GBIME

एनसेलले पनि सुरु गर्यो ई–सिम वितरण, यसरी लिन सकिन्छ


बिजखबर संवाददाता
25 November, 2022 5:57 pm

काठमाडौं । एनसेलले शुक्रबारदेखि आफ्ना ग्राहकहरुका लागि ई-सिम वितरण सुरु गरेको छ । कम्पनीले अब ग्राहकहरुका लागि शुक्रबारदेखि नै ई-सिम वितरण थालेको घोषणा गरेको हो ।

NABIL
lAXMI_BANK

ई–सिम अर्थात इम्बेडेड सिम हाल प्रयोग भईरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो । यो सिम ई–सिम सपोर्ट गर्ने मोबाइल वा उपकरण भित्र सानो चिपमा हुन्छ र यसबाटै दूरसञ्चार सेवा लिन सकिन्छ । यो भौतिक रुपमा प्रयोग हुने सिम भन्दा सुरक्षित मानिन्छ र केही गरि आफ्नो मोबाइल हराएमा वा चोरी भएमा पनि ई–सिम सो मोबाइलबाट झिक्न वा हटाउन मिल्दैन ।

एनसेलका ग्राहकहरूले एसएमएसमार्फत अनुरोध पठाई सजिलै आफ्नो हाल प्रयोग भईरहेको सिम ई–सिममा अपग्रेड गर्न सक्छन् । यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनु पर्दछ । ई–सिम सुचारु गर्नु भन्दा पहिला ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्दछन् । यो एसएमएस पठाउन र सिम अपग्रेड गर्नका लागि कुनै शुल्क लाग्ने छैन ।

ग्राहकले आफुलाई पायक पर्ने नजिकैको एनसेल सेन्टरबाट पनि आफ्नो सिम ई–सिममा अपग्रेड गर्न सक्छन् । नयाँ ग्राहकहरुले पनि कुनै पनि एनसेल सेन्टरबाट आफुले चाहेको स्टार्टर प्याकका साथ आवश्यक प्रक्रिया पुरा गरि ई–सिम लिन सक्छन् ।

ई–सिम सुविधा लिनका लागि, ग्राहकहरूका साथमा ई–सिम सपोर्ट गर्ने मोबाइल हुन आवश्यक हुन्छ । ग्राहकहरूले आफ्नो मोबाइल ई–सिम चल्ने/नचल्ने थाहा पाउन एस्ट्रिक्सह्यास०६ह्यास डालय गर्न सक्छन् । यदि इम्बेडेड आईडेन्टिटी डकुमेन्ट (ईआईडी) सहितको विवरण ग्राहकको डिस्प्लेमा आएमा त्यस्तो मोबाइलमा ई–सिम चल्छ ।

ग्राहकलाई सेवा प्रदान गर्न नयाँ प्रविधि र सेवाहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धताअनुरूप चल्ने सुविधा सञ्चालनमा ल्याउन पाउँदा कम्पनी खुसी रहेको एनसेलले बताएको छ । उपभोक्ता र व्यवसाय दुवै माझ कनेक्टेड डिभाइसहरुको प्रयोग बढ्ने क्रममा रहेकाले ई–सिमले सूचना तथा सञ्चार प्रविधिको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।

आइफोनका पछिल्ला मोडलहरु जस्तै आइफोन एक्सएस सिरिज, आइफोन ११ सिरिज, आइफोन १२ सिरिज, आइफोन १३ सिरिज र आइफोन १४ सिरिजमा ई–सिमको सुविधा रहेको छ । त्यसै गरि सामसङको ग्यालेक्सी ए२१ सिरिज, ग्यालेक्सी ए२२ सिरिज, ग्यालेक्सी जेड फ्लिप सिरिज र गुगलको पिक्सल ४ सिरिज, पिक्सल ५ सिरिज र पिक्सल ६ सिरिजमा पनि ई–सिमको चल्ने सुविधा रहेको हुन्छ ।

ब्रान्ड र मोबाइलका मोडलहरुका आधारमा विभिन्न मोबाइलहरुमा एक भन्दा बढि ई–सिम नम्बर दर्ता गर्न सकिने सुविधा पनि रहेको हुन्छ । यद्यपि एक पटकमा एक मात्र नम्बर सक्रिय रहन्छ । ई–सिमले सूचना तथा सञ्चार प्रविधि तथा इन्टरनेट अफ थिङ्गस्मा पनि ठूलो महत्व राख्दछ । विकसित देशहरुमा यो कार, घरायसी सामानहरु र औद्योगिक क्षेत्रका मसिनहरुमा पनि प्रयोग हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

CIVIL
NCHL