काठमाडौं । नेपालमा मनसुनजन्य बाढीको जोखिम बढिरहेको बेला सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले खोज निर्देशिका (सर्च गाइड) सार्वजनिक गरेको छ, जसले प्रयोगकर्ताहरूलाई सही र प्रमाणित सूचनासम्म सजिलै पुग्न मद्दत गर्नेछ।
प्राकृतिक प्रकोपको समयमा फैलिने भ्रमपूर्ण जानकारी रोक्न र जनतालाई तथ्यपरक सूचना उपलब्ध गराउन यो गाइडले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
अबदेखि टिकटकमा बाढीसँग सम्बन्धित जानकारी खोज्दा प्रयोगकर्ताहरूले विशेष सूचना ब्यानर देख्नेछन्, जसले उनीहरूलाई नेपाल सरकारको राष्ट्रिय विपद् सूचना पोर्टल टिकटकको सेफ्टी सेन्टर स्रोतहरू र विपद् प्रभावित व्यक्तिहरूका लागि तयार पारिएको ‘ट्र्याजिक इभेन्ट सपोर्ट गाइड’ तर्फ मार्गदर्शन गर्नेछ।
टिकटकको यो प्रयासले विपद् व्यवस्थापन, मानसिक स्वास्थ्य सहायता, सुरक्षित जानकारी साझा गर्ने उपाय, र जिम्मेवार डिजिटल व्यवहारलाई पनि समेटेको छ।
टिकटक दक्षिण एशियाका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध विभाग प्रमुख फिरदौस मोत्ताकिनका अनुसार, ‘संकटको बेलामा सत्य, समयमै प्राप्त हुने जानकारी अत्यन्तै मूल्यवान हुन्छ। हामीले सरकारी तथा सम्बद्ध निकायसँग सहकार्य गरी उपयोगी सूचना स्रोतहरू प्रयोगकर्तासम्म पुर्याउने प्रयत्न गरेका छौं।’
टिकटकले आफ्नो विश्वव्यापी नीति अनुरूप सुरक्षित र भरपर्दो डिजिटल वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छ। यही नीति अन्तर्गत कम्पनीले प्रयोगकर्ताहरूलाई सशक्त बनाउने, मानसिक तथा सामाजिक स्वास्थ्यको ख्याल राख्ने, र संवेदनशील अवस्थामा जिम्मेवारीपूर्वक व्यवहार गर्ने संस्कार प्रवर्द्धन गर्दै आएको छ।
सामाजिक सञ्जालमा फैलने गलत सूचना विरुद्ध सचेत रहन र विपद्को घडीमा सही निर्णय लिन, यो खोज निर्देशिका महत्त्वपूर्ण साधन बन्ने अपेक्षा गरिएको छ।