Logo

१ बर्षको काम साढे ४ वर्षमा पनि भएन फोरजी विस्तार, टेलिकम व्यवस्थापनको निरिहताले म्याद थपेर बस्दै ठेकेदार

१ बर्षको काम साढे ४ वर्षमा पनि भएन फोरजी विस्तार, टेलिकम व्यवस्थापनको निरिहताले म्याद थपेर बस्दै ठेकेदार



काठमाडौं । फोरजी सेवा संचालनको अनुमति पाएको ७ बर्ष र ठेक्का लगाएको साढे ४ बर्ष वित्दा पनि नेपाल टेलिकमले देशभर फोरजी सेवा विस्तार गर्न सकेको छैन । हालसम्म नेपालभर पुर्याईसक्नुपर्ने फोरजी सेवा अझै केहि स्थानीय तहमा नपुगेको टेलिकमकै स्वीकारोक्ती छ ।

laxmi

टेलिकमले पहिलोपल्ट २०७३ सालको कात्तिकमा नेपाल दूरसंचार प्राधिकरणबाट फोरजी सेवा संचालनको अनुमति पाएको थियो । अनुमति पाएको ३ बर्षपछि २०७६ माघमा दुई चिनियाँ कम्पनीले १ बर्षभित्रै नेपालभर फोरजी सेवा संचालन गर्नेगरी त्यसको जिम्मेवारी पाएका थिए । तर, अनुमति पाएको ७ बर्ष र एक बर्षभित्र फोरजी विस्तार गर्ने घोषणा गरिएको साढे ४ बर्ष वित्दा पनि सबैजसो नेपालीसम्म फोरजी सेवाको पहुँच पुग्न सकेको छैन ।

टेलिकमले भने बेलाबेलामा आईपरेका अप्ठ्याराका कारण यसको विस्तारमा ढिलाई भएको बताउँदै आएको छ । तर, कुनै झमेला वा अप्ठ्यारो नभएका बेलामा पनि फोरजी विस्तारको काम भनेबमोजिम नभएको टेलिकमका उच्च पदस्थ कर्मचारीहरु नै बताउँछन् ।

ठेक्का लाग्नै ३ बर्ष

विश्वका विकसित देशहरुमा चौथो पुस्ताको फोरजी सेवा विस्तार हुँदै गर्दा नेपाल दूरसंचार प्राधिकरणले नेपाल टेलिकमलाई २०७३ कार्तिक ५ गते सेवा संचालनको अनुमति दिएको थियो । प्राधिकरणको बोर्ड बैठकले १८ सय मेगाहर्ज ब्याण्डमा १५ मेगाहर्ज फ्रिक्वेन्सी दिएर फोरजी सेवा संचालनको अनुमति टेलिकमलाई दिएको थियो । टेलिकमले अनुमति पाएको २ महिनापश्चात २०७३ पुष १७ गतेदेखि काठमाडौं र पोखराका केहि बिटिएस टावरमा थ्रिजी स्तरोन्नती गरी फोरजी सेवा संचालनमा ल्याएको थियो ।

तर, टेलिकमले थ्रीजी स्तरोन्नती गरेर फोरजी संचालनमा ल्याउँदा पछि फईभजी संचालनका लागि थप खर्च लाग्ने र झन्झटिलो हुने निष्कर्श निकाल्दै फाईभजीलाई पनि सपोर्ट गर्नेगरी फोरजी विस्तार गर्ने नीति अवलम्बन गर्याे । जसका लागि २०७४ कार्तिकमा टेलिकमले ३ छुट्टाछुट्टै परियोजना बनाएर ठेक्का आह्वान गरेको थियो । सो टेण्डर आह्वान गर्दा टेलिकम नेतृत्व र चिनियाँ कम्पनी हुवावेका प्रतिनिधिले अरुले प्रतिस्पर्धामा भागै लिन नपाउने गरी गरी ‘स्पेसिफिकेसन’ तयार पारेको भन्दै अख्तियारमा उजुरी परेको थियो । जसको फाइलको टुंगो लगाउनै अख्तियारलाई करिव १ बर्षको समय लाग्यो ।

अख्तियारले टेलिकमको उक्त फाइल टुंगो लगाएपछि २०७५ पुष १७ गते बसेको मन्त्रिपरिषदको बैठकले एक बर्षभित्रमा नेपालभर फोरजी विस्तार गर्न भन्दै यसको जिम्मा हुवावेको अर्काे कम्पनी सीसीएसआई र जेडटीईलाई दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषदले निर्णय गरेपश्चात २०७५ माघ २० गते फोरजीको कोर नेटवर्कका लागि जेडटीईले र रेडियो एक्सेस नेटवर्किङ (र्यान)का लागि सिसिएसआईले टेन्डर हात पारे । उक्त टेण्डर सम्झौताकै बेलामा दुबै कम्पनीलाई एक बर्षभित्र नेपालभर फोरजी सेवा विस्तार गर्नुपर्ने सर्त राखिएको थियो ।

१ बर्षको म्याद सकिएकै साढे ४ बर्ष वित्यो

दुई चिनियाँ कम्पनीहरुसँग सम्झौता भएको १ बर्ष वा २०७६ फागुनसम्म देशभर फोरजी विस्तार भईसक्नुपर्ने थियो । तर त्यो म्याद सकिएको नै हाल साढे ४ बर्ष वित्न लादा पनि यी दुई कम्पनीले नेपालभर फोरजी सेवा संचालन गर्न सकेका छैनन् ।
हुन त नेपाल टेलिकम कोरोना महामारी, भौगोलिक विकटतालगायतका कारण देशभर फोरजी विस्तारमा ढिलाई भएको बताउँदै आएको छ । बर्षेनी टेलिकमले विभिन्न बहाना बनाउँदै आएपनि भेण्डरको काम गराईसँग टेलिकम आजित भईसकेको टेलिकमका एक उच्च पदस्थ कर्मचारी बताउँछन् ।

यसअघि नेपाल टेलिकमले २०७६ को असोजमा आफ्नो सेवा सातै प्रदेशमा पुगिसकेको घोषणा गरेको थियो । कम्पनीले एक कार्यक्रम गरेरै सातै प्रदेशका मुख्य सहरहरुमा फोरजी सेवा सुचारु गरेको घोषणा गरेको थियो । पुनः बेलाबेलामा टेलिकमले विभिन्न सहरमा र स्थानीय तहमा फोरजी सेवा पुर्याएको घोषणा गर्दै आएको भएपनि भनेबमोजिम न सेवा विस्तार भएको देखिन्छ न फोरजी सेवा पुगेका स्थानमा यसको गुणस्तर नै राम्रो छ ।

ढिलाईमा टेलिकमको निरिहता कि बाध्यता ?

२०७५ सालमा दुई चिनियाँ कम्पनीसँग फोरजी सेवा विस्तारको सम्झौता गर्ने बेलामै ३६ महिना लाग्ने परियोजनालाई १ बर्षको म्याद राखेर सम्झौता गरिएको थियो ।

यसको मुख्य दोषी तत्कालिन संचार मन्त्री गोकुल प्रसाद बास्कोटा हुने यस क्षेत्रका जानकारही बताउँदै आएका छन् । यसरी ३६ महिना लाग्ने परियोजनालाई कम समय राखेर सम्झौता गर्दा पनि यसको विस्तारमा केहि ढिलाई भएको टेलिकम बताउँदै आएको छ ।

यस्तै बीचमा कोरोना महामारीले निम्त्याएको लकडाउन र कोरोनाकै कारण विश्व बजारमा निम्तिएको कन्टेनर अभावको असर पनि फोरजी परियोजनामा परेको टेलिकमका प्रवक्ता शोभन अधिकारी बताउँछन् । उनका अनुसार कोरोना समयमा राम्रोसँग काम गर्न नपाईनु र कन्टेनर अभावका कारण आवश्यक उपकरण नै समयमा ल्याउन नसक्नुको असर पछिल्लो समय फोरजी विस्तारमा देखिएको हो ।

तर, टेलिकमकै एक उच्च पदस्थ कर्मचारी भने टेलिकमले भेण्डरलाई समयमै ताकेता गर्न नसक्नुले फोरजी विस्तारमा ढिलाई भईरहेको बताउँछन् । ‘समयमै भेण्डरले उपकरण ल्याउँदैन, काम गरिदिँदैन,’ उनले भने, ‘यसको दोष टेलिकमलाई गएपनि सोही अनुसार टेलिकमको व्यवस्थापन पक्ष भने चुपचाप छ ।’

टेलिकमका प्रवक्ता शोभन अधिकारी नै पछिल्लो एक बर्ष भने फोरजी परियोजनामा केहि ढिलाई भएको स्वीकार्छन् । नेपालको दुर्गम वस्ती र हिमाली क्षेत्रमा फोरजी विस्तार हुन अझै नसकेको उनको भनाई छ । यसका लागि कुनै छुट्टै मोडालिटीमार्फत सेवा विस्तार गर्न सकिन्छ की भनेर अध्ययन भईरहेको उनको भनाई छ ।

देशका हरेक स्थानमा फोरजी सेवा संचालन गर्नका लागि ५ हजार ८ सय स्थानमा ६ हजार ८ सय स्मालसेल पनि स्थापना गर्नुपर्नेमा त्यसको काम पनि अझै भईसकेको छैन । कम्पनीको फोरजी सेवा भित्री गल्ली र ठुला भवनहरुमा पनि पुर्याउनका लागि यस्तो स्मालसेल जडान गर्ने सम्झौतामा उल्लेख छ । तर हालसम्म त्यो लगायत अन्य जंगल क्षेत्रमा पनि काम नभईसकेको नेपाल टेलिकम कर्मचारी युनियनका अध्यक्ष मोहन फुयाँल बताउँछन् । यसरी ३ बर्षसम्म म्याद थप्दाथप्दै पनि काम नहुने भएपछि यसको जिम्मा भेण्डरले सप्लायर्स वा व्यवस्थापन पक्षले लिनुपर्ने उनको भनाई छ ।

‘व्यवस्थापन पक्षको निरिहताकै कारणले हालसम्म टेलिकमका सबैजसो सेवाग्राहीले फोरजी सेवा चलाउन पाएका छैनन्,’ उनले भने, ‘यसरी ३ बर्षसम्म टेलिकमलाई झुलाईराख्ने भेण्डरप्रति व्यवस्थापन निरिहजस्तै भएको छ ।’

उनका अनुसार फोरजी सेवाको विस्तारका लागि १० देखि १५ प्रतिशत काम अझै बाँकी छ । कतिपय स्थानका बिटिएस टावरमा उपकरण जडान भईसकेका छैनन् । कतिपय उपकरण नै आउन बाँकी छन् । तर, टेलिकम भने फोरजी ९८ प्रतिशतसम्म विस्तार भईसकेको बताउँदै आएको छ ।

२०७३ सालमै अनुमति पाएर काठमाडौं र पोखरामा फोरजी सेवा संचालन गरेको टेलिकमको फोरजी चलाउने ग्राहकको संख्या हाल १ करोड २५ लाख १८ हजार छ । यस्तै कम्पनीको थ्रिजी चलाउनेको संख्या पनि उत्तिकै रहेको नेपाल दूरसंचार प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

तथ्यांक अनुसार टेलिकमको थ्रिजी सेवा चलाउनेको संख्या अझै करिव ६० लाख छ । कर्णालीका दुर्गम जिल्लाका दुर्गम गाउँहरु, हिमाली क्षेत्रका केहि स्थानहरु र मधेश प्रदेशकै धेरैजसो स्थानमा टेलिकमको फोरजी अझै नपुगेको टेलिकमका एक कर्मचारी बताउँछन् ।

यसरी ठेक्का पाएको कम्पनीले समयमै काम नगरिदिँदा पनि व्यवस्थापन पक्ष निरिह हुनुले फोरजी विस्तार अझै लम्बिने देखिएको छ । पछिल्लो तीन बर्षदेखि समयमै काम नसकिएको भन्दै टेलिकमले फोरजी विस्तारको जिम्मा पाएका चिनियाँ कमपनी सीसीएसआई र जेडटीईको म्याद थप्दै आएको छ । यसपाली गएकाे चैतमा संचालक समितिले असार मसान्तसम्मका लागि म्याद थपिदिएको छ । सोही म्यादमा पनि शतप्रतिशत स्थानमा फोरजी सेवा विस्तार नहुने देखिएपनि अझै म्याद थप्ने कार्य भईरहेको छ । तर, म्याद मात्रै थपिरहने र काम कहिलेसम्म सक्ने भन्ने ग्यारेन्टी नहुँदा पनि भेण्डरले काम लम्ब्याईरहने मौका पाएको कर्मचारीहरु बताउँछन् ।

विकसित देशहरुको कुरा गर्दै गर्दा जापानले आफ्नो देशभर फोरजी सेवा विस्तार गर्न जम्मा तीन बर्षको समय लगाएको थियो । यता चीनले भने औसत २ बर्षमै आफ्नो देशभरी नै फोरजी सेवा विस्तार गर्न भ्याईसकेको थियो । तर, यी देशको भन्दा सानो क्षेत्रफल भएको नेपालले आफ्ना सबै क्षेत्रमा फोरजी सेवा पुर्याउन करिव ८ बर्षको समयमा पनि सकिसकेको छैन । फोरजी सेवा विस्तार गर्ने जिम्मा पाएका दुई चिनियाँ कम्पनीले आधा काम गरेर बाँकी काममा हेलचेत्र्mयाईँ गरिदिँदा टेलिकमलाई उक्त ठेक्का नै निल्नु न ओकल्नु जस्तै भएको छ ।

भेण्डरले भनेबमोजिम समयमै काम नगरिदिँदा टेलिकमले दोष खेप्दै आएको छ भने कम्पनीका सेवाग्राहीहरु फोरजी सेवा संचालनबाट बन्चित हुँदै आएका छन् । यसको फाईदा टेलिकमको प्रतिश्पिर्धि कम्पनीहरुले उठाउन पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL