Logo

टिकटकको पाँच बुँदे प्रतिबद्धतापत्र पछि सरकारले टिकटक खुलाउला ? के छ सरकारको धारणा ?

टिकटकको पाँच बुँदे प्रतिबद्धतापत्र पछि सरकारले टिकटक खुलाउला ? के छ सरकारको धारणा ?



काठमाडौं । चिनियाँ डिजिटल भिडिओ क्रिएटिङ कम्पनी टिकटकले नेपाल सरकारलाई पाँच बुदे प्रतिवद्धता व्यक्त गर्दै टिकटक खुलाउन आग्रह गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई एक पत्र पठाउँदै टिकटकका प्रतिनिधिले ५ क्षेत्रमा प्रतिबद्धता व्यक्त गरेका हुन्।

laxmi

जसमा पाँच प्रतिबद्धतामा नेपालको कानुनी प्रक्रियाप्रति प्रतिबद्ध भएको, यसका विषयवस्तुसँगको ध्यानाकर्षणलाई सम्बोधन गर्न प्रत्यक्ष रिपोर्टिङको पहुँच प्रदान गर्छौँ र एक समर्पित फोकल प्वाइन्ट उपलब्ध गराउने, टिकटकमा राखिने विषयवस्तुको जाँच र नियमन बढाउन अझै धेरै नेपाली बोल्ने स्रोतहरु राख्ने, रष्ट्रव्यापी रुपमा इन्टरनेट सुरक्षा र डिजिटल शिक्षा अभियान कार्यक्रम गर्ने, र हाई स्कुल र कलेज विद्यार्थीका लागि शैक्षिक नतिजामा सुधार ल्याउन शैक्षिक विषयवस्तुलाई डिजिटलीकरण गर्ने रहेका छन् ।

सामाजिक सद्‌भाव र सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै २७ कात्तिकमा नेपाल सरकारको मन्त्रीपरिषद्‌ बैठकले टिकटकमाथि रोक लगाउने निर्णय गरेको थियो । कम्पनीले पत्रमा नेपालका सम्पूर्ण कानूनी प्रक्रिया मान्न प्रतिबद्ध रहेको कुरा उल्लेख छ ।

कम्पनीले नेपालको कानूनी प्रक्रियामा आवद्ध रहने, कन्टेन्टलगायत विषयमा कम्पनीसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने, नेपालीहरुको कन्टेन्ट फिल्टरिङ गर्ने, देशव्यापी इन्टरनेट सुरक्षा र डिजिटल साक्षरता अभियान चलाउने तथा विद्यालय र कलेजका विद्यार्थीहरुलाई उपयोगी हुने शैक्षिक सामग्रीहरुका कन्टेन्ट उत्पादनलाई जोड दिने प्रतिवद्धता जनाएको छ ।

कम्पनीले कम्युनिटी गाइडलाइन पूर्ण रूपमा पालना गरेको सुनिश्चित गर्न विश्वभर ४० हजार कर्मचारी कार्यरत रहेको उल्लेख गरेको छ । यसका लागि अत्याधुनिक प्रविधि प्रयोग गरिएको बताइएको छ ।

त्यस्तै ती कर्मचारीहरूले टिकटक प्रयोग हुने सम्बन्धित ठाउँका विभिन्न चाल चलन, संस्कृति र कानून पनि ध्यानमा राख्ने गरेको कम्पनीको भनाइ छ । विगत दुई वर्षदेखि नेपालमा आफ्नो प्लेटफर्ममा सुरक्षा सुनिश्चित गर्न कम्पनीले के गरिरहेको थियो भन्ने कुराको जानकारी यस अघिका पत्रहरूमा उल्लेख गरेको थियो ।

यससँगै अब नेपाल सरकारले टिकटक खुला गर्ला भन्ने धेरै टिकटकप्रेमीहरुको अपेक्षा देखिन्छ । यससम्बन्धमा सरकारले भने टिकटकबाट प्राप्त प्रतिवद्धतालाई अध्ययन गरेर मात्रै निर्णय लिने बताएको छ । मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रालयमा टिकटकको प्रतिवद्धता आएपनि त्यसको अध्ययन र निर्णय अझै भएको छैन । जसका कारण अहिले नै यो नेपालमा संचालन हुने या नहुने भन्न नसकिने उनले बताए ।

सरकारले अब नेपालमा सामाजिक संजाल प्लेटफर्म संचालनका लागि पनि मन्त्रालयमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ । जसअनुसार केहि सामाजिक संजाल प्लेटफर्महरु दर्ताका लागि आएका पनि छन् । यसमा टिकटक पनि पर्छ । यदि नेपालको कानुनअनुसार र सामाजिक सद्भाव नभड्काउने गरी संचालन भएको अवस्थामा यसले संचालनको अनुमति पाउन सक्ने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL