Logo

के हो मोबाईल रिफर्बिस ? नेपालमा सम्भव छ ?

के हो मोबाईल रिफर्बिस ? नेपालमा सम्भव छ ?



काठमाडौं । मोबाईल सेटको रिफर्बीस विश्व बजारमा धेरै पहिलेदेखि चल्दै आएको बिषय हो । नेपालमा सेकेन्डह्याण्ड फोन भनेजस्तो विश्व बजारमा सेकेण्डह्याण्ड नभई रिफर्बीस फोन भनेर पुनः विक्री गरिने प्रक्रिया मोबाईल रिफर्बीस हो ।

कुनै पनि कम्पनीको मोबाईल ग्राहकले खरिद गर्ने र त्यसको फिर्ता लिने समय अर्थात हप्ता १५ दिनसम्म ग्राहकलाई त्यसका केहि फिचर वा सेवा मन नपरेको खण्डमा फिर्ता गर्ने र कम्पनीले पुनः त्यसलाई नयाँजस्तो बनाएर बेच्ने प्रक्रिया नै मोबाईल रिफर्बीस हो ।

विश्वबजारको कुरा गर्दा सन २०२० मा अघिल्लो आर्थिक बर्षको तुलनामा मोबाईल रिफर्बीसको बजार ४ प्रतिशतले बढेर २२ अर्ब ४० करोड डलरको पुगेको देखिन्छ । सन २०२७ सम्म यसको बजार ३९ अर्ब बढिको पुग्ने अनुमान गरिएको छ । विभिन्न विकशित देशहरुमा यसको राम्रै प्रचलन छ । नयाँ मोबाईलको तुलनामा केहि कम मूल्यमा नयाँजस्तै मोबाईल पाईने भएपछि यसको बजार बढिरहेको सम्बन्धित व्यवसायीहरु बताउँदै आएका छन् । छिमेकी देश चीनमा मात्रै यसको बजार सन २०२७ सम्म ६ अर्ब ७० करोड डलरको पुग्ने बताईएको छ । हाल रिफर्बीस मोबाईलका लागि सबैभन्दा ठुलो बजार अमेरिका हो । यहाँको रिफर्बीस मोबाईलको बजार ६ अर्ब ६० करोड डलरको छ ।

नेपालमा भने हालसम्म यसको सुरुवात भएको देखिँदैन । तर, ग्राहक–ग्राहकहरु आफै–आफै मोबाईलको किनबेच सेकेन्ड ह्याण्डको रुपमा गर्ने गरेको पाईन्छ । नेपाल दूरसंचार प्राधिकरणले भने विश्वमा रहेको यस्तो व्यवस्था नेपालमा पनि गर्न सकिने आधारहरुको बारेमा हालै एक अध्ययन गरेको थियो ।

६ सदस्य रहेको समितिले प्राधिकरणलाई नेपालमै मोबाईल एसम्बलसँगै रिफर्बीसका लागि पनि सम्भव भएको निष्कर्श निकालेको थियो । जसमा नेपालमा बर्षेनी आयात हुने लाखौं मोबाईल सेटको व्यवस्थापन र यसबाट उत्सर्जन हुने ई–वेस्टको न्युनीकरण गर्न सहज हुने बताईएको छ ।

हाल नेपालमा धेरैजसो मानीहरुले मोबाईल फोन खरिद गर्ने र केही समयपछि त्यसलाई फालेर वा कसैलाई दिएर नयाँ सेट किन्ने गरेको देखिन्छ । यसै प्रक्रियालाई व्यवस्थीत गर्न सरकारलाई उक्त अध्ययनले घचघच्याएको हो ।

अध्ययनका अनुसार गत आर्थिक बर्षको बैशाखसम्म मात्रै नेपालमा ६३ लाख ५५ हजार मोबाईल सेट आयात भएको तथ्याँक छ । यस्तै अघिल्लो आर्थिक बर्ष भने नेपालमा ४३ लाख ६५ हजार सेट आयात भएको देखिन्छ । यसरी प्रत्येक बर्ष लाखौं मोबाईल सेटहरु आयात हुनाले नेपालको व्यापारघाटामा पनि उत्तिकै प्रभाव परेपछि यसलाई घटाउन पनि मोबाईलको रिफर्बीस आवश्यक भएको अध्ययनले देखाएको छ ।
नेपालमा मोबाईल रिफर्बीस गर्न सकिए नयाँ मोबाईलको आयातमा संकुचनसँगै विश्वकै टाउको दुखाई रहेको ई–वेस्टको व्यवस्थापन पनि सहिजीकरण हुने अध्ययन समितिका संयोजक तथा प्राधिकरणका निर्देशक मिनप्रसाद अर्याल बताउँछन् ।

के हो मोबाईल रिफर्बीस ?

खास मोबाईल रिफर्बीस भनेको पुराना मोबाईललाई नयाँ जस्तै गरेर मर्मत वा त्यसमा नयाँपन दिएर पुनः विक्री गर्ने प्रक्रिया हो । भारतमा पनि कसैले नयाँ मोबाईल किन्ने र त्यसको केही दिनमा त्यो मोबाईल मन नपरेमा कम्पनीले फिर्ता लिने व्यवस्था छ । त्यही फिर्ता लिएको मोबाईलमा आएका केही समस्यालाई सल्टाएर पुनः नयाँ जस्तै रिप्याकिङ गरी बेच्ने प्रक्रिया भनेर बुझिन्छ ।

यस्तै, नेपालको सन्दर्भमा भने प्राधीकरणको अध्ययन समितिले पुराना सबै मोबाईल सेटहरुलाई रिफर्बीस गरेर पुनः विक्री गर्न सकिने जानकारी दिएको छ । जसमा पुराना मोबाईलमा भएका समस्याहरुको समाधान गरी त्यसलाई पुर्ण रुपमा नयाँजस्तै बनाएर बजारमा पठाउने व्यवस्था गर्न सकिने प्रतिवेदनमा उल्लेख छ । यसका लागि सम्बन्धीत कम्पनीले आफ्ना पुराना मोबाईलहरु संकलन गरेर त्यसलाई मर्मतसम्भार गरी बजारमा रिफर्बीस्ड मोबाईलको रुपमा पठाउन सक्छन् ।

छिमेकी राष्ट्र भारतमा सम्बन्धीत कम्पनीहरुले आफ्ना पुराना मोबाईलहरु ग्राहकहरुबाट संकलन गरेर त्यसलाई पुनः प्रयोग गर्न मिल्नेगरी बजारमा पठाउने गरेका छन् । जसलाई बजारमा रिफर्बीस्ड मोबाईलको रुपमा चिनिन्छ । यस्ता मोबाईलको विशेषता नयाँ मोबाईलको जस्तै हुने भएपनि नयाँ भने हुँदैनन् ।

सोही अनुसार यी मोबाईलको मूल्य पनि नयाँको तुलनामा कमै हुन्छ । तर, यसका लागि सरकारले निजी क्षेत्रलाई सहयोगका निम्ति हाल रहेका विभिन्न नीतिहरुमा परिमार्जन गरी काम अघि बढाउन सकिने अध्ययन समितिको प्रतिवेदनमा उल्लेख छ ।

पुराना मोबाईलको संकलन, त्यसको वर्गिकरण, मर्मतलगायत कार्यका लागि ठुलो जनशक्तीको आवश्यक पर्ने बताईएको छ । यस्तै पुराना मोबाईलहरु संकलनमा लागि राज्यबाटै सहजीकरण गरेर काम अघि बढाउन सकिए नेपालमा रिफर्बीस्ड मोबाईलको बजार विस्तार हुने बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL