Logo

सरकारले नै रोक्यो दोस्रो चरणको फाइभजी परीक्षण, टेलिकमले दिनै सकेन पहिलो चरणको नतिजा

सरकारले नै रोक्यो दोस्रो चरणको फाइभजी परीक्षण, टेलिकमले दिनै सकेन पहिलो चरणको नतिजा



काठमाडौं । नेपाल टेलिकमले परिक्षण गर्ने भनिएको फाईभजी परीक्षणको दोस्रो चरणको काम सरकारले नै रोकिदिएको छ । खासगरी टेलिकमले पहिलो चरणको फाइभजी परीक्षणको विस्तृत नतिजा नै नदिएपछि संचार तथा सूचना प्रविधि मन्त्रालयले नै यसको दोस्रो चरणको परिक्षण रोकिदिएको हो ।

laxmi

टेलिकमले नेपाल दूरसंचार प्राधिकरणबाट २ बर्ष अघि नै फाईभजी परिक्षणको अनुमति पाएको थियो । सोही अनुसार यसअघि मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न ४ स्थानमा उपकरण जडान गरी आन्तरिक रुपमा परीक्षणसमेत गरिसकेको छ । अब कोशी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्य एक एक शहरमा फाईभजी परिक्षणका लागि आवश्यक तयारी थालेको टेलिकमलाई मन्त्रालयले पुनः परिक्षणका लागि सहजीकरको काम नै रोकिदिएको हो ।

थप स्थानमा फाईभजी परिक्षण गर्नका लागि टेलिकमले उपकरण आयातको अनुमति नेपाल दूरसंचार प्राधिकरणसँग गत बर्षको कार्तिकमै मागेको थियो । त्यसयता प्राधिकरणले पनि टेलिकमसँग पहिलो चरणमा गरिएको परिक्षणको नतिजा माग गरिरहेको थियो । तर, त्यसको विस्तृत नतिजा हालसम्म पनि टेलिकमले दिन नसकेपछि अन्य स्थानमा परिक्षणका लागि आवश्यक उपलकरण आयात गर्न नदिएको अवस्था छ ।

टेलिकमले २०७८ कात्तिकमा नेपालभरका मुख्य ४ शहरमा फाइभ–जी परिक्षणको लागि अनुमति पाएको थियो । प्राधिकरणले टेलिकमलाई ३ महिनाकै अवधिमा फाइभ–जी परिक्षणका लागि उपकरण भित्र्याएर जडान गरी परिक्षण गर्न निर्देशन दिएको थियो । तर, यसको उपकरण आयातमा ढिलाई भएको र काममा ढिलाई भएको भन्दै अनुमति पाएको १४ महिनापछि अर्थात गत बर्षको पुसमा मात्रै टेलिकमले बागमति प्रदेशको काठमाडौंमा सुन्धारा र बबरमहलबाट फाईभजीको आन्तरिक परिक्षण गरेको घोषणा गरेको थियो ।

त्यसयता हालसम्म टेलिकमले गण्डकी प्रदेशको पोखरामा र मधेश प्रदेशको बिरगंजमा पनि फाईभजीका उपकरण जडान गरी आन्तरिक परिक्षण पुरा गरिसकेको जानकारी दिएको छ ।

तर, यसरी गरिएको परिक्षण भने विना अर्थको भएको बुझिएको छ । जसका कारण हालसम्म पनि थप स्थानमा फाईभजी परिक्षणका लागि आवश्यक उपकरण ल्याउन सिफारिस दिन नसकेको मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी बताउँछन् । ‘टेलिकमले हालसम्म ४ स्थानमा फाईभजीको परिक्षण गरिसकेको बताएको छ,’ उनले भने, ‘तर, यसको खास नतिजा के हो दिन सकेको छैन ।’

यसरी पहिलो चरणको परिक्षणको नतिजा नै दिन नसकेकै कारण दोस्रो चरणको परिक्षणका लागि आवश्यक सहजीकरण गर्न नसकिएको मन्त्रालयको संकेत छ ।

पाँचौ पुस्ताको फाईभजी प्रविधि उद्योगसँग सम्बन्धीत भएकाले यसको प्रयोग र परिक्षणको भेउ सर्वसाधारणले नपाउने टेलिकमले बताउँदै आएको छ ।

तर, हाल विभिन्न ४ स्थानमा गरिएको फाईभजी परिक्षणले आगामी दिनमा व्यवसायीक रुपमै फाईभजी जडान गरी सेवा प्रवाह गर्दा गर्नुपर्ने आर्किटेक्चर र प्रविधि विकासका कुरामा सहजीकरण हुने टेलिकमका प्रवक्ता शोभन अधिकारी बताउँछन् ।
‘हामीले हाल विभिन्न ३ प्रदेशका ४ स्थानमा फाईभजीका उपकरण जडान गरी परिक्षण गरिसकेका छौं,’ उनले भने, ‘यसबाट खासै ठुलो रिजल्ट नआएपनि आगामी दिनमा फाईभजी जडानमा बनाउनुपर्ने योजना र यसका पूर्वाधार कसरी निर्माण गर्न सकिएला भन्ने कुराको बोध भएको छ ।’

यसअघि फोरजी सेवा विस्तार गरिरहेका जेडटीई र हुवावेले नै फाइभ–जी परिक्षणका उपकरण ल्याएर जडान गर्ने सहमति भएको थियो । सोही अनुसार दुई कम्पनीहरुले काठमाडौं पोखरा र विरगंजमा उपकरण जडान गरी परिक्षण गरिसकेको टेलिकमले जानकारी दिएको छ । फोरजीको सम्झौता हुँदा नै फोरजी विस्तार गरिरहेका कम्पनीहरुले निःशुल्क फाइभ–जी परिक्षण गरिदिनुपर्ने उल्लेख छ ।

सोही अनुसार टेलिकमले हाल ४ स्थानमा फाईभजी परिक्षण गरिसकेको बताएको छ । तर, टेलिकमल गत बर्ष मात्रै सातै प्रदेशका मूख्य स्थानमा फाईभजी परिक्षण गर्ने घोषणा गरेर त्यसको उपकरण आयातका लागि सिफारिस माग गरेको थियो । प्राधिकरणसँग मागेको सिफारिस प्राधिकरण हुँदै गत बैशाखमा मन्त्रालयमा पुगेको थियो । मन्त्रालयले उक्त उपकरण आयात गर्न आवश्यक वैदेशिक मुद्रा सटही सुविधा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकलाई सिफारिस पठाउनुपर्ने भएपनि हालसम्म परिक्षण गरिएको फाईभजीको उचित नतिजा नआउँदा रोकिराखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL