Logo

नेपालमा फाइभजी परीक्षणको तयारी अन्तिम चरणमा : उपकरण आइपुग्दै, यी शहरमा हुनेछ परीक्षण

नेपालमा फाइभजी परीक्षणको तयारी अन्तिम चरणमा : उपकरण आइपुग्दै, यी शहरमा हुनेछ परीक्षण



काठमाडौं । नेपालमा पाँचौ पुस्ताको ताररहित प्रविधि (फाइभजी) परीक्षणको अनुमति पाएको नेपाल टेलिकमले आगामी आवको शुरुमै नेपालमा फाइभजी परीक्षण गर्ने तयारी गरेको छ । गत बर्षको कात्तिकमा परीक्षण अनुमति पाएको टेलिकमले अब भने परीक्षणको तयारी थालेको हो ।

laxmi

संचार मन्त्रालयले टेलिकमलाई फाइभजी परीक्षणको अनुमति दिएपछि नेपाल दूरसंचार प्राधिकरणले फाइभजी परीक्षणको कार्यविधिसमेत बनाएको थियो । जसमा कुनै दूरसंचार सेवाप्रदायक कम्पनीले फाइभजी परीक्षणको अनुमति लिएको ३ महिनामा उपकरण आयात गरी परीक्षण नै गरिसक्नुपर्ने उल्लेख भएपनि कोरोना महामारीका कारण उपकरण आयातमा टेलिकमले समस्या झेल्नुपर्दा परीक्षण शुरु गर्न नसकेको बताउँदै आएको छ ।

विदेशबाट ल्याउने उपकरण समयमै आइनपुगेपछि परीक्षणमा ढिलाई भएको टेलिकमका प्रवक्ता शोभन अधिकारी बताउँछन् । उनका अनुसार २ बर्षदेखि विश्वभर फैलिएको कोरोना महामारीका कारण विश्वभर व्यापारचक्र नै विथोलियो र युरोपेली देशमा वस्तुको माग उच्च भयो । धेरैजसो कन्टेनरको माग पनि उतै भएपछि नेपाललगायतका देशमा आउने कन्टेनर न्यून भए । जसका कारण धेरैजसो सामान नेपाल भनेको समयमा आउन सकेनन् । जसमा टेलिकम उपकरणहरु पनि परे ।

संचार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमलाई फाइभजी परीक्षणको अनुमति दिएपछि प्राधिकरणले यसको कार्यविधि बनाएको थियो । उक्त कार्यविधि अनुसार टेलिकमलाई फाइभजी परीक्षणका लागि २६ सय मेगाहर्ज ब्याण्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराइएको छ ।

यसरी अनुमति र फ्रिक्वेन्सीसमेत उपलब्ध गराएको हालसम्म ८ महिना वितिसक्यो । यसबीचमा टेलिकमले फाइभजी परीक्षणका लागि आवश्यक उपकरणहरु आयात गर्ने स्वीकृति टेलिकमको फोरजी विस्तार गरिरहेका कम्पनीलाई दिइसकेको छ । अब चाँडै नेपालमा उपकरण आइपुग्ने र त्यसपश्चात तत्काल परीक्षणको काम अघि बढ्ने बताएको प्रवक्ता अधिकारीले बिजखबरलाई जानकारी दिए । ‘हामीले चालु आर्थिक बर्षभित्रै फाइभजी परीक्षण गरिसक्ने योजना बनाएका थियौं तर, उपकरण समयमै नआएकाले यसमा काम हुन सकेन,’ उनले भने, ‘अब उपकरण आइपुग्ने बेला भयो आउनेवित्तिकै जडान गरेर आगामी आर्थिक बर्षको पहिलो महिनामै परीक्षण गने तयारीमा छौं ?’

यसअघि फोरजी सेवा विस्तार गरिरहेका जेडटीई र हुवावेले नै फाइभजी परीक्षणका उपकरण ल्याउँदैछन् । फोरजीको सम्झौता हुँदा नै फोरजी विस्तार गरिरहेका कम्पनीहरुले निशुल्क फाइभजी परीक्षण गरिदिनुपर्ने उल्लेख भएअनुसार नै परीक्षणको काम अघि बढेको हो । फाइभजी परीक्षणका लागि आवश्यक कार्यविधि जारी भएको करिव ४ महिनापछि नेपाल टेलिकमले २६ सय मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सीमा फाइभजी परीक्षण अनुमति पाएको थियो । टेलिकमले त्यसअघि नै फोरजी विस्तारलगत्तै देशका प्रमुख ४ शहरमा फाइभजी परीक्षणको काम पनि अघि बढाउने घोषणा गरेको थियो ।

नेपाल टेलिकमले हाल देशभर तोकिएकामध्ये ९६ प्रतिशत स्थानसम्म फोरजी सेवा पुर्याईसकेको छ । टेलिकमले फाइभ जी परीक्षणका लागि काठमाडौं, पोखरा, विराटनगर र नेपालगंजलाई तोकेको छ । यस्तै काठमाडौं आसपासका केही गाउँहरुमा पनि यसको परीक्षण गरिने र सोहीअनुसार एप्लिकेसनमा यसको प्रयोग गर्न सकिने–नसकिने, हालको बजारको मागलगायत विश्लेषण गरिने योजना छ । तर, टेलिकमले पहिलो चरणमा काठमाडौं, दोस्रो चरणमा पोखरामा परीक्षण गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL