटको शुल्क बढाउन आन्तरिक छलफलमा आइस्पान, स्पिड भन्दा शुल्क बढाउने प्रवृत्तिले उपभोक्ता सधै मारमा



काठमाडौं । नेपाल इन्टरनेट सेवाप्रदायक संघ (आइस्पान)ले इन्टरनेटको मूल्य बढाउनेसम्बन्धी आन्तरिक बहस सुरु गरेको छ । विश्वभर फैलिएको कोरोना भाईरसको महामारी र यसले निम्त्याएको लकडाउनका कारण व्याण्डविथको खपत बढेको भन्दै इन्टरनेटको मूल्य बढाउन संघले छलफल थालेको बताएको छ ।

नेपालमा ३ महिनाभन्दा बढी भएको लकडाउनका कारण मानिसहरु घरमै बस्दा ब्याण्डविथ खपत बढेको आइस्पानका अध्यक्ष भोजराज भट्ट बताउँछन् । उनका अनुसार लकडाउनमा मानिसहरु घरमै बस्दा भिडियो कन्टेन्ट, वेबिनार, गेमिङलगायतका कन्टेन्टका कारण ब्याण्डविथको खपत बढेको हो ।

यस्तै पछिल्लो समय भारतमा टिकटक प्रतिबन्धि हुँदा नेपालमा इन्टरनेटको खपत बढेको उनको भनाई छ । भारतमा प्रतिबन्ध हुँदा नेपालमा टिकटक अन्तरराष्ट्रिय सर्भरमार्फत चलाउनुपर्दा टिकटकका भिडियोहरुले बढी ब्याण्डविथ खपत गरेको र टिकटकले मात्रै नेपालमा ब्याण्डविथको खपत २५ प्रतिशतले बढाएको उनको भनाई छ । यसरी टिकटक र लकडाउनसँगै लागु भएको निषेधाज्ञाका कारण ब्याण्डविथको खपत २५÷२५ प्रतिशत गरी ५० प्रतिशतले बढेको छ ।

ब्याण्डविथको खपत बढ्दा आईएसपीहरुको लागत बढेको भन्दै मूल्य बढाउनेसम्बन्धी ध्यानाकर्षण नेपाल दूरसंचार प्राधिकरणमा पठाएको अध्यक्ष भट्ट बताउँछन । हाल नेपालको ईन्टरनेट मूल्य विश्वकै ८६ औं स्थानमा पर्छ । जसमा सबैभन्दा महंगो इन्टरनेट दुबईको छ भने सबैभन्दा सस्तो युक्रेनको छ ।

तर, नेपालमा टिकटकका कारण ब्याण्डविथको खपतमा फरक नपर्ने विज्ञहरु बताउँछन् । भारतमा टिकटक प्रतिबन्धित हुनु र नेपालमा ब्याण्डविथको खपत बढ्नुमा कुनै सम्बन्ध नरहेको विज्ञहरुको भनाई छ ।

इन्टरनेटको मूल्यमा चर्को सेवाशुल्क र करका कारण यसै पनि नेपाली इन्टरनेट सेवाग्राहीहरु ठुलो मारमा छन् । त्यसमाथि थप शुल्क बढाउँदा सेवाग्राहीहरु झन मर्कामा पर्ने विज्ञहरुको भनाई छ । उपभोक्ताहरु भने इन्टरनेट सेवा प्रदायकले गुणस्तर वृद्धिमा कहिल्यै ध्यान नदिएको तर, शुल्क भने समय–समयामा बढाउने गरेको भन्दै असन्तुष्ट देखिन्छन् ।

अहिले पनि प्रायः सबै सेवाप्रदायककहाँ इन्टरनेट राम्रो नचलेको, अवरुद्ध भइरहने तथा स्पिड नपुगेको भन्दै दैनिक हजारौं गुनासा उपभोक्ताले टिपाउने गरेका छन् । सेवाप्रदायकहरुले सधैं व्याण्डविथ तथा अन्य विभिन्न बहाना देखाएर उपभोक्ताको समस्या समाधान नगर्ने गरिरहेका छन् ।

पछिल्लो समय नियामक निकायका रुपमा रहेको नेपाल दूरसंचार प्राधिकरणमा पनि दिनहुँजसो इन्टरनेटको गुणस्तर तथा सेवासम्बन्धमा उपभोक्ताबाट उजुरी पर्ने गरेको छ । तर, प्राधिकरणले उचित कारवाही गर्न नसक्दा नेपालमा इन्टरनेट सेवा प्रदायकहरुको मनोमानी निकै बढेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL