Logo

२ बर्षदेखि रुमलियो फाईभजी परिक्षण, टेलिकमले १ बर्षदेखि पाएन उपकरण आयात गर्ने अनुमति

२ बर्षदेखि रुमलियो फाईभजी परिक्षण, टेलिकमले १ बर्षदेखि पाएन उपकरण आयात गर्ने अनुमति



काठमाडौं । नेपाल टेलिकमले परिक्षण गर्ने भनिएको फाईभजी परिक्षण विभिन्न ४ प्रदेशमा रोकिएको छ । सरकारी निकायहरुले कम्पनीलाई उपकरण आयातको अनुमति नदिँदा यसको परिक्षणको काम रोकिएको टेलिकमले जानकारी दिएको छ । खासगरी टेलिकमले नेपाल दूरसंचार प्राधिकरणबाट २ बर्ष अघि नै फाईभजी परिक्षणको अनुमति पाएको थियो । सोही अनुसार यसअघि मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न ४ स्थानमा उपकरण जडान गरी आन्तरिक रुपमा परिक्षण गरिसकेको टेलिकमले अब कोशी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्य एक एक शहरमामा फाईभजी परिक्षणका लागि आवश्यक तयारी थालेको डेढ बर्ष भयो ।

laxmi

यसका लागि टेलिकमले उपकरण आयातको अनुमति नेपाल दूरसंचार प्राधिकरणसँग गत बर्षको कार्तिकमै मागेपनि हालसम्म अनुमति पाईनसकेको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारी बताउँछन् ।

उनका अनुसार सरकारी निकायले फाईभजी परिक्षणका लागि आवश्यक उपकरण नै आयातको अनुमति नदिँदा हाल अन्य ४ प्रदेशका ४ स्थानमा फाईभजी परिक्षणको काम नै अघि बढाउन सकिएको छैन ।

नेपाल टेलिकमले गत बर्षको कार्तिकमै प्राधिकरणसमक्ष उक्त उपकरण आयातको स्वीकृतिका लागि निवेदन दिएको थियो । त्यतिबेलादेखि गएको असारसम्म पनि यस्तो सिफारिस नआएपछि पुनः टेलिकमले प्राधिकरणलाई पत्राचार गर्दै सम्झाएको पनि थियो । तर, पनि हालसम्म अनुमति नआएको टेलिकमको भनाई छ ।

यता प्राधिकरणले भने नेपाल टेलिकमको उपकरण आयात गर्ने स्वीकृति मागको निवेदन संचार तथा सूचना प्रविधि मन्त्रालयमा पठाएको जानकारी दिएको छ ।
प्राधिकरणकै एक अधिकारीका अनुसार गएको बैशाखमा मात्रै प्राधिकरणले उक्त उपकरण आयातको स्वीकृतिका लागि मन्त्रालयमा सिफारिस गरेको थियो ।

कुनै कम्पनीले प्राधिकरणमा उपकरण आयातका लागि मागिएको सिफारिस प्राधिकरणबाट मन्त्रालयमा पुग्छ । मन्त्रालयले उपकरण आयातमा सहजीकरण गर्न भन्सार विभागलगायतका निकायलाई निर्देश गर्छ । अर्थात नेपाल टेलिकमले स्वीकृति मागेपछि करिव ६ महिनापछि मात्रै प्राधिकरणले उक्त सिफारिस मन्त्रालयमा पठाएको थियो ।

यता मन्त्रालयबाट पनि उक्त उपकरण आयातको सिफारिस पास नहुँदा उपकरण आयात हुन सकेको छैन । यसैका कारण नेपाल टेलिकमको अन्य ४ प्रदेशमा फाइभजी परिक्षण गर्ने कार्य रोकिएकोजस्तो भएको छ ।

जडान सम्पन्न गरिएका स्थानमा विना अर्थको परिक्षण

नेपाल दूरसंचार प्राधिकरणले नेपाल टेलिकमलाई २०७८ कात्तिकमा नेपालभरका मुख्य ४ शहरमा फाइभ–जी परिक्षणको लागि अनुमति दिएको थियो ।

प्राधिकरणले टेलिकमलाई ३ महिनाकै अवधिमा फाइभ–जी परिक्षणका लागि उपकरण भित्र्याएर जडान गरी परिक्षण गर्न निर्देशन दिएको थियो । तर, यसको उपकरण आयातमा ढिलाई भएको र काममा ढिलाई भएको भन्दै अनुमति पाएको १४ महिनापछि अर्थात गत बर्षको पुसमा मात्रै टेलिकमले बागमति प्रदेशको काठमाडौंमा सुन्धारा र बबरमहलबाट फाईभजीको आन्तरिक परिक्षण गरेको घोषणा गरेको थियो ।

त्यसयता हालसम्म टेलिकमले गण्डकी प्रदेशको पोखरामा र मधेश प्रदेशको बिरगंजमा पनि फाईभजीका उपकरण जडान गरी आन्तरिक परिक्षण पुरा गरिसकेको जानकारी दिएको छ ।

तर, यसरी गरिएको परिक्षण भने विनाअर्थको भएको बुझिएको छ । पाँचौ पुस्ताको फाईभजी प्रविधि उद्योगसँग सम्बन्धीत भएकाले यसको प्रयोग र परिक्षणको भेउ सर्वसाधारणले नपाउने टेलिकमले बताउँदै आएको छ ।

तर, हाल विभिन्न ४ स्थानमा गरिएको फाईभजी परिक्षणले आगामी दिनमा व्यवसायीक रुपमै फाईभजी जडान गरी सेवा प्रवाह गर्दा गर्नुपर्ने आर्किटेक्चर र प्रविधि विकासका कुरामा सहजीकरण हुने टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए ।
‘हामीले हाल विभिन्न ३ प्रदेशका ४ स्थानमा फाईभजीका उपकरण जडान गरी परिक्षण गरिसकेका छौं,’ उनले भने, ‘यसबाट खासै ठुलो रिजल्ट नआएपनि आगामी दिनमा फाईभजी जडानमा बनाउनुपर्ने योजना र यसका पूर्वाधार कसरी निर्माण गर्न सकिएला भन्ने कुराको बोध भएको छ ।’

यसअघि फोरजी सेवा विस्तार गरिरहेका जेडटीई र हुवावेले नै फाइभ–जी परिक्षणका उपकरण ल्याएर जडान गर्ने सहमति भएको थियो । सोही अनुसार दुई कम्पनीहरुले काठमाडौं पोखरा र विरगंजमा उपकरण जडान गरी परिक्षण गरिसकेको टेलिकमले जानकारी दिएको छ । फोरजीको सम्झौता हुँदा नै फोरजी विस्तार गरिरहेका कम्पनीहरुले निःशुल्क फाइभ–जी परिक्षण गरिदिनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL