Logo

एनसेलमा वैदेशिक लगानी : ८ करोड ल्याएर ६८ अर्ब फिर्ता, कागजात मगाएर छानविन गर्न अध्ययन समितिको सुझाव

एनसेलमा वैदेशिक लगानी : ८ करोड ल्याएर ६८ अर्ब फिर्ता, कागजात मगाएर छानविन गर्न अध्ययन समितिको सुझाव



काठमाडौं । एनसेल अजियाटा लिमिटेडको हालसम्मको कारोबारको सम्पुर्ण फाईल मगाएर छानविन गर्नुपर्ने देखिएको छ । यसको सेयर खरिदविक्री सम्बन्धी अध्ययन गर्न गठित छानविन समितिले सोमबार प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउँदै यस्तो बताएको हो ।

laxmi

खासगरी नेपालमा दूरसंचार सेवा प्रवाह गर्नका लागि एनसेलमा सुरुमा ८ करोड रुपैयाँ विदेशी र २ करोड रुपैयाँ स्वदेशी लगानी भित्रिएको थियो । तर, न्युन लगानीमा पनि उच्च प्रतिफल कमाउँदै कम्पनीले हालसम्म ६८ अर्ब रुपैयाँ बढी विदेश लिईसकेको छानविन समितिको प्रतिवेदनमा उल्लेख छ ।

गत मंसिरमा एनसेलको सबैभन्दा ठुलो (८० प्रतिशत सेयर) लगानीकर्ता कम्पनी अजियाटाले एनसेलबाट हात झिक्ने घोषणासँगै न्युन मूल्य (६ अर्ब रुपैयाँ)मा त्यसको सेयर स्वामित्व अर्काे कम्पनी (स्पेक्ट्रलाईट युके)लाई दिने सम्झौता गरेको थियो । यसअघि पनि करिव ६१ अर्ब रुपैयाँ बढी करछली प्रकरणमा मुछिसकेको एनसेलमाथि त्यो घटनाले झन शंका थपिदियो र सरकारले यसका बिषयमा छानविन समिति नै गठन गर्नुपर्याे ।

सोही अनुसार मंसिर २१ गते मन्त्रिपरिषदको बैठकले पूर्व महालेखानिरिक्षक टंकमणी शर्माको संयोजकत्वमा ५ सदस्यीय उच्च स्तरिय समिति गठन गरेको थियो । एक महिनाभित्र अध्यन गरी प्रतिवेदन बुझाउने गरी सचिव फणिन्द्र गौतम, अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भट्टराई र आईक्यानका अध्यक्ष सुजन कुमार काफ्ले सम्मिलित समिति गठन गरिएको थियो । उक्त समितिले सोमबार प्रतिवेदन बुझाएको हो ।

जसमा अजियाटाले नेपालमा व्यवसायीक वातावरण नभएको आरोप लगाउँदै एनसेलबाट हात झिक्नुमा कुनै तुक नभएको बताईएको छ । अजियाटाले लगानी गरेका अन्य देशको तुलनामा नेपालमा सबैभन्दा बढी मुनाफा कमाईरहेको भएपनि नेपालमा व्यवसायीक वातावरण नभएको आरोप लगाईएको छ । हालसम्म कम्पनीले १ खर्ब बढी रुपैयाँ आर्जन पनि गरिसकेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार एनसेलले हालसम्म नेपाल सरकारलाई मात्रै ३ खर्ब २ अर्ब रुपैयाँ कर र राजस्व बुझाएको उल्लेख छ । कम्पनीले सरकारलाई बुझाउनुपर्ने थप ८५ अर्ब रुपैयाँ बराबरको मुद्धा विचाराधिन अवस्थामा छन् । यस्तै बिषयमा सबै कारोबारका फाईलहरुलाई कम्पनीबाट मगाई विस्तृत अध्ययन र छानविन गर्नुपर्ने समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL